लोकनाथ शर्मा, रुपन्देही ।
नकारात्मक दृष्टिले घृणा, असहयोग र तिरस्कारको सृष्टि गर्छ भन्ने कुराको पुष्टि एक नगरपालिकाकी उपप्रमुखद्वारा आफूमाथि अनुचित व्यवहार भएको अभिव्यक्तिले गरेको छ । रूकुम पश्चिमको आठबिसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले नगर प्रमुखविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत लामो वक्तव्य सार्वजनिक गरेकी छन्। निर्वाचित भएदेखि नै आफूलाई बोल्न र लेख्न नदिने, डर र दबाबमा राख्ने, महिला भएकै कारण हेप्ने तथा नगरपालिकाभित्र व्यापक अनियमितता र बेथिति भएको आरोप उनले लगाएकी छन्।
उप–प्रमुख शाहीका अनुसार, निर्वाचनपछि “सामाजिक सञ्जालमा नलेख्न र नबोल्न” भन्दै आफूलाई निरन्तर दबाब दिइयो। तर अत्याचार बढेपछि बाध्य भएर आठबिसकोटका आम नागरिकलाई जानकारी गराउन सामाजिक सञ्जालको सहारा लिनुपरेको उनले उल्लेख गरेकी छन्।
उनले नगर प्रमुखले पार्टीभित्रको पहुँच र नेताहरूसँगको निकटता प्रयोग गरेर दोस्रो कार्यकालका लागि मेयरको टिकट लिएको दाबी गरेकी छन्। क. जनार्दन शर्मा ‘प्रभाकर’ र तत्कालीन नगर प्रमुख गोर्खबहादुर केसी ‘सन्देश’को नजिकको पात्र बनेर टिकट लिन सफल भएको आरोप शाहीको छ। जनयुद्धकालदेखि पार्टीका लागि दुःख गरेका कार्यकर्तालाई छल्दै ३२ वर्षको “ठिटो” बनेर टिकट लिइएको उनको आरोप हो।
आफ्नो सन्दर्भमा उनले गठबन्धनका कारण चुनाव हार्ने डरले गोतामकोटबाट उप–प्रमुखको टिकट दिइएपछि मात्र जित सुनिश्चित हुने आकलन गरिएको र क. सन्देश स्वयं आफ्नो घर आएर उठ्न आग्रह गरेपछि टिकट स्वीकारेको बताएकी छन्। त्यसपछि एक हजार मत पनि नक्रस गरी चुनाव जितिएको उनको दाबी छ।
उप–प्रमुख शाहीले एउटै पार्टीबाट निर्वाचित भए पनि नगर प्रमुखबाट निरन्तर हेपाइ र अपमान सहनुपरेको आरोप लगाएकी छन्। उनले वक्तव्यमा उल्लेख गरेका आरोपहरू यसप्रकार छन्—
-
आफू महिला भएकै कारण र भेगिय दृष्टिले हेपिएको।
-
मनपरी बजेट चलाउन खोज्दा अवरोध गरेपछि हेपाइ।
-
कार्यपालिकाका बैठकमा सबैलाई साइन गराउने भनिए पनि महिनौंसम्म लुकेर निर्णय लेख्ने काम रोक्न खोज्दा हेपाइ।
-
करिब ५० लाख रुपैयाँका फाइलहरू आफ्ना नजिकका व्यक्तिलाई दिन खोज्दा रोक्दा हेपाइ।
-
अन्य वडा अध्यक्षलाई छल्दै मनपरेका वडा अध्यक्षलाई योजना दिई, अनुगमन नगरी, समिति कसैको साइन नलिई ३०–३५ लाख रुपैयाँ भुक्तानी गरेर पछि अडिटका बेला आफूलाई साइन गराउन खोज्दा अस्वीकार गरेकाले हेपाइ।
-
नेपाली कांग्रेस र एमालेबाट निर्वाचित चार जना वडा अध्यक्षसँग समन्वय, बोलचाल र सहयोग गरेको आरोप लगाउँदै हेपाइ।
-
प्रतिपक्षका नेतासँग चिया गफ र फोटो खिचेकै कारण हेपाइ।
-
भौतिक पूर्वाधार बनाउन नसकिने ठाउँमा अनावश्यक डीपीआर नगर्न र धेरै भुक्तानी नदिन भनेपछि हेपाइ।
-
नगर प्रमुख महिनामा १५–२० दिन काठमाडौं बसेर घुम्दा आफू पालिकामै बसेर काम गरिरहँदा पनि हेपाइ।
-
सहकारी तथा द्वन्द्वपीडित व्यक्तिले न्यायिक समितिमा दिएको निवेदन अघि बढाउन खोज्दा झन् हेपाइ।
-
सार्वजनिक संरचना भत्काउनेलाई कारबाही गरौँ भन्दा हेपाइ।
“यस्तै अनगिन्ती कारण छन् जसले गर्दा म हेपिएँ,” भन्दै उनले यी सबै बेथिति र अनियमितता पार्टीका हरेक बैठकमा राख्दा पनि कहिल्यै सुनुवाइ नभएको र उल्टै आफूमाथि दबाब दिइएको उल्लेख गरेकी छन्। त्यतिबेला अहिलेका प्रगतिशील पार्टी र नेपाली कम्युनिष्ट पार्टीका नेताहरू एउटै थालमा भात खाने अवस्थामा रहेको उनको टिप्पणी छ।
उनले एक दिन आफू दलको बैठकमा उपस्थित नभएको बेला नगर प्रमुखले कार्यपालिकामा प्रतिपक्ष (ने.का. र एमाले) लाई गर्ने जस्तो व्यवहार गर्ने प्रतिबद्धता गरेको भन्दै त्यसका लागि धन्यवाद समेत दिएकी छन्।
वक्तव्यको अन्त्यतिर उप–प्रमुख शाहीले आफू कहिले कुन पार्टीमा आबद्ध भएको, कहिले सदस्यता लिएको, कहिले माओवादी केन्द्रको सदस्यता त्यागेको भन्ने प्रश्न उठाउँदै नगर प्रमुखका “आँखा र कानले के देख्दै र सुन्दै छन्?” भनेर कटाक्ष गरेकी छन्। “के तपाईं जीवनभर दलको नेता र नगर प्रमुख भइरहन्छु भन्ने सोचमा हुनुहुन्छ?” भन्ने प्रश्नसमेत उनले गरेकी छन्।
यस प्रकरणबारे लोकसारथि मिडियाले आठबिसकोट नगरपालिकामा उठेका यस्ता गम्भीर आरोप र बेथितिमाथि सम्बन्धित निकायले गहन अनुसन्धान गर्नुपर्ने माग गर्दछ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
