लोकसारथि संवाददाता, काठमाडौं ।
ब्रह्माण्डको सुरुआत कसरी भयो र यसको अन्त्य कसरी हुनेछ ? यो प्रश्नले सदियौँदेखि मानव सभ्यतालाई सोच्न बाध्य बनाउँदै आएको छ । यही जिज्ञासाको उत्तर खोज्ने क्रममा वैज्ञानिकहरूले अन्तरिक्ष विज्ञानको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । डार्क एनर्जी सर्वे (DES) मार्फत अन्तरिक्षको अहिलेसम्मकै सबैभन्दा स्पष्ट र गहिरो तस्बिर सार्वजनिक भएको छ ।
करिब ४ सय वैज्ञानिकले ६ वर्षसम्म गरेको संयुक्त अनुसन्धानबाट ब्रह्माण्डको त्यो भाग अध्ययन गरिएको हो, जुन अहिलेसम्म प्रत्यक्ष रूपमा देखिन नसक्ने मानिन्थ्यो । यो अनुसन्धानले देखाएको छ कि हामीले देखिरहेको संसार वास्तविक ब्रह्माण्डको अत्यन्तै सानो अंश मात्र हो । DES का अन्तिम नतिजाले अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ बहस र सम्भावनाहरूको ढोका खोलेको छ ।
६६ करोडभन्दा बढी ग्यालेक्सीको ऐतिहासिक डेटा
डार्क एनर्जी सर्वेका क्रममा वैज्ञानिकहरूले ६६ करोडभन्दा बढी ग्यालेक्सीको डेटा सङ्कलन गरेका छन् । यी ग्यालेक्सी पृथ्वीबाट अर्बौँ प्रकाशवर्ष टाढा रहेका छन् । यति ठूलो परिमाणमा डेटा सङ्कलन गर्नु आफैंमा विश्व कीर्तिमान मानिएको छ । यही डेटाले डार्क एनर्जी कसरी काम गर्छ भन्नेबारे महत्वपूर्ण जानकारी दिएको वैज्ञानिकहरूको दाबी छ ।
डार्क एनर्जी के हो र किन यति रहस्यमय ?
डार्क एनर्जी ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्यमध्ये एक हो । वैज्ञानिक अनुमानअनुसार ब्रह्माण्डको करिब ७० प्रतिशत हिस्सा डार्क एनर्जीले भरिएको छ । यसलाई न त देख्न सकिन्छ, न त प्रत्यक्ष रूपमा महसुस गर्न । तर यही शक्तिले ब्रह्माण्डलाई तीव्र गतिमा फैलाइरहेको छ ।
वैज्ञानिकहरूका अनुसार करिब १३.८ अर्ब वर्षअघि बिग बैंग भएको थियो । त्यसपछि गुरुत्वाकर्षणका कारण ब्रह्माण्डको विस्तारको गति सुस्त हुँदै गएको थियो । तर सन् १९९८ मा गरिएको अवलोकनले सबैलाई चकित बनायो । ब्रह्माण्डको विस्तार अचानक तीव्र भएको पत्ता लाग्यो । यही रहस्यमय शक्तिलाई डार्क एनर्जी नाम दिइयो ।
जहाँ गुरुत्वाकर्षणले वस्तुहरूलाई एक–अर्कातर्फ तान्छ, त्यहीँ डार्क एनर्जीले तिनलाई टाढा–टाढा धकेल्छ ।
कसरी खिचियो अन्तरिक्षको सबैभन्दा स्पष्ट तस्बिर ?
यो विशाल परियोजनाका लागि अमेरिकाको फर्मी नेशनल ल्याब ले अत्यन्त शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्यो, जसलाई डीईक्याम (DECam) नाम दिइयो । यो क्यामेरा चिलीमा रहेको एक ठूलो टेलिस्कोपमा जडान गरिएको थियो ।
लगातार ७५८ रातसम्म वैज्ञानिकहरूले आकाशको गहिराइ स्क्यान गर्दै डेटा सङ्कलन गरे । डीईक्याम यति संवेदनशील छ कि अत्यन्तै धुंधलो प्रकाशलाई पनि टिप्न सक्छ । यही कारणले डार्क एनर्जीसम्बन्धी अहिलेसम्मकै सबैभन्दा स्पष्ट तस्बिर सम्भव भएको हो ।
के ब्रह्माण्डको विस्तार सधैँ उस्तै रहन्छ ?
डार्क एनर्जीबारे वैज्ञानिकहरूबीच दुई प्रमुख सिद्धान्त छन् ।
पहिलो सिद्धान्तअनुसार डार्क एनर्जीको घनत्व सधैँ स्थिर रहन्छ, जसलाई कोस्मोलोजिकल कन्स्ट्यान्ट मोडेल भनिन्छ ।
दोस्रो सिद्धान्तले भने डार्क एनर्जी समयसँगै परिवर्तन हुँदै जान्छ भन्छ ।
DES को अन्तिम डेटाले यी दुई सिद्धान्तबीच नयाँ संकेतहरू दिएको छ । यद्यपि कुनै अन्तिम निष्कर्षमा वैज्ञानिकहरू अझै पुगेका छैनन्, तर यस अनुसन्धानले धेरै पुराना सम्भावनाहरूलाई अस्वीकार गरिदिएको छ । यदि डार्क एनर्जी यस्तै गतिमा बढ्दै गयो भने भविष्यमा ब्रह्माण्ड पूर्ण रूपमा छरपस्ट हुन सक्ने चेतावनी पनि वैज्ञानिकहरूले दिएका छन् ।
ग्राभिटेशनल लेन्सिङ र यसको महत्व
डार्क एनर्जीलाई प्रत्यक्ष रूपमा देख्न नसकिने भएकाले वैज्ञानिकहरूले ग्राभिटेशनल लेन्सिङ प्रविधिको प्रयोग गर्छन् । यो प्रविधि अन्तरिक्षको विशाल म्याग्निफाइङ ग्लासजस्तै हो ।
जब कुनै ठूलो ग्यालेक्सीको पछाडिबाट प्रकाश आउँछ, त्यस ग्यालेक्सीको गुरुत्वाकर्षणले प्रकाशलाई मोडिदिन्छ । यही मोडिएको प्रकाशको अध्ययनबाट त्यहाँ कति द्रव्यमान र ऊर्जा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
डार्क एनर्जी सर्वेले यही प्रविधिबाट ब्रह्माण्डको विस्तृत नक्सा तयार गरेको छ, जसले ब्रह्माण्डमा पदार्थ र ऊर्जा कहाँ–कहाँ कसरी फैलिएका छन् भन्ने बुझ्न मद्दत गरेको छ ।
अब अन्तरिक्ष विज्ञानको अर्को कदम के ?
डार्क एनर्जी सर्वेको समाप्ति अन्त्य होइन, नयाँ युगको सुरुआत भएको वैज्ञानिकहरू बताउँछन् । यस सर्वेबाट सिकिएका प्रविधि र अनुभवहरू अब अझ ठूला परियोजनामा प्रयोग गरिनेछ ।
चिलीमै रुबिन अब्जर्भेटरी सञ्चालनको तयारी भइरहेको छ, जसलाई ‘सुपर डार्क एनर्जी सर्वे’ पनि भनिन्छ । त्यस्तै अन्तरिक्षमा युक्लिड स्याटेलाइट र रोमन स्पेस टेलिस्कोप पनि सक्रिय छन् । यी सबै परियोजनाले डार्क एनर्जीको रहस्य अझ गहिराइमा बुझ्ने प्रयास गर्नेछन् ।
वैज्ञानिकहरूका अनुसार, आउने केही वर्षमै ब्रह्माण्डको भविष्य र सम्भावित अन्त्यबारे मानव जातिले ठोस उत्तर पाउन सक्नेछ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
