logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

मधेश प्रदेशमा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण, १ हजार २४६ अति संवेदनशील

मधेश प्रदेशमा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण, १ हजार २४६ अति संवेदनशील

सप्तरीमा सबैभन्दा बढी सुरक्षा चुनौती


  • शुक्रबार, माघ १६ २०८२
  • 1.5K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका आठ वटै जिल्लामा कुल ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये १ हजार २ सय ४६ मतदान स्थल अति संवेदनशील सूचिमा राखिएका छन् भने १ सय ६० मतदान केन्द्रलाई मात्र सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

    मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार सुरक्षा चुनौती देखिएका मतदान स्थललाई अति संवेदनशील, केही जोखिम रहेका स्थललाई संवेदनशील र न्यून जोखिम भएका स्थललाई सामान्य सूचीमा राखिएको हो। सबै जिल्लाका मतदान स्थलमा स्थलगत अनुगमन, निरीक्षण तथा सुरक्षा जोखिम मूल्याङ्कनपछि मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा वर्गीकरण गरिएको उनले जानकारी दिए।

    प्रदेशका आठ जिल्लामध्ये सप्तरी जिल्लाका मतदान केन्द्रमा सुरक्षा चुनौती सबैभन्दा बढी देखिएको छ। जिल्लामा रहेका २ सय ९६ मतदान स्थलमध्ये २ सय ९ ओटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्।

    यसैगरी, सिराहामा १ सय ५४, धनुषामा १ सय ९४, महोत्तरीमा १ सय ६३, सर्लाहीमा १ सय ५८, रौतहटमा १ सय ५२, बारामा १ सय ४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका छन्।

    मधेश प्रदेशका आठ वटै जिल्लामा कुल ७ सय ६३ मतदान स्थल संवेदनशील सूचीमा रहेका छन्। तीमध्ये सर्लाही जिल्लामा सबैभन्दा बढी १ सय ३१ मतदान स्थल संवेदनशील सूचीमा परेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मधेश प्रदेशमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज परिचालन गरिने तयारी गरिएको छ।

    प्रवक्ता थापाका अनुसार:

    ४० हजार नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, १० हजार सशस्त्र प्रहरी बल (एपीएफ) परिचालन गरिनेछ। अतिरिक्त आवश्यकता परेमा नेपाली सेनासमेत परिचालन गरिने तयारी रहेको छ।

    सुरक्षा निकायले अति संवेदनशील र संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा योजना लागू गरिने, गस्ती, निगरानी तथा तत्काल प्रतिक्रिया टोली (क्विक रिस्पोन्स टिम) परिचालन गरिने जनाएको छ।

    मधेश प्रदेशमा विगतका निर्वाचन अनुभव, राजनीतिक प्रतिस्पर्धा र स्थानीय संवेदनशीलतालाई ध्यानमा राख्दै यसपटक सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको सुरक्षा निकायको दाबी छ। मतदाताले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै सुरक्षा संयन्त्र परिचालन गरिने जनाइएको छ।

    प्रकाशित : शुक्रबार, १६ माघ २०८२ , ०५:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend