logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रतिनिधि सभा निर्वाचनः २१ माघदेखि नेपाली सेना फिल्डमा, ३ लाख ३३ हजार बढी सुरक्षाकर्मी परिचालन

प्रतिनिधि सभा निर्वाचनः २१ माघदेखि नेपाली सेना फिल्डमा, ३ लाख ३३ हजार बढी सुरक्षाकर्मी परिचालन


  • सोमबार, माघ १९ २०८२
  • 663
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबारदेखि (२१ माघ) देशभर परिचालन हुने भएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार नेपाली सेना निर्वाचनपूर्व सुरक्षा रणनीतिअनुसार फिल्ड गस्तीमा निस्कन लागेको हो ।

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनातर्फको सम्पूर्ण तयारी पूरा भइसकेको छ । २१ माघदेखि निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात् तीनै चरणमा सेना तेस्रो घेराको सुरक्षा जिम्मेवारीमा रहनेछ । संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्था हेरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वयमा संयुक्त गस्ती समेत हुनेछ ।

    निर्वाचन लक्षित सुरक्षाका लागि नेपाली सेनाका ७९ हजार ७२७ जना परिचालन हुनेछन् । उनीहरूले आवश्यकता अनुसार गस्ती, पेट्रोलिङ तथा सुरक्षा ड्युटी गर्नेछन् । मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत सुरक्षा योजना तर्जुमा, तालिम र अभ्यास सम्पन्न गरेको थियो ।

    ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको प्रतिवेदन ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले पारित गरेको थियो । यही योजनाअनुसार हाल सुरक्षा गतिविधि सञ्चालन भइरहेका छन् ।

    हवाई गस्ती र पाँच स्थानमा स्ट्याण्डबाई हेलिकप्टर

    निर्वाचन अवधिभर नेपाली सेनाले विकट र अतिसंवेदनशील क्षेत्रमा हवाई गस्ती गर्नेछ । निर्वाचन अवधिमा तथा निर्वाचनपछि मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिनेछ ।
    सेनाले सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरी गरी पाँच स्थानमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था गरेको छ । आपतकालीन अवस्थामा हेलिकप्टरमार्फत सेना तत्काल फिल्डमा पुग्नेछ । सडक सञ्जाल नपुगेका स्थानमा मतपत्र तथा मतपेटिका ढुवानी र गणनास्थलसम्म ल्याउने जिम्मेवारी पनि सेनाले नै लिनेछ ।

    बम डिस्पोजल टोली तैनाथ

    निर्वाचन भाड्न खोज्ने समूहबाट बम तथा विस्फोटक पदार्थ प्रयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ । अति संवेदनशील मतदानस्थलहरूलाई केन्द्रित गरी यस्तो टोली परिचालन गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

    यसपटक मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुती) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजवादी पार्टी, समर जङ्ग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरिसकेका छन् । वैद्य नेतृत्वको पार्टीले काठमाडौंको बाङ्गेमुढामा कोणसभा गरेको थियो भने पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्का सिन्धुलीको दुधौलीमा पक्राउ परेका थिए ।

    विमानस्थलदेखि कारागारसम्म सेनाको सुरक्षा

    निर्वाचन अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा खटिने भएकाले महत्वपूर्ण प्रतिष्ठान, कारागार र विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अन्य विमानस्थल, कारागार कार्यालय, सिंहदरबारलगायत संवेदनशील प्रतिष्ठानहरूको सुरक्षा सेनाले गर्नेछ ।

    ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन

    निर्वाचन सुरक्षाका लागि कुल ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।

    • नेपाली सेना: ७९,७२७

    • नेपाल प्रहरी: ७५,५९७

    • निर्वाचन प्रहरी (नेपाल प्रहरी मातहत): १,३०,९८०

    • सशस्त्र प्रहरी बल: ३४,५७६

    • निर्वाचन प्रहरी (सशस्त्र प्रहरी मातहत): १५,११०

    • गुप्तचर: १,९२१

    ३ हजार ६८० अति संवेदनशील मतदानस्थल

    देशभर मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गिकरण गरिएको छ । प्रहरीको आन्तरिक रिपोर्टअनुसार ३ हजार ६८० मतदानस्थल अति संवेदनशील छन् । सबैभन्दा चुनौतीपूर्ण प्रदेश मधेशमा मात्रै १ हजार २४६ अति संवेदनशील मतदानस्थल छन् ।

    प्रकाशित : सोमबार, १९ माघ २०८२ , ०८:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend