logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: घोषणापत्रले देश बदलिँदैन, स्वयं बदलिन सक्नेले मात्रै देश बदल्न सक्छ

सम्पादकीय: घोषणापत्रले देश बदलिँदैन, स्वयं बदलिन सक्नेले मात्रै देश बदल्न सक्छ


  • शुक्रबार, फाल्गुन १ २०८२
  • 936
    SHARES

    सम्पादकीय

    धर्मसंगत भोजन वा सात्विक आहारलाई त्यागेर जथाभावी खानु, स्वास्थ्यमैत्री र समयानुकूल भोजन नगर्नु, बरु अबेर राति भोजन गर्नु वा सूर्यास्तपछि भोजन गर्ने बानी बसाल्नु—आजको समाजमा सामान्य जीवनशैलीकै रूपमा विकास हुँदै गएको छ। बिहान सूर्योदय भइसक्दा समेत बिस्तरा नछोड्ने, शरीरलाई चलायमान राख्नुपर्ने समयमा निद्रा र आलस्यमा डुबिरहने प्रवृत्तिले मानिसलाई शारीरिक र मानसिक रूपमा क्रमशः कमजोर बनाउँदै लगेको छ।

    त्यसमाथि अति मैथुन चरित्रभित्र प्रवेश गरी शरीरलाई पूर्ण रूपमा रोगग्रस्त बनाउने र अन्ततः लाखौँ रुपैयाँ तथा जीवनको अमूल्य समय डाक्टरी उपचारमै खर्चिने जीवनशैलीको विकास आज समाजमा तीव्र गतिमा फैलिएको छ। यही विकृत शैलीले सिंगो समाजलाई खोक्रो, दुर्बल र अशक्त बनाइरहेको छ। समाज तामसिक गुणप्रधान बन्दै गएको छ, र विकारग्रस्त अस्वस्थतासँगै मानिस निरन्तर अशान्त छ।

    पहिले हाम्रा पुर्खाहरू तीन–चार दिन हिँडेरै आफ्ना दैनिक आवश्यकता जोहो गर्दथे। उनीहरू जे खायो पच्थ्यो, मिठो निद्रा लाग्थ्यो, मन प्रसन्न हुन्थ्यो। तर आज मानिसहरू भन्न थालेका छन्—“समय छैन, हिँडेर जान सकिँदैन।” तीव्र गतिका अत्याधुनिक भौतिक सुविधायुक्त यातायात साधन सबैको जीवनको अभिन्न हिस्सा बनेका छन्। फलस्वरूप मानिसको शरीरलाई आवश्यक श्रम, पसिना र प्रकृतिसँगको सम्पर्क हराउँदै गएको छ।

    आज अनिद्रा, अपच, शुगर, उच्च रक्तचाप, क्यान्सर, पत्थरी, मोटोपन जस्ता रोगहरूले घर–घरका मानिसलाई आक्रमण गरिरहेका छन्। हृदयघात, मस्तिष्कघात, पक्षाघात, अल्पायु—यी सबैले मानव जीवनमा शासन गर्न थालेका छन्।

    प्रकृतिको सामान्य नियमअनुसार सुरुमै सरल सात्विक जीवनलाई आचरणमा उतार्नुको सट्टा मानिस किन मांसाहार, मदिरापान, विलासिताको मार्ग समातेर अस्पताल, डाक्टर, उपचार, औषधि सेवन जस्तो लामो प्रक्रियामा प्रवेश गरिरहेको छ? प्रकृतिमैत्री जीवनशैलीमा जुन सुख छ, त्यो दीर्घकालीन हुन्छ। तर प्रकृतिकै नियमविरुद्ध पशुपन्छीको हत्या गरी स्वादमा रमाउने प्रवृत्तिले के त्यस्तो आनन्दानुभूतिको असवर प्रदान गर्न सक्छ?

    शास्त्रमा पाँच युगहरूको वर्णन आउँछ—सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग, र कलियुग तथा सत्ययुगको बीचमा रहेको संगमयुग। यी पाँच युगहरूमध्ये सबैभन्दा उत्तम युग कलियुगलाई मानिएको छ। यही कलियुगसँग संगमयुग पनि जोडिएको छ।

    सत्य, त्रेता र द्वापरयुगमा हजारौँ–लाखौँ वर्ष तपस्या, साधना गरेर जुन पुण्यफल प्राप्त हुन्थ्यो, त्यो कलियुगमा केवल नामजपले सम्भव छ। कलियुगले त्यति धेरै सामर्थ्य राख्दछ। यसर्थ कलियुगमा जन्मिने जीवात्माहरू नैसर्गिक रूपमा सौभाग्यशाली छन् भन्नु अतिशयोक्ति हुँदैन।

    यही दुर्लभ मानव योनिको वास्तविक लक्ष्य भगवद प्राप्ति हो, तर आज त्यो लक्ष्य विलुप्तजस्तै देखिन्छ। मानिसले शरीरलाई भोगको साधन बनाउँदैछ, आत्मालाई परमसत्तातर्फ उन्मुख गराउने साधनको रुपमा चिन्नै छोडिदियो ।

    महर्षि जमदग्नीले आफ्नी अर्धाङ्गिनी रेणुकालाई सन्ध्या वन्दनाका लागि नजिकैको सरोवरबाट जल ल्याउन पठाउँछन्। ऋषिपत्नी रेणुका ताल नजिक पुग्दा त्यहाँ एक गन्धर्व र अप्सरा विलास (रति) कामासक्त मुद्रामा देखिन्छन्। रेणुकालाई त्यो दृश्यले आकर्षित बनाउँछ। फलस्वरूप उनी आफ्नो मूल दायित्वलाई थाती राखी टाढैबाट त्यो दृश्य अवलोकन गर्न रमाउँछिन्।

    त्यतिकैमा सन्ध्या बितिसकेको हुन्छ। हतारिँदै रेणुका तालबाट जल लिएर फर्किन्छिन्। महर्षि जमदग्नीले विलम्बको कारण सोध्छन्। रेणुकाले मिथ्या भाषण नगरी सबै घटनाक्रम बताउँछिन्। विवाहिता स्त्री हुनुका बावजुद परपुरुषको रतिक्रियामा आसक्त भएको देखेपछि महर्षिले दण्डविधान लागू गरिदिन्छन्।

    दण्डस्वरूप रेणुकाको हत्या गर्न आफ्ना चार छोरामध्ये तीन जनालाई पालैपालो आदेश दिन्छन्। तर कसैले आदेशको पालना गर्दैनन्। त्यसपछि महर्षिले तीन भाइलाई विचारशक्ति लोप होस् भनी श्राप दिन्छन्।

    त्यही बेला कान्छा छोरा बालब्रह्मचारी परशुराम आश्रममा आइपुग्छन्। महर्षिले उनलाई पनि आफ्नी आमाको हत्या गर्न आदेश दिन्छन्। परशुरामले “किन हत्या गरूँ?” भनी प्रश्न नगरी माताको शिर काटिदिन्छन्।

    प्रसन्न भएर जमदग्नीले परशुरामलाई वरदान माग्न आग्रह गर्छन्। परशुरामले आफ्ना दाजुहरूको श्राप फिर्ता लिन, मातालाई पुनः जीवित गरिदिन, र यो घटना माता तथा दाजुहरूलाई स्मरण नहोस् भन्ने वरदान माग्छन्। महर्षिले तपबलद्वारा परशुरामको अभिष्ट पूरा गरिदिन्छन्।

    केवल प्रेमिल जोडीको विलास मुद्रा दृश्यावलोकन गर्नाले मात्र महर्षि पत्नी दण्डको अधिकारिणी बनिन्। आज समाजमा अधिकांश घरहरूमा परपुरुष वा परस्त्री गमन गर्नेहरू उपस्थित छन्। यस्तो अनैतिक र अधार्मिक क्रियामा तल्लीन हुनेहरू निश्चित रूपले दण्डनीय छन्।

    यो पनि तामसिक भोजनकै प्रभाव हो। आहारबाट विचार, विचारबाट व्यवहार, व्यवहारबाट संस्कार निर्माण हुने भएकाले मूलतः आहारमा ध्यान दिनु आवश्यक छ। तामसिक भोजनलाई अविलम्ब सात्विक भोजनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता प्रत्येक व्यक्तिको छ। तामसिक भोजनले व्यभिचारिता मात्र होइन, हिंसक स्वभावको पनि उत्पत्ति गराउँछ।

    डाकु रत्नाकर कसरी महर्षि वाल्मीकि बने—यो सबैलाई थाहा छ। रत्नाकर क्रूर स्वभावका डाकु थिए। उनले आफ्नी श्रीमती, बुवाआमाका लागि भनेर हजारौँ निर्दोष मानिसहरूको हात, खुट्टा, घाँटी काटेर धन लुटे।

    अन्ततः नारदमुनिको मार्गनिर्देशनअनुसार उनले गरेका ती सबै पापकर्ममा आफन्तहरू कोही पनि भागीदार नबन्ने थाहा पाएपछि उनले पापको पश्चाताप गर्ने उपाय बताउन नारदमुनिसँग आग्रह गरे।

    नारदमुनिले इन्द्रियहरूलाई संयममा राखी, अहंकारको त्याग गर्दै राम नामको जाप मनैदेखि गरेमा सबै पाप भस्म हुने बताए। रत्नाकरले त्यही गरे। तर राम राम भन्दाभन्दै “मरा मरा मरा” भन्न थाले। सत्यमनले राम नामकै शरण लिएर रामचिन्तन गरेको कारण गलत उच्चारणका बावजुद रत्नाकर महर्षि वाल्मीकि बने।

    जघन्य अपराधका लागि दण्डित हुनैपर्ने पात्र थिए उनी। तर अतीतलाई त्यागेर जसरी आत्मग्लानिबोधसहित प्रभुमा समर्पित बने, त्यही क्षणदेखि अपराधदण्ड विधान परमसत्ताले खारेज गरिदियो। साथै रत्नाकरले महान् साहित्यकार एवम् धर्मगुरु बन्ने वरदान प्राप्त गरे। वाल्मीकि द्वारा रचित रामायण आज सबैको कल्याणको परम साधन बनिरहेको छ।

    जन्मकुण्डलीअनुसार दुर्योधन नै हस्तिनापुरको राजा बन्ने प्रबल योग थियो। राजज्योतिषीले त ठोकुवा नै गरिदिएका थिए। दुर्योधनका पिता धृतराष्ट्र पुत्र सुरक्षित छ भन्ने कुरामा ढुक्क थिए। तर अधर्म आचरणलाई छोड्न नसकेकै कारण दुर्योधनले आफ्नो र आफ्ना ९९ भाइहरूको दुर्भाग्य रचिदियो।

    पाण्डवहरू श्रीकृष्णप्रति समर्पित भावले शरणागत थिए। त्यसकारण दुर्योधनको मजबुत ग्रहस्थितिको दिशा र दशालाई भगवानले बदलिदिए भने पाण्डवहरूको कमजोर अवस्था उच्च पराक्रम एवम् विजयको पहिचान बन्यो।

    यसले स्पष्ट सन्देश दिन्छ—जीवनको मूल आधार ग्रह होइन, संस्कार हो; भाग्य होइन, सनातन धर्माश्रित कर्म हो; परमसत्ताप्रतिको समर्पण हो।

    आज मानिसहरू भगवद कृपाका लागि भगवानको आश्रय लिनुको सट्टा व्रत, पूजा लगायतका विविध कर्मकाण्डमा मात्र आश्रित छन्। तर दुष्कर्म गर्न नछोड्नेहरू स्वयंमा अशान्त छन्। उनैहरू समाज र देशमा शान्ति ल्याउँछु भन्दै झुटो सम्भाषण गर्न छोड्दैनन्।

    राक्षसी आहार र चरम विलासितालाई जीवनको आधार मान्नेहरूले समाज र देशमा सकारात्मक परिवर्तन ल्याउलान् भन्नु मूर्खता हो। जो व्यक्ति स्वयं शान्तचित्तको छ, सदाचारी छ, सात्विक छ, भगवद मार्गको पथिक हो—उही व्यक्तिले मात्र समाज र देशलाई सही नेतृत्व दिन सक्छ।

    त्यसकारण चुनावकेन्द्रित प्रत्याशीहरूले घोषणापत्रमा जे–सुकै सकारात्मक परिवर्तनका नाममा लेखून्, जबसम्म आफ्नो शुद्ध चरित्र निर्माण गर्दैनन् तबसम्म घोषणपत्रको विश्वसनीयता शून्य नै रहन्छ भन्ने कुरा सबैको स्मरणमा रहनुपर्ने हुन्छ।

    समाज र देश परिवर्तन गर्नु छ भने पहिला स्वयंलाई परिवर्तन गरौँ। शुरुवात सात्विक आहारबाटै गरौँ। सत्कर्म नै आध्यात्मिक र भौतिक समृद्धिको पहिलो कच्चा पदार्थ हो।

    यो कच्चा पदार्थ बजारमा धनले किन्न पाइँदैन, कतैबाट आयात हुँदैन। यो त परमसत्ताश्रित जीवात्मा (व्यक्ति) को मनमा उच्च संकल्पद्वारा सिर्जना हुन्छ।

    प्रकाशित : शुक्रबार, १ फाल्गुन २०८२ , ०२:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend