सम्पादकीय
आज महाशिवरात्रि हो। नेपालदेखि काशी, कैलाशदेखि कन्याकुमारीसम्म “हर हर महादेव” को घोषले सम्पूर्ण वातावरण भक्तिमय बनेको छ। तर विडम्बना के छ भने—हामी शिवको जयकार त गर्छौं, तर शिवको वास्तविक तत्त्व बुझ्नबाट धेरै टाढा छौं।
महाशिवरात्रि केवल व्रत बस्ने, बेलपत्र चढाउने वा धतुरो अर्पण गर्ने पर्व मात्र होइन। यो दिन शिव–तत्त्वको अनुभूति गर्ने, आत्मचिन्तन गर्ने र “शिव” के हो भन्ने गहिरो प्रश्न उठाउने दिन हो।
यसैले आजको सम्पादकीयमा एउटा अत्यन्त महत्वपूर्ण वैदिक सत्य बुँदागत रुपमा स्पष्ट पार्न आवश्यक छ— “शिव” र “शंकर” समान शब्द होइनन्। शिव परम तत्त्व हो, शंकर त्रिदेवको एक भूमिका हो।
१) शिवः देवता होइन, परम सत्य (परब्रह्म)
उपनिषद्हरूले परम सत्यलाई “ब्रह्म” भनेका छन्। त्यही ब्रह्मलाई शैव दर्शनले “शिव” भनेर सम्बोधन गर्छ। शिव भनेको—निराकार चेतना, निर्गुण सत्ता, अजन्मा, अविनाशी, समयभन्दा परको सत्य, जगतको कारणको कारण (कज अफ अल कजेज) हो । शिव कुनै सीमित आकृति होइन। शिव कुनै मन्दिरको मूर्तिमा मात्र बाँधिने शक्ति होइन। शिव त स्वयं अस्तित्वको मूल आधार हो। त्यसैले वेद–उपनिषद् परम्परामा शिवलाई “शान्तम्, शिवम्, अद्वैतम्” भनिएको छ।
अर्थात्— शिव . शान्ति, कल्याण र अद्वैत चेतना।
२) शंकरः त्रिदेव अन्तर्गतको “महेश” पक्ष
अब आउँछ दोस्रो सत्य—शंकर। शंकरलाई हामी महादेव भन्छौं तर वैदिक–पुराणिक दृष्टिले शंकर भन्नाले प्रायः त्रिदेवभित्रको संहारकर्ताको भूमिका बुझिन्छ।
त्रिदेव अर्थात्— ब्रह्माः सृष्टि गर्ने, विष्णुः पालन गर्ने र महेश वा शंकरः संहार गर्ने ।
यहाँ शंकर “सृष्टि व्यवस्थापन” भित्रको एक दिव्य कार्य हुन्। जसरी सरकारमा देशको संविधान मातहतमा रहेर मन्त्रीहरू फरक–फरक मन्त्रालय सम्हाल्छन्, त्यसैगरी ब्रह्माण्डको सञ्चालनमा परमसत्ताको विधिविधान अनुरुप त्रिदेवले अलग–अलग जिम्मेवारी सम्हाल्छन्। तर त्यसको अर्थ यो होइन कि शंकर नै शिवको सम्पूर्णता हुन्।
३) शिव त्रिदेवभन्दा परको तत्त्व
शिव परम चेतना हुन् भने शंकर त्यो चेतनाको एक ब्रह्माण्डीय रुप । अर्थात् शिव समुद्र हुन् भने शंकर त्यो समुद्रको एउटा छाल हुन्। शिव सूर्य हुन् भने शंकर सूर्यको एउटा किरण हुन्। यही कारणले सनातन ग्रन्थहरूमा शिवलाई “महाकाल” भनिन्छ—समयको पनि स्वामी। त्रिदेव समयभित्रको व्यवस्थापन हुन्, शिव समयभन्दा बाहिरको सत्य हुन्। शिवमाथि समयको नियम लागु हुन्न तर त्रिदेव अन्तर्गत रहेका शंकर (महेश) समयसीमा अनुबन्धित छन् ।
४) शिवरात्रि किन ‘रात्रि’ हो ?
उपनिषद्हरूले “अविद्या” लाई अन्धकारसँग तुलना गरेका छन्। रात्रि प्रतीक हो—अज्ञानको, मोहको, अहंकारको। शिवरात्रि भनेको— अज्ञानरूपी रात्रिमा शिवरूपी ज्ञानको उदय हो। त्यसैले महाशिवरात्रिको सन्देश केवल पूजा होइन, आत्मज्ञान हो। आजको रात जाग्राम बसेर हामीले बाहिरको दीपक मात्र होइन, भित्रको चेतनाको दीपक बाल्नुपर्ने दिन हो।
५) कृष्ण तत्त्वः एकबाट अनेक रूप
अब अर्को महान सनातन सत्यमा प्रवेश गरौं—भगवान श्रीकृष्ण। श्रीमद्भगवद्गीतामा श्रीकृष्णले स्पष्ट रूपमा भन्नुभएको छ— “अहं सर्वस्य प्रभवः” (म नै सबैको उत्पत्तिको कारण हुँ।) श्रीकृष्ण केवल द्वापर युगमा जन्मिएको एक राजा वा नायक होइनन् । कृष्ण परमेश्वरको पूर्ण अवतार हुन्। सनातन दर्शन अनुसार परम तत्त्वले अनेक रूप धारण गर्छ— ब्रह्म (निर्गुण, निराकार परम सत्य), परमेश्वर (सगुण ईश्वर), देवताहरू (कार्यगत शक्ति), जीवहरू (परा–अपरा शक्ति मिश्रितअंशरूप चेतना) तथा सम्पूर्ण जगत (एकोहम् बहुस्याम संकल्पअनुसारको लीलामय विस्तार) यही तत्त्वलाई गीता भाषामा बुझ्दा स्पष्ट हुन्छ— परम सत्य एकै हो, तर रूप अनेक छन्।
६) शिव र कृष्णः अलग होइन, एकै सत्यका दुई अभिव्यक्ति
यहीँ सबैभन्दा गहिरो सन्देश छ। हाम्रो समाजमा कहिले “शिव ठूलो” भन्ने बहस हुन्छ, कहिले “कृष्ण ठूलो” भन्ने। तर वैदिक दृष्टिले यस्तो बहस अज्ञानको उपज हो। कृष्णले गीता मार्फत “परम ब्रह्म” को ज्ञान दिनुभयो। शिवले “तपस्या, वैराग्य र मोक्ष” को मार्ग दिनुभयो। एकले प्रेम–भक्ति र कर्मयोग सिकाउनु भयो, अर्काले समाधि र तत्त्वज्ञानको शिखर देखाउनु भयो। तर सत्य एउटै हो । नाम फरक हुन सक्छ। रूप फरक हुन सक्छ। तर चेतना एउटै हो।
७) आजको दिन हामीले के बुझ्नुपर्छ ?
महाशिवरात्रिको दिन बेलपत्र चढाउनु राम्रो हो। रुद्राभिषेक गर्नु राम्रो हो। “ॐ नमः शिवाय” जप्नु उत्तम हो। तर त्यो भन्दा पनि ठूलो कुरा— आफ्नो भित्रको ‘शिव’ जगाउनु। शिवको अर्थ कल्याण हो। त्यसैले आजको दिन हामीले आफैंसँग सोध्नुपर्छ— मभित्र कल्याणको भावना छ कि क्रोधको ? मभित्र सत्य छ कि छल ? मभित्र प्रेम छ कि ईर्ष्या ? मभित्र संयम छ कि लोभ ? यदि यी विकार हटे भने— मानव स्वयं “शिवमय” हुन्छ।
८) शिवलिंगको यथार्थ
मैले सानै छँदा भारतमा करिब ३५–४० वर्ष पहिले कुनै सन्तको प्रवचन अखबारमा छापिएको पढ्ने अवसर पाएको थिएँ। त्यसमा लेखिएको थियो—एक महान राजा (कतिपय परम्परामा राजा पृथु भनिएको) लाई शिवतत्त्वले स्वप्नमा दर्शन दिएका थिए। त्यो स्वरूप करोडौँ सूर्यजस्तै तेजोमय थियो—शब्दले वर्णन गर्न असम्भव, चित्रले उतार्न असम्भव। त्यसपछि ती राजाले गहिरो चिन्तन गरे—“मैले दर्शन पाएको त्यो अनन्त शिवस्वरूप न म वर्णन गर्न सक्छु, न साधारण प्रजाले त्यसको गहिराइ बुझ्न सक्छ।” यही विचारबाट प्रेरित भई उनले शिवतत्त्वको स्मरण र सन्देश जनमानससम्म पुर्याउन एक प्रतीकात्मक चिन्ह निर्माण गरे, जसलाई उनले ‘शिवलिंग’ अर्थात् शिवको लिंग (चिन्ह, प्रतीक) भनेर स्थापित गरे। वास्तवमा यो भाव पुराणहरूमा वर्णित ‘लिङ्गोद्भव’ प्रसंगसँग पनि मेल खान्छ, जहाँ शिव अनन्त तेजोमय स्तम्भरूपमा प्रकट भई ब्रह्मा–विष्णुलाई आफ्नो अनादि–अनन्त स्वरूप बोध गराउनुहुन्छ। यसैले शिवलिंगलाई यौनांग ठान्नु अज्ञान हो । शिवलिंग त अवर्णनीय परम शिवतत्त्वको प्रतीक हो—जहाँ सीमित आँखाले पनि अनन्त सत्यलाई सम्झन सकिन्छ।
९) चराचर जगत श्रीकृष्णकै पूर्ण रुप
एकाहोम् बहुस्याम अर्थात् म एक हुँ–अनेक भइजाऊँ भन्ने संकल्प अनुरुप श्रीकृष्ण नै राधाशक्तिले चराचर जगतका रुपमा प्रकट हुनुभयो । सारा सृष्टि श्रीकृष्णकै लीला हो । सबै रुप श्रीकृष्णकै भएकाले ती आफैँमा सम्पूर्ण छन् । बृहदारण्यक उपनिषदको पाँचौँ अध्यायमा वर्णित ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते भन्ने मन्त्रले यो कुरालाई स्पष्ट पारेको छ । जसको अर्थ यस प्रकार छ:
“पूर्णमदः” -परमात्मा पूर्ण हुनुहुन्छ । परमात्मामा कुनै किसिमको कमीकमजोरी छैन ।
“पूर्णमिदं” -यो संसार पनि पूर्ण छ । यो सृष्टि, प्रकृति, जीव, आकाश, पृथ्वी—सबै कुरा पनि पूर्ण व्यवस्थामा चलेको छ। यहाँ जे छ, जति छ, ठीक त्यसै रूपमा आवश्यक छ।
“पूर्णात् पूर्णमुदच्यते” -पूर्णबाट पूर्ण नै उत्पन्न हुन्छ । परमात्माबाट सृष्टि पैदा भयो। तर परमात्मा घट्नुभएन। जसरी सूर्यबाट प्रकाश निस्कँदा सूर्य कम हुँदैन।
“पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते” -पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै बाँकी रहन्छ । परमात्माबाट यो संसार निस्कियो, तर परमात्मा अझै उही पूर्ण नै रहनुभयो। यो सबैभन्दा गहिरो कुरा हो। यसको अर्थ यस्तो हो— परमात्मा अनन्त हुनुहुन्छ। अनन्तबाट अनन्त निकाल्दा पनि अनन्त नै बाँकी रहन्छ।
८) शिवरात्रि केवल परम्परा होइन, चेतनाको विज्ञान हो
आजका युवाहरू प्रश्न गर्छन्— “शिव कसरी सत्य हुन सक्छ ?” “भगवान कहाँ छन् ?” उत्तर सरल छ— भगवान बाहिर होइन, चेतनामा छन्। जसरी एक सानो चिपमा लाखौँ करोडौँ डाटा अटाएको हुन्छ, त्यसैगरी मानिसको हृदयमै परमात्मा हुनुहुन्छ । सानो चिपलाई प्रविधि विशेषको प्रक्रियामा नलैजाँदासम्म त्यसभित्रको डाटा दृष्टिगोचर हुँदैन । त्यसैगरी हृदयभित्रका परमात्मालाई पनि काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहँकारको उपस्थितिमा दर्शन गर्न असम्भव छ ।
जो सत्य बोल्छ, ऊ शिवतत्त्व नजिक छ। जो प्रेम गर्छ, ऊ कृष्णतत्त्व नजिक छ। जो लोभ त्याग्छ, ऊ वैराग्य सम्पत्तिको मालिक बन्न थाल्छ। जो कर्तव्य निभाउँछ, ऊ गीता मार्गको अर्जुन बन्न थाल्छ।
आजको महाशिवरात्रिमा हामीले बुझ्नुपर्ने मूल सन्देश यही हो— शिव परम तत्त्व हुन्। शंकर त्रिदेवको महेश रूप हुन्। कृष्ण स्वयं परमेश्वर हुन्, जसले ब्रह्मदेखि जीवसम्म सबै रूप धारण गर्नुहुन्छ। देवताहरू सबै परम सत्यका कार्यगत अभिव्यक्ति हुन्। अन्ततः सत्य एकै छ—सनातन चेतना।
आजको महाशिवरात्रिमा हामीले केवल शिवलिंगमा जल होइन, आफ्नो जीवनमा सत्य, धर्म, संयम, अहिँसा, शान्ति र दयाको जल अर्पण गर्नुपर्छ। अनि मात्र शिव प्रसन्न हुन्छन्। त्यसैबेला कृष्ण मुस्कुराउँछन्। त्यसैबेला जीवन “शिवमय” र “कृष्णमय” हुन्छ। पाप र पुण्यको मिश्रण अर्थात् प्रारब्धजन्य दुःखसुख भोग गर्दै विकारहरुदेखि तटस्थ रहेर कर्मशुद्धिकरण गर्ने अवसर हो महाशिवरात्रि ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
