बुटवल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको जनादेशसहित नयाँ सरकार गठनको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिका सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले विगतका सरकारहरूले योग्यता, क्षमता र विषयगत दक्षताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको भन्दै त्यसप्रति नागरिक तहमा असन्तुष्टि रहेको बताएका छन्।
लोकसारथिसँग कुरा गर्दै उनले भने, “हामीले औपचारिक रूपमा राजनीतिक नियुक्ति पाएकाहरूलाई तत्काल राजीनामा दिन भनिसकेका छैनौं। सरकार निर्माणको प्रक्रिया नै बाँकी छ। तर अघिल्ला सरकारले नियुक्ति गर्दा व्यक्तिको योग्यता र क्षमता हेर्नेभन्दा पनि दलका कार्यकर्ता तथा आफ्ना निकटका व्यक्तिलाई लाभ दिने प्रवृत्ति देखिएको छ। त्यसप्रति नागरिकको असन्तुष्टि रहेको छ।”
उनका अनुसार नयाँ जनादेशबाट बन्ने सरकारले पनि त्यही नियुक्तिलाई निरन्तरता दिँदा पुरानै प्रणालीलाई कायम राखेजस्तो देखिने भएकाले राजनीतिक नियुक्ति पाएकाहरूले स्वस्फूर्त रूपमा मार्ग प्रशस्त गर्नु उचित हुने पार्टीको अपेक्षा रहेको छ।
बुर्लाकोटीले पार्टी वा सरकारले एकैपटक राजीनामा दिन औपचारिक आह्वान गर्ने विषयमा भने हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारे। विगतमा राजदूत फिर्ता बोलाउने, संस्थान वा सरकारी निकायमा नियुक्त व्यक्तिहरूलाई पदबाट हटाउने अभ्यास भए पनि यसपटक कस्तो नीति अपनाउने भन्ने विषयमा पार्टीले औपचारिक छलफल सुरु गरिसकेको छैन।
उनका अनुसार अनौपचारिक रूपमा बुझ्दा अघिल्ला सरकारहरूले गरेका राजनीतिक नियुक्ति करिब १ हजार १०० हाराहारी रहेको अनुमान पार्टीले गरेको छ।
“यदि उनीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिए भने नयाँ सरकारले योग्य, क्षमतावान् र विषयविज्ञ व्यक्तिहरूलाई जिम्मेवारी दिन सक्नेछ,” उनले भने, “त्यसले नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्न मद्दत पुग्नेछ।”
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइनिकट बहुमत हासिल गरेको छ। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिट जितेको छ।
रास्वपाका तर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहले आगामी चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने तयारी भएको छ। त्यसअघि चैत १२ गते उनलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने कार्यक्रम तय गरिएको छ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल ले संविधानको धारा ७६(१) अनुसार शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
