logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

केराटिन : सौन्दर्य कि जोखिम ?

केराटिन : सौन्दर्य कि जोखिम ?

नेपाली महिलामाझ बढ्दो हेयर ट्रेन्डबारे ब्यूटिसियन ऋतु खातीसँग विशेष अन्तर्वार्ता


  • बुधबार, जेष्ठ १३ २०८३
  • 1.2K
    SHARES

    नेपालमा पछिल्ला वर्षहरूमा केराटिन हेयर ट्रिटमेन्टको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ। तर, यससँगै न्यून अनुभव भएका तथा केवल आधारभूत तालिम लिएर सेवा दिन थालेका व्यक्तिहरूको संख्या पनि बढ्दो छ। सौन्दर्य विज्ञहरूका अनुसार केराटिन सामान्य फेसियल वा हेयरकटजस्तो साधारण प्रक्रिया होइन, यो केमिकल र हिटसँग सम्बन्धित संवेदनशील ट्रीटमेन्ट हो। गलत प्रोडक्ट, गलत टेक्निक वा अनुभवहीन व्यक्तिबाट गरिएको केराटिनले कपाल झन् बिग्रिने, हेयरफल बढ्ने, स्काल्प ड्यामेज हुने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउन सक्छ। त्यसैले ग्राहक स्वयं पनि सचेत बन्न आवश्यक छ। विशेषगरी कम्तीमा ४–५ वर्ष व्यावसायिक अनुभव भएका दक्ष ब्यूटिसियनसँग परामर्श गरेर मात्र केराटिन ट्रीटमेन्ट गराउनु सुरक्षित र उपयुक्त मानिन्छ।

    नेपालका सहरदेखि साना बजारसम्म अहिले “केराटिन” हेयर ट्रीटमेन्ट निकै लोकप्रिय बन्दै गएको छ। घुंग्रिएको, फुस्रो, ड्राइ तथा फ्रिजी कपाललाई चम्किलो, सिल्की र व्यवस्थापन गर्न सजिलो बनाउने दाबीका कारण धेरै युवती तथा कामकाजी महिलाहरू यसतर्फ आकर्षित भइरहेका छन्। तर, केराटिन वास्तवमै कति सुरक्षित छ रु यसको फाइदा र बेफाइदा के हुन् रु नेपालजस्तो धुलो, प्रदूषण र मौसमीय विविधता भएको देशमा यसको प्रभाव कस्तो हुन्छ ?

    यिनै विषयमा सौन्दर्य क्षेत्रमा लामो अनुभव भएकी ब्यूटिसियन Ritu Khati सँग लोकसारथि डटकमले विशेष कुराकानी गरेको छ।

    प्रश्न : केराटिन भनेको वास्तवमा के हो ?

    रितु:

    केराटिन हाम्रो कपाल, नङ र छालामा प्राकृतिक रूपमा पाइने प्रोटिन हो। जब कपाल धेरै केमिकल, धुलो, प्रदूषण, स्ट्रेटनर, कलर वा गलत स्याम्पुका कारण कमजोर हुन्छ, तब केराटिनको मात्रा घट्छ। केराटिन ट्रीटमेन्टले त्यही हराएको प्रोटिनलाई बाहिरबाट पुनः पूर्ति गरेर कपाललाई स्मुथ, चम्किलो र व्यवस्थापन गर्न सजिलो बनाउने प्रयास गर्छ।

    प्रश्न : नेपालमा किन केराटिनको ट्रेन्ड यति छिटो बढिरहेको छ ?

    रितु :

    आजकाल महिलाहरू धेरै व्यस्त छन्। दैनिक पार्लर गएर सेटिङ गर्न समय हुँदैन। केराटिन गरेपछि कपाल लामो समयसम्म मिलेको जस्तो देखिन्छ। साथै टिकटक, इन्स्टाग्राम र युट्युबका कारण पनि यसको प्रचार धेरै भएको छ। विवाह, फोटोसुट, विदेश जाने तयारी वा अफिसियल लुकका लागि धेरैले केराटिन रोजिरहेका छन्।

    प्रश्न : केराटिन र रिबन्डिङबीच मुख्य फरक के हो ?

    रितु :

    धेरैले यी दुईलाई एउटै ठान्नुहुन्छ, तर फरक छ। रिबन्डिङ ले कपाललाई पूर्ण रूपमा स्ट्रेट बनाउँछ। केराटिन ले कपाललाई नेचुरल राख्दै फ्रिज कम गर्छ र सफ्ट बनाउँछ।रिबन्डिङमा कपाल बढी ड्यामेज हुने सम्भावना हुन्छ भने केराटिन तुलनात्मक रूपमा सौम्य मानिन्छ। तर, गलत प्रोडक्ट वा अत्यधिक हिट प्रयोग गरियो भने केराटिनले पनि हानि गर्न सक्छ।

    प्रश्न :  रिबन्डिङ  के हो ?

    रितु :

    रिबन्डिङ (Rebonding) भनेको कपाललाई स्थायी रूपमा सिधा (Straight) बनाउने एक प्रकारको केमिकल हेयर ट्रीटमेन्ट हो। यस प्रक्रियामा कपालको प्राकृतिक संरचना (Hair bonds) लाई केमिकल प्रयोग गरेर तोडिन्छ र फेरि नयाँ रूपमा सिधा बनाइन्छ। त्यसपछि स्ट्रेटनरको उच्च ताप प्रयोग गरेर कपाललाई पूर्ण रूपमा सीधा र चम्किलो बनाइन्छ। यदि कसैको कपाल घुँघरालो, वेभी वा धेरै फ्रिजी छ भने रिबन्डिङपछि त्यो कपाल “पिन–स्ट्रेट” अर्थात् एकदम सीधा देखिन्छ।

    प्रश्न स्केराटिन र रिबन्डिङबीच मुख्य फरक के छ ?

    रितु:

    प्रश्न : केराटिन गर्दा कति समय लाग्छ ?

    रितु :

    कपालको लम्बाइ र ड्यामेज अनुसार २ घण्टादेखि ५ घण्टासम्म लाग्न सक्छ। पहिले हेयर वास, त्यसपछि केराटिन प्रोडक्ट एप्लाइ, ब्लो ड्राइ र अन्त्यमा स्ट्रेटनर प्रयोग गरिन्छ।

    प्रश्न : यसको प्रभाव कति समय टिक्छ ?

    रितु :

    सामान्यतया ३ देखि ६ महिनासम्म टिक्न सक्छ। तर यो व्यक्तिको हेयर केयरमा निर्भर हुन्छ। सल्फेट–फ्री स्याम्पु प्रयोग नगरेमा चाँडै असर हराउन सक्छ। धेरै पटक पौडी खेल्ने, धेरै पसिना आउने वा बारम्बार हेयर वास गर्नेहरूमा यसको अवधि कम हुन सक्छ।

    प्रश्न : नेपालजस्तो मौसममा केराटिन कति उपयोगी छ ?

    रितु :

    काठमाडौंजस्तो प्रदूषित सहरमा वा तराईको गर्मी र चिस्यानयुक्त क्षेत्रमा कपाल धेरै फ्रिजी हुन्छ। केराटिनले त्यस्तो कपाललाई केही समय नियन्त्रणमा राख्न मद्दत गर्छ। विशेषगरी वर्षायाममा यसको माग धेरै बढ्छ।

    प्रश्न : केराटिनका मुख्य फाइदाहरू के–के हुन् ?

    रितु:

    स्कपाल चम्किलो र स्मुथ देखिन्छ, फ्रिज कम हुन्छ, हेयर म्यानेज गर्न सजिलो हुन्छ, ब्लो ड्राइ समय घट्छ, कपाल बाक्लो र स्वस्थ जस्तो देखिन्छ, स्प्लिट एन्ड अस्थायी रूपमा कम देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि केराटिनले कपाललाई स्मुथ र म्यानेजेबल बनाउने देखाएका छन्।

    प्रश्न : यसको जोखिम पनि हुन्छ ?

    रितु:

    अवश्य हुन्छ। सबैलाई खुलेर भन्नुपर्छ। कतिपय केराटिन प्रोडक्टमा फर्माल्डिहाइड नामक रसायन हुन्छ। यसले आँखामा पोल्ने, टाउको दुख्ने, घाँटी पोल्ने, सास फेर्न गाह्रो हुने समस्या ल्याउन सक्छ। लामो समय लगातार एक्सपोज हुँदा स्वास्थ्य जोखिम पनि हुन सक्छ। त्यसैले राम्रो ब्रान्ड र राम्रो भेन्टिलेसन भएको पार्लर छान्नुपर्छ।

    प्रश्न : गर्भवती महिलाले केराटिन गर्न मिल्छ ?

    रितु:

    म व्यक्तिगत रूपमा सिफारिस गर्दिनँ। विशेष गरी पहिलो तीन महिना रसायनबाट टाढा रहनु राम्रो हुन्छ। चिकित्सकसँग सल्लाह लिएर मात्र निर्णय लिनुपर्छ।

    प्रश्न : नेपालमा धेरै पार्लरले सस्तो अफरमा केराटिन गरिरहेका हुन्छन्। त्यसबारे तपाईंको धारणा ?

    रितु :

    यो निकै संवेदनशील विषय हो। धेरै ठाउँमा कम गुणस्तरको प्रोडक्ट प्रयोग भइरहेको देखिन्छ। ग्राहकले केवल “सस्तो” हेर्नु हुँदैन। कुन ब्रान्ड प्रयोग हुँदैछ, एक्सपायरी डेट के हो, स्टाफ प्रशिक्षित छ कि छैन — यी कुरा हेर्नुपर्छ। कहिलेकाहीँ सस्तो अफरले कपाल स्थायी रूपमा बिगार्न सक्छ।

    प्रश्न : केराटिनपछि कपालको हेरचाह कसरी गर्नुपर्छ ?

    रितु:

    २–३ दिनसम्म कपाल नधुने, सल्फेट–फ्री स्याम्पु प्रयोग गर्ने, धेरै टाइट बाँध्ने स्टाइल नगर्ने, समुद्री पानी वा क्लोरिनयुक्त पानीबाट बच्ने, अत्यधिक हिट टुल प्रयोग नगर्ने  । विशेषज्ञहरूले पनि केराटिनपछि सल्फेट–फ्री उत्पादन प्रयोग गर्न सुझाव दिएका छन्।

    प्रश्न : पुरुषहरू पनि केराटिन गराउँछन् ?

    रितु :

    अहिले त धेरै पुरुष ले पनि केराटिन मन पराउनुहुन्छ । विशेष गरी लामो वा कर्ली हेयर भएका युवा, मोडलिङ गर्नेहरू र विदेश जाने युवाहरूमा यसको क्रेज बढेको छ।

    प्रश्न : कस्ता व्यक्तिले केराटिन नगर्दा राम्रो ?

    रितु:

    अत्यधिक हेयरफल भएकाहरू, धेरै ब्लीच वा कलरले ड्यामेज भएको कपाल, स्काल्प एलर्जी भएकाहरू, दम वा श्वासप्रश्वास समस्या भएकाहरू र गर्भवती महिला यस्ता व्यक्तिले पहिले विशेषज्ञसँग सल्लाह गर्नुपर्छ।

    प्रश्न : अन्त्यमा, केराटिन गर्न चाहने नेपाली महिलाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

    रितु :

    सुन्दर देखिनु राम्रो कुरा हो, तर स्वास्थ्यभन्दा ठूलो केही हुँदैन। फेसन पछ्याउँदा आफ्नो कपालको वास्तविक अवस्था बुझ्नुपर्छ। राम्रो पार्लर, राम्रो प्रोडक्ट र सही जानकारीबिना केराटिन गर्नु हुँदैन। प्राकृतिक कपाललाई माया गर्न सिक्नुपर्छ। केराटिन समाधान हो, तर स्थायी चमत्कार होइन।

    “Formaldehyde-Free” लेखिएको मात्र भर नपर्नुहोस्, इन्ग्रिडियन्ट लिस्ट पढ्ने बानी बसाल्नुहोस्, अत्यधिक तीव्र गन्ध आउने प्रोडक्टप्रति सचेत हुनुहोस्, अन्तर्राष्ट्रिय रूपमा प्रमाणित ब्रान्ड रोज्नुहोस्, धेरै सस्तो प्याकेजमा शंका गर्नुहोस्, पार्लरसँग प्रयोग हुने प्रोडक्ट देखाउन अनुरोध गर्न सक्नुहुन्छ, सुन्दर कपाल चाहनु स्वाभाविक हो, तर सुरक्षित तरिकाले सुन्दर बन्नु अझ महत्वपूर्ण कुरा हो।

    ब्युटिशियन रितु खातीअनुसार केराटिन आधुनिक हेयर केयरको लोकप्रिय विकल्प बने पनि यसलाई बुझेर मात्र अपनाउनुपर्ने देखिन्छ। खातीका अनुसार यसले कपाललाई केही समयका लागि आकर्षक र व्यवस्थापन गर्न सजिलो बनाउँछ, तर गलत प्रयोगले स्वास्थ्य र कपाल दुवैमा असर गर्न सक्छ। नेपालमा बढ्दो सौन्दर्य चेतनासँगै सुरक्षित सौन्दर्य अभ्यास पनि उत्तिकै आवश्यक देखिन्छ।

    प्रकाशित : बुधबार, १३ जेष्ठ २०८३ , १२:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend