logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीयः रागश्री संगीतालयको प्रस्तुति : ‘के पिएछु हिजो मैले’ को चिरफार

सम्पादकीयः रागश्री संगीतालयको प्रस्तुति : ‘के पिएछु हिजो मैले’ को चिरफार


  • आइतबार, जेष्ठ ३१ २०८३
  • 2.1K
    SHARES

    सम्पादकीय

    कला र साहित्यको सबैभन्दा ठूलो शक्ति भनेकै जीवनका गहिरा सत्यलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गर्नु हो। जब कुनै गीतले केवल कानलाई मात्र होइन, मन र चेतनालाई समेत स्पर्श गर्छ, तब त्यो सिर्जना मनोरञ्जनको सीमाभन्दा माथि उठेर सामाजिक दस्तावेज बन्न पुग्छ। रागश्री संगीतालयद्वारा प्रस्तुत गीत–भिडियो ‘के पिएछु हिजो मैले’ यस्तै एउटा सिर्जना हो, जसले पारिवारिक सम्बन्ध, गलत निर्णय, पश्चात्ताप र पुनर्मिलनको अत्यन्त मार्मिक कथा बोकेको छ।

    परिवार केवल चारवटा पर्खाल, एउटा छाना, केही कोठा, राशनपानी र सन्तानोत्पत्ति व्यवस्थाको नाम होइन। परिवार विश्वासको घर हो, प्रेमको आश्रय हो र सम्मानको मन्दिर हो। जहाँ एकअर्काको कमजोरीलाई सजाय होइन, सहानुभूतिले हेरिन्छ। जहाँ संवादले समस्या समाधान गर्छ र प्रेमले सम्बन्धलाई जीवन्त राख्छ। तर जब संवाद हराउँछ र क्षणिक आवेगले विवेकलाई ढाक्छ, तब सुखी देखिने परिवार पनि विखण्डनको यात्रामा निस्किन सक्छ।

    ‘के पिएछु हिजो मैले’ को कथावस्तु यस्तै यथार्थको चित्रण हो। साथीभाइको लहैलहैमा परेर जीवनमा पहिलो पटक मादक पदार्थ सेवन गरेका एक गृहस्थ घर फर्किन्छन्। सायद त्यो उनको रहरभन्दा बढी साथीहरूको कर र दबाबको परिणाम थियो। तर घरमा उनको अवस्था देखेपछि श्रीमती आक्रोशित बन्छिन्। रिसको आवेगमा बोलिएका केही रुखा शब्दले परिस्थिति झन् जटिल बनाइदिन्छ। सम्मानको अपेक्षा राखेको मन चोटिल बन्छ र ती गृहस्थ घर छोड्न बाध्य हुन्छन्।

    यहीँबाट एउटा परिवारको दुःखद यात्रा सुरु हुन्छ। जुन मदिरा एक दिनको प्रयोगमा सीमित हुनुपर्ने थियो, त्यही मदिरा बिस्तारै उनको जीवनको सहारा बन्छ। सुरुमा परिस्थितिबाट भाग्न पिइएको मदिरा पछि बानी बन्छ र अन्ततः विनाशको कारण। घरबाट टाढा, परिवारबाट अलग र आत्मीयताबाट वञ्चित बनेका ती व्यक्ति सडकमा भौतारिन थाल्छन्। शरीर कमजोर बन्छ, स्वास्थ्य बिग्रिन्छ र जीवनप्रतिको आशा हराउँदै जान्छ।

    परिवार विखण्डित हुँदा सबैभन्दा ठूलो पीडा केवल श्रीमान–श्रीमतीले मात्र भोग्दैनन्, त्यसको असर सन्तानको भविष्यमा पनि गहिरो गरी पर्छ। आमाबाबुको सम्बन्धमा आएको दरारले बालमनमा जीवनभर मेट्न नसकिने घाउ छोड्न सक्छ। भिडियोले यही यथार्थलाई संवेदनशील ढंगले उजागर गरेको छ।

    कथाले चरम मार्मिक मोड तब लिन्छ, जब अत्यधिक मदिरा सेवन र स्वास्थ्य समस्याका कारण ती व्यक्तिको मुखबाट रक्तस्राव हुन थाल्छ। सडक किनारमा बसेर खोकीरहेका उनलाई केही नर्सहरूले देख्छन् । मुखबाट रक्तस्राव भएको पाएपछि अस्पताल पुर्‍याउँछन्। उपचार सुरु हुन्छ। लामो समयदेखि बेवारिसे जस्तै बनेका उनको दाह्री र कपाल काटिन्छ। अस्तव्यस्त जीवनको धुलो केही हट्न थाल्छ।

    तर त्यसपछि घट्ने घटना केवल संयोग मात्र होइन, भावनाको विस्फोट हो भन्दा अतिशयोक्ति नहोला । उपचारमा संलग्न एक नर्सले उनको अनुहार नियाल्छिन्। कतै देखेजस्तो लाग्छ। ध्यानपूर्वक हेर्दै जाँदा उनी स्तब्ध बन्छिन्। ती बिरामी अरू कोही होइनन्, उनका आफ्नै बाबु थिए। विडम्बना के थियो भने केही समयअघि सडकमा भेटेर साथीहरूको सहयोगमा अस्पताल पुर्‍याउने काम पनि उनैले गरेकी थिइन्, तर त्यतिबेला बाबुको अवस्था यति बिग्रिएको थियो कि चिन्न सकिनन्।

    सत्य खुल्नेबित्तिकै छोरी भावविह्वल बन्छिन्। बाबुलाई अंगालो हालेर रुन थाल्छिन्। मोबाइलमा सानो छँदा बाबु–आमासँग खिचिएको पारिवारिक तस्वीर देखाउँछिन्। त्यो तस्वीर केवल एउटा फोटो होइन, विखण्डित परिवारको इतिहास थियो। हराएको सम्बन्धको स्मृति थियो। बिर्सिएको ममता र हराएको अपनत्वको प्रतीक थियो।

    त्यो क्षणमा बाबुको आँखाबाट पनि पश्चात्तापका आँसु बग्छन्। वर्षौंको दूरी एकैपटक पग्लिन्छ। छोरीले बाबुलाई भेट्छिन्, बाबुले छोरीलाई भेट्छन्। छोरीबाबु मिलेर घर जान्छन् । दम्पत्ति एकअर्कालाई देखेर हर्षित बन्छन् । अन्ततः परिवार पुनर्मिलनको खुसीमा बाँधिन्छ।

    गीतको कथाले एउटा गम्भीर सामाजिक सन्देश दिन्छ—गल्ती एउटा व्यक्तिबाट हुन सक्छ, तर त्यसको असर पूरै परिवारले भोग्नुपर्छ। त्यस्तै, क्षमाशीलता र प्रेमले चाहे जति गहिरो घाउ पनि निको पार्न सक्छ। सम्बन्ध टुट्नु सजिलो छ, जोडिन कठिन छ। तर जब सम्बन्ध जोडिन्छ, त्यसले जीवनलाई पुनः अर्थ दिन्छ।

    स्वर्गीय लवकुमार थापाको शब्दले यही पीडा, आत्मग्लानि र आशाको भावलाई उत्कृष्ट रूपमा अभिव्यक्त गरेको छ। संगीतकार सुरेश सेन्चुरीको स्वर, संगीत तथा एरेन्जले गीतलाई थप जीवन्त बनाएको छ। दीप तुलाधरको रेकर्डिङ र मिक्सिङ, भुवन गन्धर्व को तबला, गोपाल घतानेको बाँसुरी र सञ्जीव बराइलीको गिटारले भावनात्मक वातावरणलाई अझ प्रभावकारी बनाएका छन्।

    निर्देशक रविन्द्र बरालले कथालाई केवल दृश्यमा रूपान्तरण गरेका छैनन्, उनले भावनालाई पर्दामा उतारेका छन्। रामचन्द्र बस्याल, तारा ओली, शबनम काफ्ले तथा बाल कलाकार राजवी पाण्डे लगायतका कलाकारहरूको अभिनयले कथा वास्तविक जीवनकै घटनाजस्तो अनुभूति गराउँछ। हरिश महरा को छायांकन र सज्जन अधिकारीको सम्पादनले कथाको भावप्रवाहलाई प्रभावशाली बनाएको छ।

    आजको समाजमा पारिवारिक विखण्डन, नशाको दुरुपयोग, संवादहीनता र मानसिक तनावका समस्या बढिरहेका बेला ‘के पिएछु हिजो मैले’ जस्ता सिर्जनाहरू केवल सांगीतिक प्रस्तुति होइनन्, सामाजिक चेतनाका अभियान पनि हुन्। यसले दर्शकलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ—क्षणिक आवेगमा बोलेका शब्द र गरिएका निर्णयले कतै हामी आफ्नै परिवारलाई टाढा धकेलिरहेका त छैनौं ?

    गीतले अन्ततः निराशा होइन, आशा दिन्छ। यसले देखाउँछ कि पश्चात्तापको आँसुमा पनि सम्बन्ध पुनर्जीवित गर्ने शक्ति हुन्छ। प्रेम, क्षमा र आत्मबोध बाँकी छ भने कुनै पनि परिवार पूर्ण रूपमा हराउँदैन।

    ‘के पिएछु हिजो मैले’ एउटा गीत मात्र होइन, सम्बन्धको मूल्य बुझाउने, नशाको दुष्परिणाम सम्झाउने र परिवारको महत्व पुनः स्थापित गर्ने संवेदनशील सामाजिक दस्तावेज हो। यस्तो सन्देशमूलक सिर्जनाले समाजलाई मनोरञ्जनसँगै आत्ममन्थनको अवसर प्रदान गरिरहेको छ, जुन आजको समयको महत्वपूर्ण आवश्यकता हो।

    प्रकाशित : आइतबार, ३१ जेष्ठ २०८३ , ०१:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend