logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

युवतीलाई पोलमा बाँधेर मोसो दलेको आरोपमा पाँच जना पक्राउ

युवतीलाई पोलमा बाँधेर मोसो दलेको आरोपमा पाँच जना पक्राउ


  • सोमबार, असार १ २०८३
  • 1.1K
    SHARES

    झापा, असार १ । विर्तामोड नगरपालिका–२ चारेपाने चोकमा एक २१ वर्षीया युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दलेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय, अनारमनीका असई नम्भुकुमार माझीका अनुसार जेठ २९ गते भएको उक्त घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ का १८ वर्षीय समीर मुर्मु, २० वर्षीया सविना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १९ वर्षीया पूजा बस्नेत तथा विर्तामोड नगरपालिका–२ की ४४ वर्षीया मञ्जु हस्दालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार पीडित युवतीको चरित्र हत्या हुने आशयले तयार पारिएका १६ थान पम्प्लेटसमेत बरामद गरिएको छ। स्थानीयवासीले युवतीलाई पाँच जनाको समूहले मोसो दलेको जानकारी इलाका प्रहरी कार्यालय, अनारमनीमा गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

    प्रारम्भिक अनुसन्धानबाट व्यक्तिगत रिसइवीका कारण उक्त घटना भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक महिलाले आफ्ना पतिसँग पीडित युवतीले अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै अन्य व्यक्तिहरूसँग मिलेर अमानवीय व्यवहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको असई माझीले जानकारी दिनुभयो।

    घटनापछि घाइते तथा मानसिक रूपमा आहत भएकी युवतीको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मानव अधिकार तथा कानुनी दृष्टिले गम्भीर मानिने यस प्रकारको अमानवीय व्यवहारमा संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रकाशित : सोमबार, १ असार २०८३ , ०१:१३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend