logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: पेट्रोल पम्प छिटो बन्द र डिजिटल भुक्तानी नहुँदाको समस्या

सम्पादकीय: पेट्रोल पम्प छिटो बन्द र डिजिटल भुक्तानी नहुँदाको समस्या

विशाल पेट्रोल पम्पका सञ्चालक विशालको मानवीय व्यवहार


  • शुक्रबार, असार ५ २०८३
  • 884
    SHARES

    सम्पादकीय

    डिजिटल भुक्तानी प्रणालीको व्यापक विस्तारसँगै नेपालमा नगदविहीन कारोबार दिनप्रतिदिन बढ्दै गएको छ। तर केही सेवाहरूमा अझै पनि नगदको अनिवार्यता रहँदा सर्वसाधारणले कस्तो सास्ती भोग्नुपर्छ भन्ने एउटा प्रतिनिधिमूलक घटना तिलोत्तमा नगरपालिका–२ स्थित सीताराइस मिल नजिक रहेको विशाल पेट्रोल पम्पमा बुधबार राति देखिएको छ।

    रातिको करिब ८ बजेको समय थियो। एक बाइक चालक आफ्नो मोटरसाइकलमा पेट्रोलको अन्तिम थोपा पनि सकिएपछि जसोतसो गरेर विशाल पेट्रोल पम्पसम्म पुगे। तर त्यहाँ पुगेपछि उनले थाहा पाए कि पेट्रोल वितरण गर्ने मेशिनको शटर बन्द भइसकेको छ। पम्पमा एक जना कर्मचारी मात्र ड्युटीमा थिए।

    चालकले डिजिटल माध्यमबाट अर्थात् क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गरी पेट्रोल लिन चाहेको बताए। तर कर्मचारीले पम्प बन्द भइसकेकाले आफूले त्यस्तो व्यवस्था गर्न नसक्ने जानकारी दिए। बरु उनले नजिकैको नास्ता पसलमा गएर क्यूआरमार्फत पैसा पठाई नगद ल्याउन सुझाव दिए। कारण थियो पम्पको वाइफाइले सपोर्ट नगर्नु । पम्पको क्यूआरले काम नगरेको अवस्था ।

    समस्या समाधान हुने आशामा चालक नजिकै रहेको श्रीनगर खाजा घर एण्ड परौठा हाउस पुगे। त्यहाँ केही ग्राहकहरू खानपिनमा व्यस्त थिए भने सञ्चालिका भान्साको काममा व्यस्त थिइन्। नगदको आवश्यकता बताएर क्यूआरमार्फत रकम पठाउने प्रस्ताव राख्दा उनले पनि नगद नभएको जवाफ दिइन्। “आजभोलि त एक खिली चुरोटको पैसा पनि क्यूआरबाट आउँछ, नगद राख्ने चलन नै हराउँदै गएको छ,” उनले भनिन्।

    त्यसपछि चालक होटल छेउमै रहेको न्यू फेशन टेलर्समा पुगे। त्यहाँका सञ्चालकसँग पनि पाँच सय रुपैयाँ नगद माग्दै आफूले सो रकम क्यूआरबाट पठाइदिने प्रस्ताव राखे। तर टेलर्स सञ्चालकले पनि अहिले अधिकांश कारोबार डिजिटल माध्यमबाट हुने भएकाले नगद नभएको बताए।

    लगातार प्रयास गर्दा पनि नगदको व्यवस्था हुन नसकेपछि चालक पुनः विशाल पेट्रोल पम्पमा फर्किए। त्यहाँका कर्मचारीले उनको अवस्थाप्रति सहानुभूति व्यक्त गरे । पेट्रोल वितरण समय आठ बजे सकिएको अवस्थामा समेत सहयोग गर्न इच्छुक भएता पनि भुक्तानीको आधारबिना पेट्रोल दिन नसकिने बाध्यता सुनाए।

    अन्ततः कर्मचारीले पेट्रोल पम्पका सञ्चालक विशाललाई फोन गरेर बोलाए। पम्पकै पछाडि रहेको निवासबाट तत्काल पुगेका विशालले चालकलाई देख्नासाथ  अभिवादन गरे। दुई दशकभन्दा लामो परिचय र विश्वासको सम्बन्धका कारण उनले कर्मचारीलाई निर्देशन दिए, “अंकल सरलाई पेट्रोल हालिदिनुस्, हिसाब भोलि मिलाइहाल्नुहुन्छ।”

    उनले ग्राहकको समस्यालाई आफ्नो समस्या ठानेर तत्काल समाधान गरिदिए। कर्मचारीले एक हजार रुपैयाँ बराबरको पेट्रोल भरिदिए र चालक आफ्नो गन्तव्यतर्फ लागे। विश्वासको सम्मान गर्दै चालकले करिब १५ मिनेटभित्रै नगद एक हजार रुपैयाँ लिएर फर्किए र कर्मचारीलाई रकम बुझाए।

    यसबीच पेट्रोल भर्न आएका अन्य चार जना बाइक चालकले पनि निराश भएर फर्किनुपरेको अवस्था देखियो। तीमध्ये एक जना सिटिजन्स बैंकका कर्मचारी समेत रहेका थिए। उनले “टोकन भएकालाई त पेट्रोल पाइन्छ होला नि?” भन्दै जिज्ञासा राखे पनि उनले समेत इन्धन प्राप्त गर्न सकेनन्। एक व्यक्ति पम्पमा मोटरसाइकल रोकेर आफू अस्पताल जाँदै गरेको बताउँदै बाटोमा इन्धन सकिन सक्ने सम्भावन व्यक्त गरे । उनी पनि इन्धन बिना अगाडि बढ्नुपर्‍यो ।

    यो घटनाले नेपालमा डिजिटल भुक्तानी प्रणाली तीव्र गतिमा विस्तार भए पनि कतिपय अत्यावश्यक सेवाहरूमा अझै पूर्णरूपमा एकीकृत व्यवस्था नहुँदा नागरिकले भोग्नुपरेको कठिनाइ उजागर गरेको छ। बजारमा नगदको प्रयोग घट्दै गएको छ, तर कतिपय सेवा प्रदायकहरू अझै पनि नगदमा निर्भर छन्। यस्तो अवस्थामा आकस्मिक आवश्यकतामा सर्वसाधारण अप्ठ्यारोमा पर्न सक्छन्।

    यस घटनामा सबैभन्दा प्रशंसनीय पक्ष भनेको विशाल पेट्रोल पम्पका सञ्चालक विशालको मानवीय व्यवहार हो। नियम र प्रक्रियाको सीमाभित्र रहेर पनि उनले विश्वास, सम्बन्ध र मानवीय संवेदनशीलतालाई प्राथमिकता दिए। आजको यान्त्रिक र व्यवसायिक युगमा ग्राहकलाई केवल ग्राहक नभई आफ्नो चिनजानको व्यक्ति र समाजको सदस्यका रूपमा हेर्ने यस्तो व्यवहार दुर्लभ बन्दै गएको छ।

    एक कठिन परिस्थितिमा उनले देखाएको सहयोगले केवल एक जना बाइक चालकलाई गन्तव्यसम्म पुग्न मद्दत गरेन, बरु समाजमा अझै पनि विश्वास, आत्मीयता र मानवीय सम्बन्ध जीवित छन् भन्ने सन्देश समेत दिएको छ।

    डिजिटल कारोबारको युगमा यो घटना केवल पेट्रोल भर्ने समस्या मात्र होइन, प्रविधि र मानवीय संवेदनशीलताको सन्तुलन कति आवश्यक छ भन्ने एउटा जीवन्त उदाहरण बनेको छ। अत्यावश्यक कार्यका लागि इन्धनमा आश्रित सवारीसाधन लिएर हिँडेका व्यक्तिहरूले इन्धन नपाउँदा संकट बेहोर्नुपर्ने अवस्था मात्र होइन, इन्धन वितरकहरूको सामाजिक उत्तरदायित्व र नैतिकतामाथि समेत प्रश्न उठ्ने देखिन्छ। यद्यपि पेट्रोल पम्पमा इन्धन वितरण निश्चित समयसम्म मात्र हुने जानकारीका आधारमा सेवाग्राहीहरूले समयमै आफ्ना सवारीसाधनमा इन्धन भर्ने आवश्यकतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा पनि सचेत रहनुपर्छ भन्ने सन्देश यस घटनाले स्पष्ट पारेको छ।

    पम्प सञ्चालकहरूले सम्भव भएसम्म इन्धन वितरणको समय डेढ–दुई घण्टा थप गर्न सकेका भए अत्यावश्यक अवस्थामा पुगेका सेवाग्राहीहरू निराश हुनुपर्ने परिस्थिति टार्न सकिन्थ्यो।

    प्रकाशित : शुक्रबार, ५ असार २०८३ , ०८:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend