लोकसारथि संवाददाता, बुटवल ।
बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन्। निर्वाचन आयोगले सोमबार जारी गरेको सूचनामार्फत दल त्याग गरेको आधारमा उनको पद रिक्त भएको घोषणा गरेको हो।
ढकाल २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचन आयोगका अनुसार उनी पछि नेकपा (माओवादी केन्द्र) सँग आबद्ध रहेको पुष्टि भएपछि दल परित्यागसम्बन्धी कानुनी व्यवस्था आकर्षित भएको हो।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा स्थानीय तह सदस्य निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा वा अर्को दलमा आबद्ध भएमा पद स्वतः रिक्त हुने व्यवस्था रहेको जनाएको छ। सोही व्यवस्थाअनुसार ढकालको पद रिक्त गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगको निर्णयअनुसार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा र नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन पनि पदमुक्त भएका छन्। आयोगले सम्बन्धित राजनीतिक दलबाट प्राप्त जानकारी, कानुनी प्रक्रिया तथा आवश्यक अध्ययनपछि उक्त निर्णय गरेको जनाएको छ।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी कानुनले जनप्रतिनिधिलाई निर्वाचित गराएको दल परित्याग गरी अर्को दलमा लागेमा पद जोगाइराख्न नपाउने व्यवस्था गरेको छ। यसअघि पनि विभिन्न स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू दल परिवर्तनका कारण पदमुक्त भएका उदाहरण छन्।
यस निर्णयसँगै बुटवल–३ को वडाध्यक्ष पद औपचारिक रूपमा रिक्त भएको छ। हालको कानुनी व्यवस्थाअनुसार स्थानीय तहको कार्यकाल समाप्त हुन एक वर्षभन्दा कम अवधि बाँकी रहेकाले उक्त पदमा तत्काल उपनिर्वाचन हुने सम्भावना न्यून रहेको निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाले देखाउँछ।
बुटवल–३ मा अब वडास्तरीय प्रशासनिक तथा विकाससम्बन्धी कामकाज कसरी व्यवस्थापन हुने भन्ने विषयमा उपमहानगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
