रुपन्देही , आषाढ १६ — ब्रह्मलीन परमपूज्य गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको भौतिक शरीर शान्त भएपछि रिक्त रहेको दुर्गा वैदिक संस्कृत विद्यापीठको आश्रमाधिपतिको आसनमा डा। स्वामी विमलानन्द सरस्वती महाराज विधिवत् पट्टाभिषिक्त हुनुभएको छ।
आषाढ १५ गते पूर्णिमाको पावन अवसरमा आयोजित विशेष धार्मिक समारोहमा अनन्तश्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजको पावन सान्निध्यमा सम्पन्न पट्टाभिषेकमार्फत डा. स्वामी विमलानन्द सरस्वती महाराजले आश्रमाधिपतिको जिम्मेवारी ग्रहण गर्नुभएको हो।
समारोहमा गुरु–शिष्य परम्पराको निरन्तरता, वैदिक शिक्षा, संस्कृत भाषा तथा सनातन धर्मको संरक्षण र प्रवर्द्धनप्रति अटल प्रतिबद्धता व्यक्त गरिएको थियो। उपस्थित गुरु–परिवार, श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूले नवआश्रमाधिपतिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले विद्यापीठलाई थप उँचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
नवनियुक्त आश्रमाधिपति डा. स्वामी विमलानन्द सरस्वती महाराजबाट गुरुदेवको तप, त्याग, सेवा, आध्यात्मिक मार्गदर्शन तथा लोककल्याणको महान् परम्परालाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने अपेक्षा गरिएको छ। साथै संस्कृत शिक्षा, शास्त्र संरक्षण, गुरुकुल परम्पराको सुदृढीकरण तथा राष्ट्र र समाजको नैतिक एवं आध्यात्मिक उत्थानमा उहाँको नेतृत्व प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी सनातन धर्मप्रेमीहरूले गुरु–परम्पराको अविच्छिन्न निरन्तरतासँगै सनातन धर्मको विरासत, संस्कृत संस्कृति तथा वैदिक ज्ञानको उज्यालो समाजमा अझ व्यापक रूपमा फैलिने विश्वास व्यक्त गरेका थिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
