logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन


  • मंगलबार, असार १६ २०८३
  • 871
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूमा रहेका दलीय विद्यार्थी संगठनका भौतिक तथा संगठनात्मक संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेको हो।

    निर्देशनालयका उप–प्रशासक सन्देश कुमार रेग्मी द्वारा हस्ताक्षरित पत्रमा प्राप्त निर्देशनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त परिपत्रको आधारमा यो निर्णय कार्यान्वयन गर्न लागिएको उल्लेख गरिएको छ। पत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट जारी गरिएको हो।

    पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप बढ्दै जाँदा विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको तथा शैक्षिक गुणस्तरमा समेत असर परेको निष्कर्षसहित अब विश्वविद्यालय तथा विद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू ६० दिनभित्र पूर्ण रूपमा हटाउनुपर्ने उल्लेख गरिएको छ।

    त्यसैगरी, ती संरचना हटाएको ९० दिनभित्र विद्यार्थीको साझा र स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले “Student Council” वा “Voice of Student” नामक नयाँ विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गरिने जानकारी पनि पत्रमा दिइएको छ।

    निर्देशनालयले सबै आंगिक क्याम्पसहरूलाई उक्त निर्णय तत्काल कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र पठाउन निर्देशन दिएको छ। पत्रको बोधार्थ उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर) तथा रजिष्ट्रारको कार्यालयमा समेत पठाइएको उल्लेख छ।

    यस निर्णयलाई त्रिभुवन विश्वविद्यालयभित्र विद्यार्थी राजनीतिका संरचनामा ठूलो नीतिगत परिवर्तनका रूपमा हेरिएको छ। विश्वविद्यालय प्रशासनले यस कदमले शैक्षिक वातावरण सुधार, विद्यार्थीका वास्तविक मुद्दाको प्रतिनिधित्व तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।

    प्रकाशित : मंगलबार, १६ असार २०८३ , ०६:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend