logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लालपुर्जा वितरण

अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लालपुर्जा वितरण


  • सोमबार, साउन ४ २०८३
  • 403
    SHARES

    लोकसारथि संवाददाता | संखुवासभा

    संखुवासभाको चैनपुर नगरपालिका–१० का अशक्त ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरिएको छ।

    विशेष नापी कार्यालय चैनपुरले नक्सा–नापी सम्पन्न भएका सेवाग्राहीमध्ये कार्यालयसम्म पुग्न असहज हुने अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर लालपुर्जा हस्तान्तरण गरेको हो।

    विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालका अनुसार द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका जग्गाधनीहरूको पुनः नापजाँच तथा अभिलेख पुनर्स्थापना प्रक्रिया पूरा भएपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन घरदैलोमै पुगेर लालपुर्जा वितरण गरिएको हो। वृद्धवृद्धा तथा अशक्त नागरिकलाई कार्यालयसम्म आउन कठिन हुने भएकाले यो व्यवस्था गरिएको उहाँले बताउनुभयो।

    घरमै पुगेर लालपुर्जा प्राप्त गर्नेहरूमा चैनपुर नगरपालिका–१० तोरीबारीका ९४ वर्षीय गणेशबहादुर भण्डारी, हात्तीसुडेका ९० वर्षीय धनबहादुर दर्जी र ८४ वर्षीया माया जिमी, सल्लेरीकी ८० वर्षीया बुद्धिमाया राई तथा खराङका ८७ वर्षीय निरप्रसाद काफ्ले, ७५ वर्षीय भरत शाक्य र ७३ वर्षीया चन्द्रमाया तामाङ रहेका छन्।

    तत्कालीन माओवादी द्वन्द्वका क्रममा २०५९ साल वैशाख १४ गते चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेस्ता, मोठ तथा अन्य महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए।

    यसैको पुनर्स्थापनाका लागि मन्त्रिपरिषद्ले २०७६ माघ १३ गते विशेष नापी कार्यालय चैनपुर स्थापना गर्ने निर्णय गरेको थियो। कार्यालयले हाल दुईवटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप–नक्सा तथा जग्गा दर्ताको कार्य सञ्चालन गरिरहेको जनाएको छ।

    विशेष नापी कार्यालयका अनुसार चैनपुर नगरपालिकाका वडा नं. ३, ५, ७, ८, ९, १० र ११ मा नाप–नक्सा सम्पन्न भइसकेको छ। साथै चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिका गरी चार स्थानीय तहको करिब ६४ हजार हेक्टर क्षेत्रफलमा नापी–नक्सा तथा अभिलेख पुनर्स्थापनाको काम जारी रहेको कार्यालयले जनाएको छ।

    प्रकाशित : सोमबार, ४ साउन २०८३ , ०४:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend