logo

शुक्रबार, ९ असोज २०८३

शुक्रबार, असोज ९ २०८३

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’


  • शुक्रबार, असोज ९ २०८३
  • 169
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

    जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

    “विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्।

    उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

    “कुरा राखियो, सकियो भन्ने होइन। अब बल्ल काम सुरु भएको छ। यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,” हमालले भनेका छन्।

    त्यस्तै, जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले विदेशमा रहँदा आफूहरूको शुभकामना रहने बताएका छन्। उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

    ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्।

    “घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला, बाहिर नगरौँला। हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,” ढुङ्गानाले भनेका छन्।

    जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन्।

    उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्‍याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गर्दै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्ने बताएकी छन्।

    यसैबीच, अर्का जेनजी नेता माजिद अन्सारीले शाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन्।

    उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेको विरोधाभासलाई निकै विनम्र भाषामा सूक्ष्म ढंगले उजागर गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।

    “जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,” उनले भनेका छन्।

    जेनजी नेताहरूका प्रतिक्रियामा समग्रमा प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्ने साझा धारणा देखिएको छ।

    उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रस्तुत हुनु महत्वपूर्ण भए पनि त्यसको वास्तविक मूल्यांकन अब त्यसपछि सरकारले गर्ने काम र प्राप्त हुने परिणामबाट हुने बताएका छन्।

    प्रकाशित : शुक्रबार, ९ असोज २०८३ , ०१:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend