logo

आइतबार, ४ असोज २०८३

आइतबार, असोज ४ २०८३

सम्पादकीय: शंकरनगरमा मध्यराति कार रेलिङमा ठोक्कियो, तीनै जना सकुशल, सावधानी आवश्यक

सम्पादकीय: शंकरनगरमा मध्यराति कार रेलिङमा ठोक्कियो, तीनै जना सकुशल, सावधानी आवश्यक


  • आइतबार, असोज ४ २०८३
  • 208
    SHARES

    सम्पादकीय

    तिलोत्तमा–१ स्थित शंकरनगरचोकदेखि करिब ५० मिटर तल असोज ४ गते बिहान करिब १ः५० बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४च–६५५३ नम्बरको किया सेल्टोस दुर्घटनामा परेको छ। कार सडकको रेलिङमा भयंकर आवाजसहित ठोक्किएर आएको दिशातर्फ नै फर्किएको थियो।

    ठुलो आवाज सुनेपछि म घटनास्थलमा प्रत्यक्ष उपस्थित हुँदा कारमा रविन श्रेष्ठ, संजोग राज र हेमन्त शर्मा ढुंगाना गरी तीन जना सवार रहेको जानकारी पाएँ। दुर्घटनापछि तीनै जना कारबाट बाहिर निस्किएका थिए। संजोग राजको टिसर्ट तथा नाकमाथि सानो रगतको थोपा देखिनुका साथै देब्रे काँधमा ठोक्किएको जस्तो रातोपन र सामान्य सुन्निएको अवस्था देखिन्थ्यो। अन्य दुई जनामा भने बाहिरबाट देखिने उल्लेख्य चोटपटक देखिएन। कसैलाई पनि तत्काल अस्पताल लैजानुपर्ने अवस्था देखिएन।

    दुर्घटनाबाट कारको अगाडिको बायाँ भाग पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। अगाडिको भागदेखि चेसिससम्म केही दोब्रिएको देखिन्थ्यो। बायाँपट्टिका अगाडि र पछाडिका दुवै टायर फुटेका थिए भने दायाँपट्टिको पछाडिको टायर पनि फुटेको थियो। दायाँ अगाडिको टायर भने सुरक्षित अवस्थामा थियो।

    घटनाको जानकारी पाएपछि ड्राइभरटोल प्रहरी बिटबाट सब इन्स्पेक्टर नरेन्द्र विकसहित दुई जना प्रहरी घटनास्थलमा आइपुगे। प्रहरीले चालक तथा कारमा सवार व्यक्तिहरूको विवरण टिपोट गरे। त्यसपछि क्रेन बोलाएर दुर्घटनाग्रस्त कार उठाई ड्राइभरटोल प्रहरी बिटमा राख्न लगाइयो।

    प्रहरीसँग आवश्यक विवरण टिपाउने क्रममा ३१ वर्षीय संजोग राजले जानकारी उपलब्ध गराएका थिए। प्रहरीले कारका कागजपत्र माग्दा संजोगले पछि उपलब्ध गराउने बताएका थिए।

    घटनास्थलको व्यवस्थापन सकिएपछि अर्को गाडी स्वयं संजोगले फोन गरेर बोलाए र दुर्घटनामा परेका तीनै जना सुरक्षित रूपमा भैरहवातर्फ लागे। उनीहरु सिनपा–४का वासिन्दा रहेको बुझिएको छ । दुर्घटनाको समयदेखि प्रारम्भिक व्यवस्थापन पूरा हुँदासम्म करिब एक घण्टा १० मिनेट लागेको थियो। अर्थात् बिहान करिब ३ बजेसम्म घटनास्थलको तत्कालीन व्यवस्थापन सम्पन्न भएको थियो।

    घटनास्थलमा उपस्थित प्रहरीबाट चालकले मादक पदार्थ सेवन गरेको हुनसक्ने आशंका व्यक्त गरिएको थियो। यद्यपि मापसे परीक्षण गरिएको थिएन र चालकलाई मेडिकल परीक्षणका लागि पठाइएको पनि थिएन। त्यसैले प्रत्यक्षदर्शीका रूपमा देखिएको दुर्घटनालाई मादक पदार्थ सेवनकै कारण भएको निष्कर्ष निकाल्नुभन्दा दुर्घटनाको वास्तविक कारण सम्बन्धित निकायको अनुसन्धानबाट खुल्नुपर्ने देखिन्छ। यद्यपि संजोगले गाइ बाटोमा आएको, बचाउन खोज्दा गाडीको सन्तुलन बिग्रिएको बताएका थिए ।

    दुर्घटनाले उठाएको सडक सुरक्षाको प्रश्न

    यो घटना ठूलो क्षति हुन सक्ने सम्भावना हुँदाहुँदै पनि गाडीमा भएको एयर ब्यागसहितको सुरक्षा व्यवस्थाका कारण तीनै जना सुरक्षित रहन सफल भएको घटनाका रूपमा देखिन्छ। तर कारको क्षतिको अवस्था हेर्दा रातिको समयमा सवारी गति, चालकको अवस्था, सडकको दृश्यता, रेलिङ तथा सडक संरचनाको अवस्था लगायतका विषयमा गम्भीर समीक्षा आवश्यक देखिन्छ। छ लेन सडक निर्माणले सडक दुर्घटना न्युनिकरण हुने सामान्य तर्क स्थापित भएता पनि पछिल्लो समयमा झन् दुर्घटना बढेको देखिन्छ ।

    यस्ता घटना न्यूनीकरणका लागि रातिको समयमा जोखिमयुक्त स्थानमा गति नियन्त्रण, पर्याप्त सडक प्रकाश, स्पष्ट रिफ्लेक्टिभ संकेत, प्रभावकारी लेन मार्किङ तथा नियमित मापसे परीक्षण आवश्यक छन्। चालकले पनि रातिको समयमा विशेष सावधानी अपनाउँदै अत्यधिक गति, थकान वा निद्राको अवस्थामा सवारी नचलाउनु दुर्घटना रोकथामको सबैभन्दा राम्रो उपाय हुन सक्छ ।

    प्रकाशित : आइतबार, ४ असोज २०८३ , ०६:१२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend