लोकसारथि, ७ माघ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक र धार्मिक महत्वको इच्छाकामना मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकहरूको आवागमन उल्लेखनीय रूपमा वृद्धि भएको छ। मनकामना मन्दिरको आमनेसामने रहेको यो मन्दिर प्रचारप्रसार र पुनःनिर्माणपछि आकर्षणको केन्द्र बन्दै गएको छ।
मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन यहाँ दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ। “मन्दिरको पुनःनिर्माण र प्रचारप्रसारका कारण यहाँ आउने भक्तजनहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ,” उनले बताए। धार्मिक दर्शनसँगै मन्दिर वरपरको सुन्दर प्राकृतिक दृश्य र पिकनिक स्थलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।
धार्मिक र पर्यटकीय आकर्षण
समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको मन्दिर जङ्गलले घेरिएको छ। फागुन र चैतमा ढकमक्क फुल्ने लालीगुराँसले यस क्षेत्रमा आकर्षण थप्ने गर्छ। यहाँबाट मनास्लु, गणेश, र माछापुच्छ्रे हिमालको मनोरम दृश्य देख्न सकिन्छ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न पुनःनिर्माणसहित आवश्यक संरचना निर्माण गरिएको बताए। “मन्दिरको आम्दानी पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा राखिएको छ। भेटीबाट आउने आम्दानीले पुजारी र अन्य कर्मचारीलाई तलब उपलब्ध गराइन्छ,” उनले थपे।
मनकामना र इच्छाकामना: ऐतिहासिक सम्बद्धता
मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ। विशेषतः सन्तान प्राप्तिका लागि यहाँ भक्तजनहरू भाकल र पूजाआजा गर्न आउने जनविश्वास छ।
वार्षिक मेला र सुविधा
मङ्सिरको ठुलो एकादशीपछि पञ्चमी तिथिमा मन्दिरमा ठुलो मेला लाग्ने गर्छ। मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ। मोटरबाटोको विकासपछि मनकामना आउने दर्शनार्थी इच्छाकामना पनि आउन थालेका छन्। फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक हुँदै मन्दिरसम्म पुग्न सकिन्छ।
पछिल्लो समय भारतीय पर्यटकहरूको समेत संख्या बढ्दै गएको छ। “अहिले यहाँ खानेपानी लिफ्टिङ प्रविधिबाट उपलब्ध छ, जसले दर्शनार्थीलाई थप सुविधा पुर्याएको छ,” अध्यक्ष गुरुङले जानकारी दिए।
इच्छाकामना मन्दिरले धार्मिक आस्थासँगै पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै गएको छ।