logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुप्रिम सहकारी ठगी प्रकरण : लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस सुरू

सुप्रिम सहकारी ठगी प्रकरण : लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस सुरू


  • बिहिबार, माघ १० २०८१
  • 663
    SHARES

    भैरहवा – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस सुरु भएको छ।

    बिहीबार बिहान साढे १० बजे लामिछाने अदालतमा उपस्थित भएसँगै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बहस सुरु भएको हो।

    वादी र प्रतिवादी पक्षबाट कानुनी तर्क
    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहित वादी पक्षका वकिल गोकर्ण घिमिरे र बसन्त पोख्रेलले बहस गरिरहेका छन्। साथै, महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट खटाएका वकिल पनि बहसमा सहभागी हुने बुझिएको छ।

    उता, प्रतिवादी लामिछानेको पक्षबाट अधिवक्ता सुशिलदेव पन्तको नेतृत्वमा कानुनी तर्क राखिने भएको छ। दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सकिएपछि इजलासले थुनामा राख्ने, धरौटीमा छोड्ने वा साधारण तारेखमा राख्ने निर्णय गर्नेछ।

    सहकारी ठगी प्रकरण र लामिछानेको बयान
    गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रमार्फत रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

    लामिछाने यसअघि सहकारी ठगी प्रकरणकै अर्को मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।

    अदालतमा रवि लामिछानेको उपस्थिति
    बुधबार अदालतमा बयान दिएपछि बिहीबार बिहान साढे १० बजे पुनः उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुनी व्यवसायीको जिम्मामा छाडिएको थियो। उनी अदालतमा निर्धारित समयमा हाजिर भएसँगै बहस सुरु गरिएको हो।

    यो मुद्दामा इजलासको आदेशलाई थप चासोका साथ हेरिएको छ, किनभने सहकारी ठगी र संगठित अपराधको यो प्रकरणले ठूलो जनचासो आकृष्ट गरेको छ।

    प्रकाशित : बिहिबार, १० माघ २०८१ , ०६:१७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend