logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: आम निर्वाचनको स्वरुप परिवर्तन गरौँ

सम्पादकीय: आम निर्वाचनको स्वरुप परिवर्तन गरौँ


  • शुक्रबार, माघ ११ २०८१
  • 2K
    SHARES

    सम्पादकीय

    देशमा आम निर्वाचन २०८४ नजिकिँदै गर्दा अर्बौं रुपैयाँको ठूलो खर्चबारे पुनर्विचार गर्ने समय आएको छ। बारम्बार निर्वाचनका नाममा हुने आर्थिक भारले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुर्‍याइरहेको छ। अब यसलाई नियन्त्रण गर्न, दुई राजनीतिक दलको स्थायी संरचना र डिजिटल मतदान प्रणालीको स्थापनाको विकल्पतर्फ अघि बढ्नुपर्छ।

    देशको विकास र राजनीतिक स्थायित्वका लागि दुई प्रमुख दलको व्यवस्था उपयुक्त देखिन्छ। प्रतिपक्ष र सत्तापक्षबीचको सन्तुलनले दीगो विकास सम्भव बनाउँछ। दुई प्रमुख राजनीतिक दलले पालैपालो पूर्णकालीन सरकार सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ। यसले देशलाई बारम्बारको निर्वाचनको झन्झट र खर्चबाट बचाउन सक्छ।

    डिजिटल मतदान प्रणाली अनिवार्य अब डिजिटल मतदान प्रणालीको व्यवस्था गरेर आम निर्वाचनलाई आधुनिक बनाउनु आवश्यक छ। जनगणनामा आधारित अभिलेख र निर्वाचन नामावलीमा भएका विवरणलाई डिजिटल माध्यमबाट भेरिफाइ गर्न सकिन्छ। प्रत्येक घरका बालिग सदस्यहरूको आइडी निर्वाचन आयोगले प्रमाणित गरेर डिजिटल प्रणालीमा राख्नुपर्छ। एकपटक मतदान गरेपछि आइडीलाई लक गर्ने व्यवस्था गर्न सकिन्छ, जसले धाँधलीको सम्भावना समाप्त गर्दछ।

    डिजिटल मतदान प्रणाली लागू गर्दा राज्यले अर्बौं रुपैयाँ बचत गर्न सक्छ। यो बचत देशमा रोजगारी सिर्जना, उद्योगधन्दा, निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र इन्टरनेट सुविधाका लागि उपयोग गर्न सकिन्छ। यसले देशको आर्थिक र सामाजिक क्षेत्रमा ठूला परिवर्तन ल्याउन सक्छ।

    सुरक्षाको सुदृढ प्रणाली आवश्यक डिजिटल प्रणालीसँगै, निर्वाचनका समयमा धाँधली र धम्कीको डर हटाउन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ। प्रत्येक घरमा सिसिटिभी क्यामरा जडान गरी अगाडि र पछाडिको निगरानी २४सै घण्टा स्थानीय सुरक्षा निकायले गर्नुपर्छ। यसका लागि प्रदेश, जिल्ला, नगर र टोल स्तरमा सुरक्षा दस्ता परिचालन गर्नुपर्छ। यस्तो व्यवस्थाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्नेछ।

    अनावश्यक खर्च रोक्न पहल गरौं आम निर्वाचन मात्रै होइन, उपनिर्वाचनका नाममा पनि राज्यले अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ। यो व्ययभार अब देशले धान्न सक्दैन। यी अनावश्यक खर्च कटौती गरी बजेटलाई विकासका महत्वपूर्ण क्षेत्रमा लगानी गर्नुपर्छ।

    हामीले राजनीतिक स्थिरता, आर्थिक बचत र दिगो विकासलाई प्राथमिकता दिनुपर्छ। त्यसका लागि, निर्वाचन प्रणालीमा सुधार अपरिहार्य छ। डिजिटल प्रणाली र दुई दलको संरचनाले देशलाई स्थायित्व र समृद्धितर्फ लैजाने मार्ग प्रशस्त गर्न सक्छ। अब यो दिशामा दृढ निर्णय लिनुपर्ने समय आएको छ।

    प्रकाशित : शुक्रबार, ११ माघ २०८१ , ०७:५७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend