नेपालका मध्य तथा पूर्वी जिल्लाहरूमा जङ्गली धान हराउँदै गएको भनिएका बेला पश्चिम नेपालका जिल्लाहरूमा यसको प्रशस्त उपस्थिति फेला परेको छ। बाँकेमा मात्र करिब चार बिघा क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिने जङ्गली धान भेटिएको धानका विज्ञहरूले जनाएका छन्।
नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र, खुमलटारले हाल बाँके, बर्दिया, कैलाली, कपिलवस्तु र पाल्पामा पाइने जङ्गली धानको प्रजाति, इतिहास र विशेषताबारे संरक्षण तथा प्रयोगका लागि नयाँ अध्ययन सुरु गरेको छ।
केन्द्रका धान प्रजनन विज्ञ डा. मुकुन्द भट्टराईका अनुसार बाँकेमा ‘निवारा’ र ‘रुफिपोगन’ गरी दुई प्रजातिको जङ्गली धान प्रशस्त मात्रामा फेला परेका छन्। उनले बाँके र कैलालीबाट संकलित २२ वटा नमुनाको डीएनए परीक्षणका लागि तयारी भइरहेको बताए।
डा. भट्टराईका अनुसार ‘निवारा’ प्रजाति सतही पानी वा डेढ मिटर गहिराइमा उम्रने गर्छ भने ‘रुफिपोगन’ करिब २५ फिटसम्मका ताल–पोखरीमा पनि पाइन्छ। पोखराको फेवा र बेगनास ताल, कैलालीको घोडाघोडी ताल जस्ता गहिरा पोखरीमा समेत रुफिपोगन भेटिएको उनले बताए।
तराईका विभिन्न जिल्लामा ‘निवारा’ र ‘रुफिपोगन’ प्रजाति फेला परेका छन् भने पहाडमा पाइने ‘ग्रानुलाटा’ जातको जङ्गली धान चितवनको लोथर क्षेत्रमा मात्र भेटिएको छ। यो प्रजाति सुक्खा सहन सक्ने गुण भएको अनुसन्धानले देखाएको छ।
विज्ञहरूका अनुसार जङ्गली धानमा डुबान सहने, रोग–किरा प्रतिरोध गर्ने, असिना पर्दा कम क्षति हुने र फट्याङ्ग्राले नखानेजस्ता विशेष गुण हुन्छन्। यी गुणहरू अन्य धान वा अन्नबालीमा स्थानान्तरण गरेर नयाँ र सुधारिएको प्रजाति विकास गर्न सकिन्छ। यस्ता गुण विकास गर्न करिब १२ वर्ष लाग्ने अनुमान गरिएको छ।
डा. भट्टराईले २५ वर्षअघि अर्थात् सन् २००० देखि नै जङ्गली धानमा अनुसन्धान सुरु गरेको बताउँदै, यस अवधिमा जीन ट्रान्सफरका प्रयोगहरू सफल रूपमा सम्पन्न भइसकेका जानकारी दिए। अहिले धानमा लाग्ने रोग, किरा, बाँदर, बाढी र डुबानजस्ता समस्यालाई मध्यनजर गर्दै जङ्गली धानको गुण अन्य प्रजातिमा सार्ने प्रयास भइरहेको उनले बताए।
उनका अनुसार विश्वमा तीन परिवारका धान छन् — ओराइजा सटाइवा, ओराइजा जपोनिका र जपोनिका। नेपालमा प्रयोग हुने धान ओराइजा सटाइवा प्रजातिको हो, जसलाई अग्लो–होचो, मसिनो–मोटो, बासना आउने–नआउने, झर्ने–नझर्ने, छिटो–ढिलो पाक्नेजस्ता गुणका आधारमा विकास गरिएको हो।
बाँकेका नेपालगन्ज, कोहलपुर र पिपरीलगायत क्षेत्रका खाली जमिन, सडकछेउ र पानी जम्ने ठाउँहरूमा अहिले प्राकृतिक रूपमा जङ्गली धान उम्रिएको देखिन्छ। यसको दाना खसेर पानीभित्र एक वर्षसम्म सुरक्षित रहन्छ र अर्को सिजनमा पुनः उम्रने क्षमता हुन्छ।
नेपालमा करिब दुई सय वर्षअघि नै जङ्गली धान अस्तित्वमा रहेको अनुमान गरिएको छ। अघिल्ला पुस्ताले यसलाई “चोखो धान” मानेर व्रतको समयमा परिकारका रूपमा प्रयोग गर्थे। हाल कपिलवस्तुमा यसको प्रयोग अझै पनि चलनमा रहेको पाइन्छ।
तर स्थानीय तहमा यसको महत्त्वबारे पर्याप्त जानकारी नहुँदा जङ्गली धानको संरक्षणमा चुनौती देखिएको छ। बाँकेको कोहलपुर नगरपालिका–८ का वडाध्यक्ष लालबहादुर रानाले करिब १० वर्षदेखि आफ्नो घरछेउमा प्रत्येक बर्खामा स्वाभाविक रूपमा जङ्गली धान उम्रने गरेको बताए। त्यस्तै, कोहलपुरकै धर्मकुमारी रानाले घरछेउमा १० कट्ठा क्षेत्रफलमा फैलिएको जङ्गली धान देखिने बताइन्।
जङ्गली धान संरक्षण अभियन्ता पुरमल बस्नेतका अनुसार बाँकेमा सडकछेउ, पोखरी र सामुदायिक वन क्षेत्र गरी करिब ४–५ बिघा क्षेत्रमा जङ्गली धान फैलिएको छ। तर शहरीकरण, घरधुरी विस्तार र साना ताल–पोखरी पुरिँदै जानुले यसको अस्तित्व खतरामा परेको चेतावनी उनले दिए।
विज्ञहरूका अनुसार जङ्गली धान नेपालकै मौलिक जैविक सम्पदा हो। चीन र भारतले यसलाई आफ्नो क्षेत्रको दाबी गरे पनि अन्यत्रभन्दा नेपालमै यसको विविधता र सङ्ख्या बढी पाइएकाले यसको उद्गमस्थल नेपाल नै हुने सम्भावना बलियो देखिएको छ।
यदि नेपालमा पाइने यी अमूल्य धानका गुण संरक्षण गरी नयाँ प्रजाति विकास गर्न सकिए देशको खाद्य सुरक्षामा दीर्घकालीन योगदान पुग्ने विज्ञहरूको निष्कर्ष छ।
तर हालैका अध्ययनअनुसार कैलालीको घोडाघोडी ताल, पाल्पाको प्रवास ताल र पोखराका केही क्षेत्रमा यो धान क्रमशः हराउँदै गएको छ। डा. भट्टराईका अनुसार पाल्पा र पोखरामा फेला परेको जङ्गली धानमध्ये करिब ८० प्रतिशत लोप भइसकेको छ, र संरक्षणको प्रयास नहुँदा तराईका जिल्लामा पनि यसको अस्तित्व संकटमा पर्न सक्छ।