logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गर्यो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गर्यो


  • शनिबार, फाल्गुन १७ २०८१
  • 3.1K
    SHARES

    लोकसारथि, १७ फागुन । – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार गरी बजेट लेखन सुरु गरेको छ।

    राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्। “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेन्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन्। स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ। सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ,” भण्डारीले भने।

    बजेट निर्माणका चरणहरू

    • चैत १-२० – सबै मन्त्रालयहरूले बजेट समावेश गर्नुपर्ने नीति, कार्यक्रम, र अपेक्षित उपलब्धिसहितका सूचकहरूको विवरण अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराउने।
    • चैत १५-वैशाख १० – सार्वजनिक सूचना जारी गरी सुझाव संकलन।
    • चैत १६-२२ – बजेटका नीति तथा कार्यक्रममाथि राष्ट्रिय योजना आयोगमा छलफल।
    • चैत १५ – मन्त्रालयहरूले आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि बजेट प्रस्ताव पेश गर्ने अन्तिम मिति।
    • चैत २०-२२ – मन्त्री र सचिवहरूसँग सैद्धान्तिक छलफल।
    • चैत २४-वैशाख १५ – मन्त्रालयहरूसँग बजेट कार्यक्रम र शीर्षकगत छलफल।
    • चैत २८ – अन्तरसरकारी वित्त परिषद्को बैठक।
    • चैत २४-वैशाख १५ – सङ्घीय सशर्त अनुदानबारे प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरूसँग छलफल।
    • चैत २६-वैशाख २५ – राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थसचिव, अर्थशास्त्री, एवं विज्ञहरूसँग छलफल।
    • वैशाख १० – विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार।
    • वैशाख १५ – सङ्घीय सदनका दुवै सदनमा पेश।
    • जेठ १ – राजस्व परामर्श समितिले प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, बजेट वक्तव्यको पहिलो मस्यौदा तयार।
    • जेठ १० – अर्थमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष बजेट ‘बिफ्रिङ’।
    • जेठ १३ – बजेट वक्तव्यलाई अन्तिम रूप दिने, मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफ्रिङ।
    • जेठ १४ – आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक छपाइका लागि पठाउने।
    • जेठ १५ – संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने।

    बजेट लेखन समिति र राजस्व परामर्श समिति गठन

    अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको छ। समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनी, आन्तरिक राजस्व विभागका महानिर्देशक तीर्थराज चिलुवाल, तथा सहमहालेखा नियन्त्रक सुशीला अर्याल सदस्य छन्।

    त्यस्तै, राजस्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरिएको छ। यस समितिले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर, तथा राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक रणनीति सरकारलाई सिफारिस गर्नेछ।

    यसअन्तर्गत विभिन्न सात वटा उपसमितिहरू गठन भएका छन्:

    1. आन्तरिक राजस्व उपसमिति
    2. भन्सार उपसमिति
    3. उद्योग, वाणिज्य तथा निर्यात प्रवर्द्धन उपसमिति
    4. राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति
    5. कृषि, ऊर्जा तथा पर्यटन उपसमिति
    6. बैंक तथा वित्तीय संस्था, बीमा, सहकारी तथा पुँजीबजार उपसमिति
    7. गैरकर तथा अन्तर–सरकारी राजस्व व्यवस्थापन उपसमिति

    सरकारले बजेट निर्माण प्रक्रियामा पारदर्शिता कायम गर्दै विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल गरेर नीति तथा कार्यक्रम तय गर्ने नीति अवलम्बन गरेको छ।

    प्रकाशित : शनिबार, १७ फाल्गुन २०८१ , ११:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend