समय सधैं परिवर्तनशील हुन्छ। एउटा युगको आवश्यकता अर्को युगमा विलासिता बन्न पुग्छ। मेरो बाल्यकाल गाउँमै बित्यो, जहाँ आत्मीयता थियो, मेलमिलाप थियो, मानिसहरू एकअर्कासँग प्रत्यक्ष संवाद गर्थे। तर जब प्रविधिले हाम्रो जीवनमा प्रवेश गर्यो, सबैभन्दा धेरै प्रभाव पारेको वस्तु भनेकै मोबाइल फोन हो। २०६३–६४ तिर कक्षा ८ पास गरेपछि मोबाइल किन्ने मेरो रहर निकै चुलिएको थियो। तर घरको आर्थिक अवस्था हेर्दा त्यो सम्भव भए पनि पाउने आशा थिएन। त्यसैले मोबाइल किन्ने पैसा जुटाउन भारत को दिल्लि जानेसम्मको सोच घरमा सुनाएपछि दिल्लि त जानु परेन तर भनेजस्तो मोबाइल भने पाइएन। नोकिया १६५० मा चित्त बुझाउनु पर्यो। त्यो बेला मोबाइल हुनु भनेको रेडियो सुन्ने, घडी हेर्ने, टर्च बाल्ने र कहिलेकाहीँ एसएमएस पठाउने एउटा सानो सुविधा थियो। गाउँमा यो विलासिता नै मानिन्थ्यो।
समय बित्दै गयो, मोबाइल फोनले ग्रामिण समाजदेखि शहरसम्मको जीवन जोड्न थाल्यो। परदेशिएका परिवार का सदस्यहरुसँग कुरा गर्ने एउटै साधन भयो मोबाइल। यसले कामकाजलाई सजिलो बनायो, शिक्षा, व्यापार, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा क्रान्ति नै ल्यायो। तर जति सकरात्मक योगदान रह्यो, नकारात्मक प्रभाव झन् गहिरिंदै गयो।
अहिलेको पुस्तामा मोबाइल उपयोग भन्दा दुरुपयोग धेरै हुन थालेको छ। पहिले जसरी घरभित्र आत्मीयता थियो, त्यो अब मोबाइलभित्र सीमित छ। घरका सदस्यहरूभन्दा बढी समय मोबाइलसँग बित्न थालेको छ। परिवारका कुराहरू सामूहिक रूपमा छलफल गर्ने चलन हराउँदै गएको छ। धार्मिक सभा होस् या व्यावसायिक गोष्ठी, ध्यान मोबाइल अपडेट दिनेमा नै केन्द्रित हुन्छ। मानिसले एकअर्कासँग प्रत्यक्ष वार्तालाप गर्नुको साटो च्याट गर्न मन पराउँछन्।
मोबाइल फोन अब जीवनको अपरिहार्य अङ्ग बनिसकेको छ। यसले सुविधा त दिएको छ, तर हामीलाई डिजिटल दुनियाँको कैदी पनि बनाइदिएको छ। आजभोलि मानिसहरू आफूले खाएको खानाको फोटो राख्न त समय दिन्छन्, तर परिवारसँगै बसेर सँगै खान कमै रुचाउँछन्। प्रविधिको दुरुपयोगले सामाजिक सञ्जालमा हाम्रो निजी जीवन पनि सार्वजनिक बनाइदिएको छ। नितान्त व्यक्तिगत कुरा पनि खुल्ला किताब जस्तै बनेको छ।
मोबाइलको सान्निध्यताले मलाई कठिन परिस्थितिहरूमा सान्त्वना पनी दिएको छ, तर यसकै कारण मैले अनगिन्ती अमूल्य समय पनि गुमाएको छु। कहिलेकाहीँ लाग्छ, मैले नै मोबाइल नियन्त्रण गरेको छु कि मोबाइलले मलाई ? यति धेरै नकारात्मक प्रभावहरू देखेर पनि म अहिले यो लेख मोबाइलमै टाइप गर्दैछु।
प्रिय मोबाइल, तिमी मेरो सर्वाधिक प्रिय साथी, तर तिमीसँगको मेरो सम्बन्ध अब प्रश्नचिन्हमय बनेको छ। जीवनलाई सहज बनाउने तिमी नै हौ, तर फजुल बर्बादी गराउने पनि तिमी नै। तिमी बिनाको जीवन असम्भव भइसकेको छ, तर तिमीले नै जीवनको वास्तविक सम्बन्धहरूलाई क्षीण पारिरहेका छौ।
अब समय आएको छ, हामीले मोबाइललाई प्रयोग गर्ने कि मोबाइलले हामीलाई प्रयोग गर्ने ? उत्तर हामीसँगै छ।
पहिले जीवनको परिभाषा श्रम, परिश्रम र आत्मनिर्भरता थियो। बिहानै उठेर खेतबारी गर्ने, पशु-चौपाया पाल्ने, मेलापात जाने, अन्नबाली संकलन गर्ने, गाउँभरिका मानिसहरू भेला भएर रमाइलो गर्ने दिनहरू अब सम्झनामा मात्र सीमित भएका छन्। अहिले त मोबाइलकै संसार हो। बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने, निदाउनुअघि पनि मोबाइलकै उज्यालोमा हराउने हाम्रो बानी बनिसकेको छ।
मोबाइलले हामीलाई सुविधासम्पन्न बनाएको छ, तर हामीलाई यसको मोहले अन्धो पनि बनाइरहेको छ। सामाजिक सञ्जालका कारण हाम्रो वास्तविक सामाजिक जीवन क्षीण भइरहेको छ। सम्बन्धहरू केवल ‘लाइक’ र ‘कमेन्ट’ मा सीमित भएका छन्। एकअर्काको आँखामा हेरेर बोल्ने चलन हराउँदै गएको छ।
आजको समाजमा मोबाइल बिनाको जीवन कल्पना सम्भव छैन। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई यसको लत लागेको छ। कतै हामी प्रविधिको सिपाही मात्र बन्दै त छैनौँ? प्रविधिलाई नियन्त्रण गर्ने सामर्थ्य हामीसँग छैन, बरु उल्टै प्रविधिले नै हामीलाई आफ्नो दास बनाउँदैछ। व्यक्तिको हाथमा मोबाइल छ । मोबाइलमा इन्टरनेट । इन्टरनेटमा डिजिटल सामग्रीहरु । डिजिटल सामग्रीहरु अश्लिल र शिष्ट दुबै प्रकारका छन् । तर अश्लिल सामग्री नै बन्छ व्यक्तिको चयन । यसले बनाउँछ मनोरोगी, कहिलेकाहीँ त अपराधी पनि । व्यक्तिको बुद्धिले प्रविधि बनायो, त्यही प्रविधिमा आफ्नो नाश खोज्यो भन्ने स्थितिमा पुग्ने कि व्यक्तिको बुद्धिले प्रविधि बनायो, त्यही प्रविधिले आधात्मिक उन्नतिको मार्ग प्रशस्त पारेर उसलाई अमरत्व प्रदान गर्याे भन्ने स्थितिमा पुग्ने ? यो कुरा व्यक्ति आफैँमा भर पर्छ ।
अब आवश्यक छ, मोबाइलको सही उपयोग। आवश्यकता अनुसार मात्र प्रयोग गरौं, मोबाइललाई हाम्रो जीवनको सहायक बनाऔं, न कि हाम्रो मालिक। प्रविधिले हामीलाई सहज बनाओस्, हाम्रो मानवता र आत्मीयता अन्त्य नहोस्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
