लोकसारथि संवाददाता, काठमाडौं ।
भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले भौतिक, मानवीय र आर्थिक रुपमा अपूरणीय क्षति बेहोरेको छ। राज्यका तीन अङ्ग कार्यपालिका, विधायिका र न्यायपालिकामाथि मात्र नभई, चौथो अङ्ग भनिने सञ्चारमाध्यम तथा निजी सम्पत्तिमाथि समेत आक्रमण हुँदा मुलुक गम्भीर संकटमा परेको छ। अझै पनि धेरै प्रदर्शनकारी घाइते भई विभिन्न अस्पतालमा उपचाररत छन्।
यस आन्दोलनले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष असर पारेको छ। पर्यटकीय सिजन सुरु हुनै लाग्दा विकसित परिस्थितिले होटल, पूर्वाधार र बुकिङमा असर पारेको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार सन् २०२५ सेप्टेम्बरमा करिब २५ हजार ५०० विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो महिनाभन्दा निकै कम हो।
होटल संघका प्रारम्भिक विवरणअनुसार, आन्दोलनको क्रममा करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएका छन्। काठमाडौँस्थित हिल्टन होटलमा मात्रै रु. ८ अर्बभन्दा बढी क्षति पुगेको अनुमान गरिएको छ भने देशभर मिलाएर करिब रु. २५ अर्बभन्दा बढीको क्षति भएको संघको विज्ञप्तिमा उल्लेख छ।
तर, विपरीत परिस्थितिबीच पनि पर्यटन क्षेत्रमा आशा कायम रहेको विज्ञ र सरोकारवालाको भनाइ छ। पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार, “पर्यटकलाई प्रत्यक्ष थ्रेट नभएकाले अब सकारात्मक प्रचार–प्रसार जरुरी छ। भारत र चीनबाट आउने पर्यटकलाई लक्षित गर्दै प्रचार गर्न सके पर्यटन चाँडै उठ्छ।”
अर्थशास्त्री डा. समिर खतिवडाले पनि पर्यटन अझै सम्भावनायुक्त क्षेत्र भएको भन्दै सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए। नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पुनःउत्थानका लागि ड्राफ्ट प्लान तयार भएको र छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए।
यस्तै होटल संघका अध्यक्ष विनायक शाहले सरोकारवालाले एकताबद्ध भएर पर्यटनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडै उठेको थियो। यसपटक पनि आशा हराउनुपर्ने अवस्था छैन।”
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले पनि विषम परिस्थिति अस्थायी हुने र छिट्टै पर्यटन चलायमान बन्ने विश्वास व्यक्त गरे। नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटनमैत्री वातावरण बनाउन आग्रह गरेका छन्।
जेनजी प्रदर्शनले क्षति त पारेको छ, तर विज्ञहरूको ठहरमा यसले मुलुकलाई सुशासन र सुधारको मार्गतर्फ मोड्ने अवसर समेत दिएको छ। अब सरकार र सरोकारवाला सबै पक्षको जिम्मेवारी छ—शान्ति, स्थिरता र सकारात्मक सन्देशमार्फत मुलुकको पर्यटन र अर्थतन्त्रलाई पुनःउत्थान गराउने।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
