लोकसारथि संवाददाता, काठमाडौं ।
यदि तपाईं सुनको खोजीमा हुनुहुन्छ भने, समुद्र पनि एउटा ठूलो खजाना हो। वैज्ञानिकहरूको दाबीअनुसार समुद्री पानीमा करिब २ करोड टन सुन घुलिएको छ। यसको कागजी मूल्य करिब २,१२६ ट्रिलियन अमेरिकी डलर (२.१३ क्वाड्रिलियन डलर) भन्दा बढी हुन्छ। तर प्रश्न के हो भने, के यो सुन निकाल्न सकिन्छ ?
निकाल्न सक्ने तरिका छैन किफायती
हालसम्म समुद्री पानीबाट सुन निकालेर नाफा कमाउने कुनै व्यावहारिक र किफायती उपाय छैन। नेचर पत्रिकामा प्रकाशित एक अध्ययनले इलेक्ट्रोकेमिकल विधिबाट निकाल्ने उपाय सुझाएको थियो। तर प्राप्त सुनको मूल्यभन्दा पाँच गुणा बढी लागत पर्न आएको देखियो।
२०१८ मा जर्नल अफ द अमेरिकन केमिकल सोसाइटी मा प्रकाशित अर्को अनुसन्धानले समुद्री पानी, मीठोपानी र फोहोर पानीको कीचडसम्मबाट सुन सोस्ने ‘स्पन्ज’ जस्तै पदार्थको प्रयोगको सम्भावना देखाएको थियो। उक्त पदार्थले दुई मिनेटमै ९३४ मिलिग्राम उच्च गुणस्तरको सुन सोस्न सक्थ्यो। तर यसलाई ठूला स्तरमा विस्तार गर्न अझै कठिन छ। अहिले यो प्रविधि उत्पादन प्रक्रियामा हराएको सानो मात्रामा सुन फिर्ता गर्न प्रयोग भइरहेको छ।
कसरी पुग्यो समुद्रमा सुन ?
समुद्र जादूमै सुनले भरिएको होइन। लाखौं वर्षदेखि भइरहेको भू–प्राकृतिक प्रक्रियाले यसलाई समुद्रसम्म पुर्याएको हो। वर्षा र नदीले चट्टान भत्काउँदा भित्र रहेका सूक्ष्म सुनका कण समुद्रमा पुग्छन्।
त्यस्तै समुद्रतलका हाइड्रोथर्मल भेन्टहरू, जहाँ टेक्टोनिक प्लेट भेटिन्छन्, तातो र खनिजले भरिएको तरल पदार्थ बाहिर निकाल्छन्। यसमा सुनका कण पनि हुन्छन्। यहाँसम्म कि हावाले पनि सुनका धुलीकण टाढासम्म उडाएर अन्ततः समुद्रमा पुर्याउँछ।
कति पानी चाहिन्छ एक ग्राम सुन निकाल्न ?
सबैभन्दा ठूलो समस्या भनेको यसको अत्यन्त कम सांद्रता हो। अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स मा प्रकाशित अनुसन्धानअनुसार समुद्री पानीमा सुन ‘फेमटोमोल्स प्रति लिटर’ मा मात्र पाइन्छ, जुन १ ग्रामको खरबौं भाग हो।
अटलान्टिक र उत्तर–पूर्वी प्रशान्त महासागरमा यसको सांद्रता करिब ५० देखि १५० फेमटोमोल्स प्रति लिटर छ। सरल भाषामा भन्नुपर्दा, १ ग्राम सुन निकाल्नका लागि करिब १० करोड मेट्रिक टन समुद्री पानी चाहिन्छ।
किन निकाल्न सकिँदैन ?
यसको मापन नै ठूलो चुनौती हो। यति सानो मात्रामा सुन पत्ता लगाउन वैज्ञानिकहरूलाई धातु–रहित बोतलमा अत्याधुनिक प्रयोगशालामा काम गर्नुपर्छ। धुलोको एउटा कण वा प्रदूषणले परिणाम बिगार्न सक्छ।
मास स्पेक्ट्रोमिटरजस्ता उपकरण उपलब्ध हुनु अघि, अनुसन्धानकर्ताहरू सोल्भेन्ट एक्सट्र्याक्सन प्रविधिमा भर पर्थे, तर त्यो सुन निकाल्न पर्याप्त थिएन।
समुद्र : ‘भाँच्न नसकिएको सुनको गुल्लक’
विश्वका समुद्री पानीमा करिब २ करोड टन सुन छ भन्ने अनुमान गरिएको छ। सन् २०२५ को मूल्यांकनअनुसार १ टन सुनको मूल्य करिब १० करोड ६३ लाख अमेरिकी डलर हुन्छ। यसरी हेर्दा समुद्रमा रहेको सुनको कुल मूल्य करिब २.१३ क्वाड्रिलियन अमेरिकी डलर बराबर हुन्छ।
तर, यो सुन निकाल्ने व्यावहारिक उपाय नपाएको कारण, अहिलेका लागि समुद्र केवल चम्किलो गुल्लक बनेर बसेको छ, जसलाई कोही पनि भाँच्न सक्दैन।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
