logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

वामदेव गौतम: वाम राजनीतिका अनिर्णयशील पात्र

वामदेव गौतम: वाम राजनीतिका अनिर्णयशील पात्र


  • सोमबार, माघ २१ २०८१
  • 533
    SHARES

    लोकसारथि, माघ २१ । नेपाली राजनीतिमा वामदेव गौतम एक फरक परिचयका नेताका रूपमा चिनिन्छन्। कहिले निर्णायक नेताका रूपमा उदाएका गौतम हाल राजनीतिक दिशाविहीनतामा अल्झिएका छन्। एमालेको उपाध्यक्ष हुँदै मुलुकको उपप्रधानमन्त्रीसम्मको यात्रा तय गरेका उनले कुनै पनि निश्चित राजनीतिक ट्रयाकमा लामो समयसम्म टिक्न सकेनन्।

    राजनीतिक विश्लेषकहरूका अनुसार गौतम कहिले माधव नेपाल त कहिले केपी शर्मा ओलीका लागि ‘सुविधाजनक’ पात्र बने। उनीहरूको स्वार्थ अनुसार प्रयोग भए पनि गौतम आफैं स्वतन्त्र नेतृत्वको भूमिकामा उभिन असफल भए। २०५४ सालमा महाकाली सन्धिको विवादका कारण एमाले विभाजनको नेतृत्व गरेका उनले त्यसबेला ठूलो जनसमर्थन पाए। तर, समयक्रममा उनको पदलोलुपता र महत्वाकांक्षाले उनको राजनीतिक छविमा धक्का पुर्‍यायो।

    २०७४ को निर्वाचनमा एमाले-माओवादी गठबन्धनको सफलतापछि नेकपा गठन भयो, जहाँ गौतम सचिवालय सदस्य बने। तर, पार्टी भित्र उनी कहिले प्रचण्ड त कहिले ओलीसँग नजिकिंदै दुवै पक्षलाई सहयोगको प्रस्ताव राख्थे। विश्लेषकहरू भन्छन्, “नेकपा विभाजनको प्रमुख कारक मध्ये गौतमको अनिर्णयशीलता पनि हो।”

    बर्दियामा चुनावी हारपछि पनि उनले राजनीतिक महत्त्वाकांक्षा त्यागेनन्। राष्ट्रिय सभामा पुगेका उनी प्रधानमन्त्री बन्ने सपना देख्थे, जबकी संविधानमा त्यसको व्यवस्था छैन। भूकम्प पुनर्निर्माण प्राधिकरणको नेतृत्व गर्न चाहेको उनको प्रयास पनि सफल भएन।

    हाल गौतम एमाले वा समाजवादी पार्टीमध्ये कुन दलमा जाने भन्ने अनिर्णयमा छन्। उनी नजिकका कार्यकर्ताहरू भन्छन्, “गौतम विचारभन्दा घटनाबाट बढी प्रभावित हुन्छन्।” यही कारणले उनी कहिले मूल नेतृत्वमा पुग्न सकेनन्।

    उनको विडम्बना यही हो कि उनी जहिले पनि अरू नेताका लागि औजार बने। राजनीतिक वृत्तमा उनलाई सिर्जनात्मक भन्दा ध्वंशात्मक भूमिकामा प्रयोग भएको आरोप लाग्दै आएको छ। यसरी, जीवनभर वाम आन्दोलनमा लागे पनि वामदेव गौतम आफैं निर्णायक नेताको रूपमा स्थापित हुन सकेनन्।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , ०७:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend