पाल्पा, २ फागुन – पाल्पामा पछिल्लो वर्षहरूमा सुन्तला खेती फस्टाउँदै आए पनि केही क्षेत्रमा रोगको प्रकोपका कारण किसान निराश बनेका छन्। विशेष गरी जिल्लाको पश्चिमी भेगमा किसानहरूले मनग्य आम्दानी गरिरहेका भए पनि निस्दी गाउँपालिका–५ बहपुर का किसानका लागि यो वर्ष निकै कठिन सावित भएको छ।
बहपुरका किसान तेजन सुनारीले केही वर्षअघि सुन्तलाबाट वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी लिएका थिए। तर, हाल सुन्तलाका बोटहरूमा विभिन्न रोगको प्रकोप फैलिएपछि आम्दानी शून्यमा झरेको उनको गुनासो छ। सुनारीले भने, “पहिला व्यापारीहरू घरमै आएर खरिद गर्थे, आम्दानी राम्रो हुँदा क्षेत्र विस्तार गरेँ। अहिले बोटहरू सुकेर उजाड भएका छन्, उत्पादन छैन।”
रोगको कारण सुन्तला खेती संकटमा
किसानहरूका अनुसार बोटको जराको बोक्रा कुहिने, पात पहेँलो हुने, बोक्रा झर्ने, बोटको टुप्पो सुक्ने जस्ता समस्या देखिएका छन्। उत्पादन घट्न थालेपछि बहपुर गाउँमा करिब ७,००० बोटमध्ये धेरैजसो मरेका छन्।
समस्या समाधानका लागि किसानहरूले विभिन्न निकायमा जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको बताइन्छ। कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोषलाल चौधरीका अनुसार माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गर्न सकिन्छ। “समस्या देखिएका स्थानमा स्थलगत अवलोकन गरी माटो परीक्षण गरिनेछ, किसानको माग आएमा निःशुल्क बिरुवा उपलब्ध गराउने योजना छ,” उनले भने।
जिल्लाभर सुन्तला उत्पादन भने बढ्दो
यद्यपि, जिल्लाको समग्र उत्पादन भने अघिल्लो वर्षभन्दा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पाल्पामा ९,०९८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३७ मेट्रिक टन बढी हो।
यस वर्ष पाल्पाबाट रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको छ, जुन अघिल्लो वर्षको तुलनामा रु ६ करोड ६९ लाख १२ हजार बढी हो।
सुन्तला उत्पादनका मुख्य क्षेत्रहरू
पाल्पाको १,१९६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ, जसमा १,१३० हेक्टर उत्पादनशील मानिन्छ। यस वर्ष विभिन्न पालिकाहरूमा सुन्तला उत्पादन यस प्रकार रहेको छ –
- रैनादेवी छहरा गाउँपालिका – ३,६३९ मेट्रिकटन (४५२ हेक्टर)
- रिब्दिकोट गाउँपालिका – ३,१८४ मेट्रिकटन (३९६ हेक्टर)
- बगनासकाली गाउँपालिका – ९१० मेट्रिकटन (११३ हेक्टर)
- पूर्वखोला गाउँपालिका – ७२८ मेट्रिकटन (९० हेक्टर)
- तानसेन नगरपालिका – ५४६ मेट्रिकटन (६८ हेक्टर)
- माथागढी गाउँपालिका – ९१ मेट्रिकटन (११ हेक्टर)
पाल्पाका केही क्षेत्रमा सुन्तला खेतीले राम्रो प्रगति गरे पनि बहपुर जस्ता क्षेत्रका किसानहरू भने रोगको समस्याले मारमा परेका छन्। रोग नियन्त्रणका लागि वैज्ञानिक उपाय अपनाइएन भने उत्पादनशील क्षेत्रहरू पनि संकटमा पर्ने सम्भावना छ। किसानहरूले रोग निवारणका लागि सरकार तथा कृषि विभागबाट ठोस योजना कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
