logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

यूएसएड खर्च विवरण सार्वजनिक गर्न सांसदहरूको माग

यूएसएड खर्च विवरण सार्वजनिक गर्न सांसदहरूको माग


  • आइतबार, फाल्गुन ११ २०८१
  • 741
    SHARES

    काठमाडौं – प्रतिनिधिसभाको अर्थ समितिका सांसदहरूले नेपालमा अमेरिकी नियोग यूएसएडमार्फत भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। आइतबार बसेको अर्थ समितिको बैठकमा सांसद गंगा कार्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएडमार्फत नेपालमा गरिएको खर्चलाई ‘फ्रड’ भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भयो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे।

    सांसद कार्कीले नेपालमा वित्तीय संघीयताको लागि अमेरिकाबाट प्राप्त रकमको प्रयोगबारे शंका व्यक्त गर्दै सो रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको जानकारी अनौपचारिक रूपमा पाएको बताए। उनले आयोगसँग सो विषयमा स्पष्ट जवाफ मागिनुपर्ने बताए।

    सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएडको सहयोगलाई ‘फ्रड’ भनेका थिए भन्ने बुझ्नुपर्ने बताए। उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई संसद्बाट पारित गरिएको प्रसंग पनि उठाए।

    सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषय संसद्मा छलफल गरिनुपर्ने बताएका छन्। ‘ट्रम्पले भनेका विषयमा अर्थ समितिमा छलफल आवश्यक छैन। यो संसद्को विषय हो,’ उनले भने। साथै, यूएसएडमार्फत नेपालमा खर्च भएको रकमको विवरण अर्थ मन्त्रालयसँग माग गर्न लिखित पत्राचार गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे।

    सांसदहरूले अर्थ समितिको बैठक समयमा नबस्ने, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने तथा समितिको काम प्रभावकारी नदेखिएको विषयमा पनि असन्तोष व्यक्त गरेका छन्।

    प्रकाशित : आइतबार, ११ फाल्गुन २०८१ , ०८:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend