लोकसारथि, ६ चैत । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्कभन्दा बढी लिन नपाउने निर्णय गरेको छ। बैठकले प्रत्येक सदस्यले वार्षिक नवीकरण शुल्क दुई सय रुपैयाँ मात्रै तिर्नुपर्ने स्पष्ट पारेको छ।
यसअघि विभिन्न स्थानमा नवीकरण शुल्क तोकिएको दरभन्दा बढी असुल्ने गरिएको गुनासो आएपछि समितिले यस विषयमा कडाइ गर्ने निर्णय गरेको हो। पार्टीका विभिन्न संरचनाहरूले भवन निर्माण तथा अन्य शीर्षकमा थप शुल्क उठाउने गरेका थिए, जुन अब रोक लगाइने भएको छ।
पालिका जनप्रतिनिधिहरूको लेबी घटाइयो
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले कांग्रेसबाट पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि लेबी रकम घटाउने निर्णय गरेको छ।
यस अनुसार, पालिका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख तथा उपप्रमुखहरूले पारिश्रमिकबाट २० प्रतिशत कटौती गरिँदै आएको लेबीलाई अब १० प्रतिशतमा झारिएको छ। वडाध्यक्षहरूका लागि १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ।
प्रदेश समितिलाई अनुगमन जिम्मेवारी
बैठकले क्रियाशील सदस्यता नवीकरणको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश समितिलाई अनुगमन जिम्मेवारी दिने निर्णय गरेको छ। यसबारे समिति सदस्य रसाइलीले प्रदेश समितिको भूमिका बढाउन अनुगमनको जिम्मेवारी तोकिएको जानकारी दिए।
सदस्यता स्थानान्तरणका लागि नयाँ व्यवस्था
सदस्यता स्थानान्तरण प्रक्रियामा नयाँ व्यवस्था गरिएको छ। अब बसाइँसराइ प्रमाणपत्र र मतदाता परिचयपत्र पेस गर्ने व्यक्तिलाई मात्र स्थानान्तरणको मान्यता दिइनेछ। साथै, दुवै जिल्लाका सभापतिहरूको स्वीकृति प्राप्त गरेपछि मात्र स्थानान्तरण प्रक्रिया पूरा हुनेछ।
क्रियाशील सदस्यताको समस्याहरू समाधान गरिने
अनुशासन समितिको ढिलाइका कारण नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूका बारेमा महासचिव गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा, शीर्ष नेताहरू तथा अनुशासन समितिका सदस्यहरूसँग छलफल गरी समाधान निकाल्ने निर्णय भएको छ।
नवीकरण कार्डको व्यवस्था
बैठकले सदस्यता कार्ड अभाव रहेका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका स्थानहरूमा थप कार्ड पठाउने निर्णय गरेको छ। साथै, विदेशस्थित ३६ वटा जनसम्पर्क समितिहरूलाई पनि नवीकरण कार्ड वितरण गरिनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
