logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

परराष्ट्रमन्त्री आरजुको १२ दिने भारत बसाइले ‘राजनीतिक तरंग’

परराष्ट्रमन्त्री आरजुको १२ दिने भारत बसाइले ‘राजनीतिक तरंग’


  • शुक्रबार, चैत्र ८ २०८१
  • 442
    SHARES

    लोकसारथि, ८ चैत । नेपालकी परराष्ट्रमन्त्री आरजु राणाको पछिल्लो १२ दिने भारत भ्रमण राजनीतिक रूपमा विवादित बन्दै गएको छ। परराष्ट्रमन्त्री भएको आठ महिना बितिसक्दा पनि मन्त्रालयमा तात्विक परिवर्तन ल्याउन नसकेको भनिएकी राणाको यो भ्रमणले सरकारकै गरिमामाथि प्रश्न उठाएको विश्लेषण गरिँदैछ।

    राणा २६ फागुनमा भारत प्रस्थान गरी ८ चैतमा स्वदेश फर्किएकी थिइन्। सार्वजनिक रूपमा उनले स्वास्थ्य उपचारको फलोअप, रायसिना संवाद (राइसिना डायलग) र धार्मिक यात्राका लागि भारत गएको भनिए तापनि १२ दिन लामो बसाइको औचित्यलाई लिएर गम्भीर प्रश्न उठेका छन्।

    कूटनीतिक गरिमामा प्रश्न

    पूर्वराजदूत टंक कार्की भन्छन्, “अति महत्वपूर्ण कामबाहेक परराष्ट्रमन्त्रीले झन्डै १५ दिन अर्काको देशमा बिताउँदैनन्। यस घटनाले मन्त्रालय र सरकारकै गरिमा कमजोर बनाएको छ।” संयुक्त राष्ट्रसंघको महासभाबाहेक अन्य कुनै भ्रमणमा परराष्ट्रमन्त्री यति लामो समय विदेशमा रहने चलन नहुँदा राणाको यो भ्रमण थप विवादित बनेको हो।

    काठमाडौंस्थित राजनीतिक वृत्तमा राणाको भ्रमणबारे थप चासो राखिएको छ। खासगरी, उनी भारत जानुअघि काठमाडौंमा राजावादी शक्तिहरूको प्रदर्शन चर्केको थियो। भारतसँगको नजिक सम्बन्ध रहेको भनिएका राजावादी शक्ति तथा हिन्दू राष्ट्र समर्थकहरूको गतिविधि बढ्दै गर्दा परराष्ट्रमन्त्रीको भारत बसाइ लम्बिएको घटनालाई संयोग मान्न सकिन्न भन्ने धारणा व्यक्त गरिएको छ।

    के ओली सरकारलाई भारतले दबाबमा राख्न खोजेको हो?

    सत्तारूढ एमाले र कांग्रेसबीच सरकार गठनको सहमति भएपछि भारत असन्तुष्ट रहेको विश्लेषण भइरहेको छ। भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाईबाहेक अन्य कुनै निम्तो नपठाएको तथ्य पनि उठाइएको छ। ओली भारत भ्रमणका लागि आतुर देखिए पनि भारतले हाल उनलाई स्वागत गर्ने मूड नदेखाएको आँकलन गरिएको छ।

    एमालेभित्र ओलीको भारत भ्रमण सहज बनाउन परराष्ट्रमन्त्री राणाले भूमिका खेलेको हुनसक्ने चर्चा चलेको छ। तर, भारत अहिले नेपाल सरकारलाई दबाबमा राख्ने रणनीतिमा केन्द्रित रहेको बुझिन्छ।

    धार्मिक यात्रा कि राजनीतिक भेटघाट?

    परराष्ट्रमन्त्री राणा भारत भ्रमणका क्रममा धार्मिक स्थल झारखण्डको बाबा बैद्यनाथ धाम गएकी थिइन्। तर, यस भ्रमणमा उनले राइसिना संवादमा आठ दिनपछि मात्रै सहभागिता जनाएकी थिइन्, जसले उनको भ्रमणलाई अझ शंकास्पद बनाएको छ।

    यसबाहेक, ५ चैतमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उनले भेट गरेकी थिइन्। त्यसपछि पनि नेपाल नफर्की भारतमै थप केही दिन बिताएको कारणबारे स्पष्ट कारण नखुलेको विश्लेषण गरिन्छ।

    परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणको औचित्यमाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। १२ दिन लामो बसाइ धार्मिक यात्रामात्रै थियो कि नेपाल-भारत कूटनीतिक सम्बन्धको रणनीतिक पाटो पनि जोडिएको थियो? भन्ने प्रश्न खुला छ।

    कूटनीतिक मामिलामा सधैं भारतको सहारामा रहने नेपाली नेताहरूको पुरानो मनोविज्ञानकै निरन्तरता हो कि यो नयाँ समीकरणको संकेत? यसको स्पष्ट उत्तर आउन भने अझै बाँकी छ।

    प्रकाशित : शुक्रबार, ८ चैत्र २०८१ , ०९:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend