भगवद्गीताको (५.१८) श्लोकले छुवाछूतजस्ता सामाजिक विभेदहरूको पूर्ण खण्डन गर्दछ।
“विद्या विनय सम्पन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।”
यस श्लोकको अर्थ हो— जसले साँचो ज्ञान प्राप्त गरेका छन्, उनीहरू ब्राह्मण, गाई, हात्ती, कुकुर, वा चाण्डाल सबैलाई समान दृष्टिले हेर्छन्। यो शिक्षाले जातीय भेदभाव र छुवाछूतको कुनै स्थान नरहेको स्पष्ट पार्दछ।
तर नेपाल र भारतका केही भागहरूमा जातीय भेदभाव, छुवाछूत, र सामाजिक असमानता अझै पनि विद्यमान छन्। केही मानिसहरू आफूलाई “उच्च जात” को ठान्दै अन्यलाई तुच्छ र अस्पृश्य सम्झन्छन्। तर यो सोच सनातन धर्म र वेद-पुराणहरूको शिक्षासँग पूर्णतः बाझिन्छ।
गीता स्पष्ट रूपमा भन्छ कि शुद्ध ज्ञानले भरिएको व्यक्तिले जन्म, रूप, जात, वर्ग आदिलाई महत्त्व दिँदैन। ज्ञान, नम्रता, र आत्मिक चेतना नै मुख्य कुरा हुन्।
जातीय विभेदको ऐतिहासिक पृष्ठभूमि
नेपाल र भारतमा विगतका समयमा शिक्षामा सबैलाई समान पहुँच थिएन। विद्यालयहरू राजा-महाराजाका सन्तानहरूका लागि मात्र खुला थिए। सर्वसाधारण शिक्षित भए भने उनीहरू सचेत भई शासनप्रति प्रश्न उठाउन सक्थे भन्ने डरले शिक्षालाई सीमित बनाइयो।
राज्यले छुवाछूत र जातीय विभेदलाई धर्मको चोला पहिराएर जनताबीच वैमनस्य फैलायो। जातीयताको नाममा मानिसलाई हेला गरियो, उच्च जात र निम्न जातको कृत्रिम अवधारणा खडा गरियो।
तर आज शिक्षाको युगमा पनि त्यो पुरानो मानसिकता कायम रहनु विडम्बनापूर्ण छ। विद्यालय, कलेज, विश्वविद्यालय प्रशस्त भए पनि जातीय भेदभाव जस्ताको तस्तै छ। आज पनि जातीय विभेदका कारण मानिसहरू हत्या गरिएका छन्, सामाजिक बहिष्करणमा परेका छन्।
सामाजिक विभेदको निरर्थकता
धेरै मानिसहरू आफूलाई “पण्डित” प्रमाणित गर्न सुवेदी, आचार्य, ज्ञवाली, उपाध्याय आदि थर धारण गर्छन्। तर यथार्थमा तिनीहरूले भगवद्गीता अनुसार समदर्शिता अपनाएका छैनन्। उनीहरू परियार, विश्वकर्मा, नेपाली आदि थर भएका छिमेकीहरूसँग असहयोगको भावना राख्छन्।
यस अमानवीय व्यवहारले भगवद्गीता (५.१८) को श्लोक झुटा हो भन्ने पुष्टि गर्छ। यदि हामी साँच्चै धर्मको पालना गर्छौं भने जातीय भेदभाव त्याग्नुपर्छ। गीता र सनातन धर्मको साँचो पालना भनेकै सबैप्रति समान दृष्टिकोण राख्नु हो।
जातीय भेदभावको अन्त्यका लागि अन्य श्लोकहरू
१. “आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन। सुखं वा यदि वा दुःखं स योगी परमो मतः।।” (भगवद्गीता ६.३२)
- जसले आफूलाई जसरी देख्छ, अरूलाई पनि त्यसरी नै देख्छ, त्यस्तो योगी नै परम हुन्छ।
२. “सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते। अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम्।।” (भगवद्गीता १८.२०)
- जो सबै प्राणिहरूमा एउटै आत्मालाई देख्छ, त्यो ज्ञान सात्त्विक हो।
३. “न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।” (भगवद्गीता ४.३८)
- यस संसारमा ज्ञानजत्तिकै पवित्र कुनै वस्तु छैन।
निष्कर्ष
जातीय भेदभाव र छुवाछूत समाजका लागि अज्ञानताको उपज हो। गीता स्पष्ट रूपमा भन्छ कि ज्ञान प्राप्त गरेको व्यक्तिले सबै प्राणीलाई समान रूपमा हेर्छ। यदि हामी शिक्षित भयौं भने, भगवद्गीताका सन्देशलाई आत्मसात् गर्नुपर्छ। जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्नु नै साँचो धर्म, सत्यज्ञान र सभ्य समाजको निर्माण गर्ने बाटो हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
