लोकसारथि, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल उच्च अदालतको आदेशअनुसार कारागार चलान गरिँदैछ। पाँच महिनापछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका लामिछानेले पार्टीमा पुनःसंरचनाको घोषणा गरेकै केही दिनमा फेरि हिरासतमा पर्नु राजनीतिक रूपमा निकै चर्चा र विश्लेषणको विषय बनेको छ।
चैत १८ गते पार्टी सभापतिमा फर्किएका रविले त्यही दिन पार्टी संरचना पुनःसंरचना गर्ने घोषणा गरेका थिए। यद्यपि, अहिलेसम्म रास्वपा नै सबैभन्दा छरितो र संगठित पार्टी संरचनासहितको दल मानिँदै आएको छ। विधानअनुसार १२१ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा अहिले ६५ सदस्य मात्र छन् र ती पनि रविकै निकट वफादार व्यक्तिहरू हुन्।
रास्वपाले गठनपछि अहिलेसम्म एकपटक पनि महाधिवेशन नगरेको, भित्रि गुटबन्दी नदेखिएको, र सभापतिका रूपमा रविको नेतृत्वमा चुनौती नआएको अवस्थामा पुनःसंरचना आवश्यक छ भन्ने कुरा आफैँमा चाखलाग्दो निर्णय थियो। तर त्यसको केही दिनमै रवि लामिछाने थुनामा जानु, राजनीतिक रूपमा संयोग मात्र नभई सन्देहास्पद तवरले मेल खाएको विश्लेषण भइरहेको छ।
यता, केही दिनअघि राजावादी प्रदर्शनले राजधानीमा उत्पात मच्चाएको अवस्थामा रास्वपाले स्पष्ट धारणा नदिएर ‘ग्रे एरियामा’ उभिन खोजेको रविको रणनीति पनि आलोचना भयो। दलहरू गणतन्त्रको पक्षमा स्पष्ट भएर उभिँदा रास्वपाको मौनता जनतामा प्रश्न उठाउन थालिएको थियो।
पछिल्लो समय राजावादी चहलपहल बढेपछि, रविले “रिभोलुसन” को उद्घोष गर्दै चितवनबाट जनयात्रा गर्ने योजना सार्वजनिक गरेका थिए। उनले गणतन्त्र वा राजतन्त्रको स्पष्ट पक्ष नलिने, तर सत्ता पक्षका नेतालाई गाली गर्ने रणनीति अख्तियार गरेका थिए।
रविको पुनः पक्राउसँगै रास्वपाभित्र नेतृत्वको शक्ति सन्तुलन बदलिन सक्ने सम्भावना छ। यसपटकको अदालतको आदेश उनलाई अघिल्ला पटकभन्दा कडा ढंगले ठोकिएको देखिन्छ। यसले रविको राजनीतिक भविष्यमात्र होइन, रास्वपाको अस्तित्व र भावी दिशालाई पनि अनिश्चित बनाएको छ।
चुनावी बेला अपार जनसहानुभूति बटुलेका रविले यसपटक पनि आफ्नो पक्षमा जनताको समर्थन सडकमै देखिने अपेक्षा गरेका थिए। तर उनी पक्राउ परेपछि रास्वपाको विरोध प्रदर्शन काठमाडौँ र पोखरा केही दिन सीमित रह्यो। न त आम जनता उर्लिए, न पार्टीका सबै तहबाट साथ देखियो।
हिरासत बसाइँले रविलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो। पार्टीभित्र पनि कसलाई विश्वास गर्ने, कसलाई नेतृत्व दिनुहुन्छ भन्ने निर्णयमा उनी पुगेका थिए। तर त्यसको ठीक उल्टो परिस्थिति बनेर अहिले उनको पार्टी अर्को नेतृत्वको हातमा जान सक्ने अवस्था आएको छ।
अब रविको थुनामा बसाइँ कति लामो हुन्छ, र त्यसबीचमा रास्वपाले आफ्नो सांगठानिक भविष्य कसरी निर्धारण गर्छ, त्यसले पार्टीको गति र रविको राजनीतिक यात्रा दुवै तय गर्नेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
