logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

ज्ञानेन्द्र शाहीको आरोप : “प्रचण्डको सम्पत्तिबाट १५ खर्ब क्षतिपूर्ति असुल्नुपर्छ”

ज्ञानेन्द्र शाहीको आरोप : “प्रचण्डको सम्पत्तिबाट १५ खर्ब क्षतिपूर्ति असुल्नुपर्छ”


  • मंगलबार, चैत्र २६ २०८१
  • 598
    SHARES

    लोकसारथि, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धका नाममा भएको भौतिक क्षतिको जिम्मेवारी माओवादी नेतृत्वले लिनुपर्ने बताएका छन्।

    आज राप्रपाले आयोजना गरेको आमसभामा बोल्दै शाहीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई १५ खर्बभन्दा बढीको क्षति पुर्‍याएको आरोप लगाउँदै त्यसको ब्याजसहितको क्षतिपूर्ति प्रचण्डको निजी सम्पत्तिबाट असुल्नुपर्ने माग राखे।

    उनले भने, “१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन्। त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ।”

    “प्रचण्डको परिवार पदमै, देश गरिबमै”

    शाहीले माओवादी जनयुद्धको नाममा जनताको जीवन तहसनहस पारिएको र त्यसको परिणामस्वरूप केवल प्रचण्डको परिवार लाभान्वित भएको दाबी गरे।

    उनको भनाइमा,
    “के परिवर्तन भयो? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्‍याउन यो देशले आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो। त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ।”

    उद्योग बन्द, युवा विदेश

    शाहीले माओवादी आन्दोलनका कारण देशका १,१०० ठूला-साना उद्योग बन्द गरिएको, एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारिएको र ६ लाखभन्दा बढी युवाहरू बेरोजगार भएर विदेश जानु परेको उल्लेख गरे।

    कांग्रेस नेता विश्वप्रकाशलाई पनि आलोचना

    शाहीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा “राजतन्त्र र गणतन्त्र” सम्बन्धी गलत तथ्यांक प्रस्तुत गरेको आरोपसमेत लगाए।

    उनले भने,
    “२०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर थियो। आज चीनको प्रतिव्यक्ति आय २४,३६० डलर पुगेको छ भने नेपालको १,४५६ डलर मात्र छ। चीनले २२,९०४ डलरले हामीलाई उछिनिसक्यो। अनि भन्नुहुन्छ, देश समृद्ध भयो?”

    शाहीका अनुसार यस्ता तथ्यहरूले राजनीतिक नेतृत्वको असफलता र भ्रष्टाचार नै आजको राष्ट्रिय संकटको मुख्य कारण भएको देखाउँछ।

    राप्रपाले यो आमसभा राजतन्त्र पुनःस्थापनाको माग, भ्रष्टाचारविरुद्धको आवाज र वैकल्पिक राष्ट्रवादको पक्षमा आयोजित गरेको जनाएको छ।

    प्रकाशित : मंगलबार, २६ चैत्र २०८१ , ०६:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend