तराईदेखि मध्यपहाडसम्म सजिलै उब्जने, ‘सुपर फुड’को उपमा पाएको मोरिङ्गा खेतीमा उत्साहजनक वृद्धि
काठमाडौं ।
नेपालको तराई तथा मध्यपहाडका लिची र आँप उत्पादन हुने क्षेत्रहरूमा सजिलै उत्पादन गर्न सकिने अत्यन्त लाभदायक बालीको रूपमा मोरिङ्गा (Moringa Oleifera) को खेती विस्तार हुँदै गएको छ। हिमालयको दक्षिण भेगमा उत्पत्ति भएको यो बोटलाई विभिन्न ठाउँमा सोहिजन, सैजन, सजिउन, मुनका वा सितल चिनी जस्ता नामले चिनिन्छ। यसको डाठ ड्रम पिट्ने लट्ठी जस्तो हुने भएकाले अंग्रेजीमा यसलाई ‘Drum Stick Tree’ पनि भनिन्छ।
विशेषज्ञहरूका अनुसार मोरिङ्गामा मानव शरीरलाई आवश्यक ९० भन्दा बढी पोषण तत्त्व र ४३ किसिमका एन्टीअक्सिडेन्ट पाइन्छन्। यसको पात, फुल, डाँठ, जरा सबै खाने योग्य हुन्छन् र यसलाई खाद्य, औषधि, रङ्ग, पशुखाद्य, घाँस तथा पानी शुद्धीकरणसम्मका लागि प्रयोग गर्न सकिन्छ।
व्यवसायिक सम्भावना उच्च
मोरिङ्गा बोटमा खासै रोग र किरा नलाग्ने भएकाले किसानका लागि सजिलो हुन्छ भने यसको बजार पनि विस्तारै फैलिँदै छ। यसको बोट रोपेको ६ महिनादेखि १ वर्षभित्र नै उत्पादन लिन सकिन्छ। पोषणयुक्त खाद्यान्नका रूपमा मानिने मोरिङ्गा मानिस, पशु तथा बाली तीनैका लागि उपयोगी छ।
खेती कसरी गर्ने?
मोरिङ्गाको खेतीका लागि बलौटे दोमट माटो उपयुक्त मानिन्छ। पानीको राम्रो निकास हुने जमिनमा खेती गर्दा राम्रो उत्पादन हुन्छ। समुद्री सतहदेखि ६ सय मिटर उचाइसम्म सजिलै हुर्कने यस बोटलाई २५ देखि ३५ डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ।
रोपाईका लागि ५० से.मी. गहिरो, चौडाइ र लम्बाइ भएको खाडल खनी १० किलो गोठेमल, १ किलो चुन र २ किलो पिना मिसाएर रोप्नुपर्छ। यसलाई बीउ, बेर्ना वा कडा डाँठको कटिङबाट रोप्न सकिन्छ। सामान्यतया जेठ महिनामा पहिलो पानी परेपछि रोपाई गर्ने गरिन्छ।
उत्पादन र जातको छनौट
स्थान अनुसार मोरिङ्गाका जातहरू फरक हुने गरेका छन्। केही जात वर्षमा एक पटक मात्र फल दिने भए पनि व्यवसायिक जातहरू वर्षमा दुई पटकसम्म उत्पादन दिन सक्छन्। त्यसैले किसानले व्यावसायिक उत्पादनको लागि उपयुक्त जात छनौट गर्नुपर्ने हुन्छ।
मोरिङ्गा: भविष्यको सुपरफुड
मोरिङ्गा विश्वव्यापी रूपमा ‘सुपर फुड’को रूपमा चिनिँदै आएको छ। यसले पोषण, रोग प्रतिरोध, कृषि लागत घटाउने र बजार सञ्जाल विस्तार गर्ने सम्भावनाहरू बोकेको हुँदा नेपालमा पनि यसको व्यवसायिक खेतीमा चासो बढ्दो छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
