logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

बुटवलमा युवतीमाथि गोली प्रहार : चितवन मेडिकल कलेजमा रेफर, आक्रमणकारी भारतीय भएको आशंका

बुटवलमा युवतीमाथि गोली प्रहार : चितवन मेडिकल कलेजमा रेफर, आक्रमणकारी भारतीय भएको आशंका


  • शनिबार, बैशाख ६ २०८२
  • 1.4K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।
    बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि अज्ञात समूहद्वारा गोली प्रहार गरिएको छ । गोली लागेर गम्भीर घाइते भएकी युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्दहीका अनुसार, पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका स्थायी घर भई हाल बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान गोली प्रहार गरिएको हो । विष्टको दाहिने कोखामा गोली लागेको र गोली शरीरभित्रै अड्किएको चिकित्सकहरूले जानकारी दिएका छन् । प्रारम्भिक उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकी विष्टलाई अवस्था गम्भीर भएपछि भैरहवा मेडिकल कलेज हुँदै चितवन मेडिकल कलेज रेफर गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार, घटनाको कारण अझै स्पष्ट नभएको र अनुसन्धान जारी रहेको छ । ‘गोली कसले र किन चलायो भन्ने विषयमा यकिन भइसकेको छैन,’ डीएसपी कार्कीले भने, ‘तर हामी फिल्डमा खटिएका छौं र आक्रमणकारीको खोजी तीव्र पारिएको छ ।’

    प्रहरी स्रोतका अनुसार आक्रमणकारी भारतीय नागरिक भएको आशंका गरिएको छ, र निजलाई नियन्त्रणमा लिन प्रयास भइरहेको छ । अहिले घाइते युवतीको उपचारमा उनका बुबा र भाइ खटिएका छन् भने घटनाले बुद्धनगर क्षेत्रका बासिन्दामा ठूलो त्रास फैलिएको छ ।

    प्रहरीले घटनास्थलको अनुसन्धानका साथै आसपासको सीसीटीभी फुटेज संकलन र प्रत्यक्षदर्शीहरूसँग बयान लिने कार्य पनि अघि बढाएको जनाएको छ । गोली प्रहार गर्नेको पहिचान र पक्राउ नहुँदासम्म यसबारे केही भन्न सकिने अवस्था नरहेको प्रहरीले स्पष्ट पारेको छ ।

    प्रकाशित : शनिबार, ६ बैशाख २०८२ , ०७:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend