logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सिंहदरबारमै राप्रपाको प्रदर्शन, अध्यक्ष लिङ्देनसहित शीर्ष नेता प्रहरी नियन्त्रणमा

सिंहदरबारमै राप्रपाको प्रदर्शन, अध्यक्ष लिङ्देनसहित शीर्ष नेता प्रहरी नियन्त्रणमा


  • आइतबार, बैशाख ७ २०८२
  • 832
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    राजनीतिक तापक्रम चुलिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन्। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफलपछि बाहिरिने क्रममा सांसदहरूले विभिन्न नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए।

    राप्रपाले आज निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै सडकमा कार्यकर्ताहरू उतारेका बेला सांसदहरूले भने सिंहदरबारमै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सांसदहरूले बोकिरहेका पम्प्लेटहरू प्रहरीले खोसेका थिए।

    प्रदर्शन शंकास्पद देखिएपछि सुरक्षाकर्मीहरूले राप्रपाका शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङलाई सिंहदरबारबाटै पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगिएको प्रहरीले पुष्टि गरेको छ।

    प्रहरी स्रोतका अनुसार, राप्रपाले आज सिंहदरबारभित्र प्रतिकात्मक प्रदर्शन गरेर आफूहरू पनि गिरफ्तार हुन तयार रहेको सन्देश दिन खोजेको थियो। त्यसै अनुसार सुरक्षा सतर्कता बढाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    यसअघि राप्रपाले निषेधित क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय लिँदै सरकारको लोकतन्त्र विरोधी रवैयाको विरोधमा सडकमै उत्रने योजना सार्वजनिक गरेको थियो। पार्टीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीको विरोध गर्दै देशव्यापी आन्दोलनको तयारीसमेत थालेको छ।

    सिंहदरबारभित्रै सांसदहरुद्वारा प्रदर्शन हुनु असामान्य घटना हो भने योसँगै प्रहरी हस्तक्षेप र राजनीतिक तनाव थप चुलिएको देखिन्छ।

    प्रकाशित : आइतबार, ७ बैशाख २०८२ , ०३:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend