logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

गभर्नर नियुक्ति झनै अन्योलमा, सिफारिस समिति सदस्य भट्टराईको राजीनामा

गभर्नर नियुक्ति झनै अन्योलमा, सिफारिस समिति सदस्य भट्टराईको राजीनामा


  • मंगलबार, बैशाख ९ २०८२
  • 1.6K
    SHARES

    – लोकसारथि संवाददाता।

    नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको शक्ति संघर्षबीच झनै अन्योलमा परेको छ। सरकारको तर्फबाट गठित सिफारिस समितिमा रहेका सदस्य तथा पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले मंगलबार पदबाट राजीनामा दिएका छन्।

    सरकारले चैत ११ गते मन्त्रिपरिषद् बैठकमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा भट्टराईसहित डा. विश्वनाथ पौडेल सदस्य थिए। तर, गठित समितिको एक महिनासम्म एकपटक पनि बैठक बस्न नसकेपछि भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

    स्रोतका अनुसार गभर्नर नियुक्तिमा सत्तारूढ कांग्रेस र एमालेबीच शक्ति संघर्ष चलिरहेको छ। दुबै दलले आफ्ना नजिकका व्यक्तिलाई गभर्नर बनाउन जोड दिइरहेका छन्। प्रारम्भिक सहमति अनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने कुरा तय भएको भनिए पनि अहिले उक्त सहमति पनि अन्योलमा परेको छ।

    गुणाकर भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि अर्को दिन नै सिफारिस समिति बैठक बस्ने र तीनजना नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने भनिएको थियो। तर चार दिन बितिसक्दा पनि त्यो प्रक्रिया अघि बढ्न सकेको छैन।

    यसबीच, गभर्नर नियुक्तिबारे सर्वोच्च अदालतमा परेको रिट समेत विचाराधीन अवस्थामा छ। भट्टको योग्यता नपुग्ने दाबी गर्दै सर्वोच्चमा परेको रिट हाल हेर्न नमिल्नेमा परेको छ। उता, सोमबार मात्र गभर्नर नियुक्तिसम्बन्धी विषयमा महान्यायाधिवक्ता रमेश बडाल, गृहमन्त्री रमेश लेखकसहित छलफल पनि भएको थियो।

    पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो। राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्न सकिने व्यवस्था छ। तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नियुक्ति प्रक्रिया अगाडि नबढ्दा प्रक्रिया र समितिको औचित्यमै प्रश्न उठ्न थालेको छ।

    त्यसबाहेक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवा हाल थाइल्यान्ड यात्रामा रहेका कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताइन्छ। देउवा स्वास्थ्य उपचारको फलोअपमा छन् भने डा. देउवा परराष्ट्रमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुन थाइल्यान्ड गएकी हुन्।

    यसरी राष्ट्र बैंकको नेतृत्वविहीन अवस्थामा देशको मौद्रिक नीति, बैंकिङ नीति तथा समष्टिगत अर्थतन्त्रको दिशाबारे अनिश्चितता थपिएको छ।

    प्रकाशित : मंगलबार, ९ बैशाख २०८२ , ०५:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend