भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावले युद्धको रुप लिँदै गर्दा त्यसको असर नेपालजस्ता छिमेकी मुलुकमा प्रत्यक्ष देखिन थालेको छ। भारतीय सेनाले भूपू गोर्खा सैनिकलाई पनि आवश्यक परेमा युद्धमा संलग्न गराउने सैन्य आदेश (आर्मी अर्डर) जारी गरेको छ, जसअनुसार ६० वर्ष ननाघेका पेन्सन भोगी गोर्खा सैनिकलाई पनि आह्वान गर्न सकिने उल्लेख गरिएको छ।
भारतले हालै पाकिस्तानका विभिन्न स्थानमा गरेको क्षेप्यास्त्र आक्रमणमा ३१ जनाको मृत्यु भएको इस्लामाबादको दाबी छ। यो आक्रमण अपेक्षित नै थियो, किनकि दुई साता अघि भारत–प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई दोषी ठहर गर्दै बदला लिने संकेत दिएका थिए।
युद्धको वातावरण तात्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्ना सेनाप्रमुख जर्नेल असिम मुनिरलाई प्रतिउत्तरको जिम्मेवारी दिएका छन्। दुबै देशले एकअर्कामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमणको आरोप लगाइरहेका छन्, जसले दुई आणविक हतियारधारी मुलुकबीच पूर्ण युद्धको जोखिम निम्त्याएको छ।
मिडिया र प्रचार युद्ध:
मूलधारका भारतीय टेलिभिजनहरू — आज तक, जी न्यूज, एबीपी न्यूज — मा ‘पाकिस्तान पर फाइनल हमला सुरु’, ‘इस्लामाबादमा कब्जा’, ‘आधा पाकिस्तान तबाह’, ‘भारतीय सेना पाकिस्तानमा प्रवेश’ जस्ता हेडलाइनहरू चलाइँदैछन्, जसले भारतीय जनमानसमा भय र उन्माद फैलाएको देखिन्छ।
अन्तर्राष्ट्रिय भूमिका कमजोर:
पछिल्ला युद्धमा महाशक्ति राष्ट्रहरूले भारत–पाकिस्तानलाई सम्हाल्ने भूमिका खेल्थे। तर अहिले अमेरिका लगायत अन्य मुलुकहरूले युद्ध रोक्न खासै चासो देखाएका छैनन्। डोनाल्ड ट्रम्पले मध्यस्थता गर्ने कोसिस गरे पनि हालका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने यो दक्षिण एशियाली विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्।
पाकिस्तानको आन्तरिक अवस्था र जर्नेल मुनिरको प्रभाव:
पाकिस्तानका सेनाप्रमुख जर्नेल मुनिरको प्रभाव निर्वाचित प्रधानमन्त्रीभन्दा बढी देखिन्छ। उनले हमलाअघि कश्मीरलाई पाकिस्तानको ‘गलाको नसा’ भएको भन्दै कस्मिरीहरूलाई भारतविरुद्ध सधैं साथ दिने प्रतिज्ञा गरेका थिए। उनका अघिल्ला जर्नेल बाज्वा भने भारतसँगको शत्रुता अन्त्य गर्ने पक्षमा थिए। अहिले भने पाकिस्तान आफैँले युद्ध धान्न नसक्ने स्थिति हुँदाहुँदै पनि मुनिर युद्धको बाटो रोज्ने अवस्थामा छन्।
नेपालको जटिल अवस्था:
नेपाल न भारतको पक्ष लिन सक्छ, न पाकिस्तानको। तटस्थ बस्नु नै नेपालको बाध्यता हो। भारतमा कार्यरत ४५ हजार नेपाली गोर्खा सैनिक भारतको पक्षबाट युद्धमा सहभागी हुने निश्चितप्रायः छ। उता पाकिस्तानसँग शान्ति प्रक्रिया र सार्क सम्बन्धको आधारमा मित्रवत व्यवहार रहेको नेपालमा बंगलादेशमार्फत पाकिस्तानी गुप्तचरको आवागमनको सम्भावना बढ्न सक्छ, जसले भारत–नेपाल सम्बन्धमा खलल ल्याउन सक्छ।
यदि भारतले सख्त नीति लियो भने नेपालको सीमा सुरक्षा कडा पारिनेछ। युद्ध चर्किएमा नेपालमा प्रत्यक्ष असर पर्न सक्छ — पेट्रोल, डिजेल, खाद्यान्न, सब्जी, औद्योगिक सामग्री लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति रोकिँदा आर्थिक अवस्था झन् संकटतर्फ धकेलिनेछ। भारतसँग जोडिएका उत्तरप्रदेश, बिहार, बंगालबाट युद्धका कारण विस्थापित नागरिकहरूको ठूलो संख्यामा नेपाल प्रवेश हुन सक्ने सम्भावना पनि छ, जुन नेपालले थेग्न कठिन हुनेछ।
भूपू सैनिकको भूमिका:
भारत सरकारको ‘आर्मी अर्डर’ अनुसार, आवश्यक परेको खण्डमा पेन्सन भोगी गोर्खा सैनिकलाई पनि युद्ध मैदानमा बोलाउने व्यवस्था छ। सो आदेश अनुसार, उनीहरूलाई सरकारको आवश्यकताअनुसार अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ। यस्तो अवस्था आयो भने हजारौं भूपू सैनिक युद्धमा जानुपर्ने हुन्छ।
निष्कर्ष:
यदि भारत–पाकिस्तान युद्ध सुरु भयो भने, त्यो नेपालका लागि ‘हानिकारक’ मात्र होइन, ‘अभिशाप’ बन्न सक्छ। त्यसैले नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्दै दुवै मुलुकलाई युद्धविरामतर्फ डोर्याउने प्रयास गर्नुपर्छ। यस क्षेत्रको शान्ति केवल सैन्य रणनीतिले होइन, प्रभावकारी कूटनीतिक सक्रियताबाट सम्भव छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
