लोकसारथि संवाददाता, काठमाडौं ।
हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँ हाल बाढी र पहिरोको उच्च जोखिममा परेको छ । जेठ १ गते राति गाउँ माथि रहेका दुईवटा हिमताल फुटेपछि गाउँभर त्रास फैलिएको छ र स्थानीयहरू त्रिपालमुनि बस्न बाध्य भएका छन्।
बिना वर्षा अचानक आएको बाढीले गाउँको सुरक्षा संकटमा पारेको स्थानीयहरूले बताएका छन्। बाढी र पहिरोपछि अध्ययनका लागि गएको टोलीले हिमताल फुटेको पुष्टि गरेको छ। नाम्खा–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले आफू सहितको टोलीले करिब ४ हजार ७ सय मिटरको उचाइसम्म पुगेर हिमताल फुटेको अवस्थालाई प्रत्यक्ष अवलोकन गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार, बाढीको जोखिम अत्यधिक भएपछि गाउँका १८ घरपरिवारका ३२ जना — जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् — अहिले खुला आकासमुनि त्रिपाल टाँगेर पाँच दिनदेखि बस्दै आएका छन्।
तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा एक्कासी आएको बाढीले पाँचवटा काठे पुल बगाएको छ। त्यसैगरी, स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पु¥याएको छ।
बाढीले तिल गाउँमा रहेको ५ किलोवाट क्षमताको जलविद्युतको पावर हाउस र करिब ४ सय रोपनीमा सिँचाइ हुँदै आएको कुलोसमेत बगाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो। उहाँका अनुसार, बाढीले स्थानीय उवा, आलु लगायतका बालीहरू समेत पूर्ण रुपमा नष्ट गरेको छ।
बाढीले तिल गाउँबाट गुम्बा जाने बाटोलाई अवरुद्ध गरेको छ भने, हिल्सादेखि करिब ६ घण्टा पैदल दूरीमा रहेको उक्त बस्तीमा नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका ६ जनाको टोली पुगेर उद्दार तथा राहत कार्य सुरु गरेको डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार, हालसम्म पहिरोबाट भएको क्षतिको थप विवरण संकलन कार्य भइरहेको छ। गाउँको ठिक छेउ — करिब दुई मिटरको दूरीमा पहिरो आएपछि स्थानीयहरू अझै पनि ठूलो दुर्घटनाको डरमा खुला आकासमुनि बस्न विवश भएका छन्।
यतिखेर तिल गाउँका बासिन्दाहरू राहत, पुर्नवास र सुरक्षाको गहिरो आवश्यकता रहेको देखिन्छ। तत्काल राहतसँगै दीर्घकालीन योजना मार्फत हिमताल फोइन, जलवायु असर र भौगोलिक संवेदनशीलताको अध्ययन गर्दै जोखिम न्यूनीकरणमा ध्यान दिन स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय आवश्यक देखिन्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
