logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा कमल थापा पक्राउ

राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा कमल थापा पक्राउ


  • आइतबार, जेष्ठ १८ २०८२
  • 936
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राजसंस्था पुनर्स्थापनालगायत माग राख्दै जारी अनिश्चितकालीन आन्दोलनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। आइतबार काठमाडौंको नक्साल नारायणचौर क्षेत्रमा प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार थापासहित केही प्रदर्शनकारीलाई प्रदर्शनको क्रममा पक्राउ गरिएको हो। उनले भने, “निषेधित क्षेत्रभित्र जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेपछि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो, जसमा कमल थापा पनि हुनुहुन्छ।”

    प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडपसमेत भएको थियो। आन्दोलनमा सहभागी समूहले राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्रको पुनःघोषणा र संघीयता खारेजको माग गर्दै जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका हुन्।

    यसअघि आन्दोलनकारीहरूले माइतीघर मण्डलादेखि बालुवाटारसम्म प्रदर्शन गरेका थिए भने आजको प्रदर्शन नारायणचौर क्षेत्रमा केन्द्रित थियो। प्रदर्शनलाई रोक्न प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

    कमल थापा लामो समयदेखि लोकतान्त्रिक राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएका छन्। आजको घटनाले आन्दोलन थप तात्ने संकेत देखिएको छ।

    प्रहरी प्रशासनले भने शान्ति सुरक्षालाई मध्यनजर गर्दै आवश्यक कार्यवाही गरिएको स्पष्ट पारेको छ। गिरफ्तार प्रदर्शनकारीहरूलाई आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    प्रकाशित : आइतबार, १८ जेष्ठ २०८२ , ०३:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend