logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

रास्वपाको संसद् अवरोधको घोषणा : गृहमन्त्री लेखकको राजीनामाको माग, भिजिट भिसा काण्डमा सत्तापक्षमाथि दबाब

रास्वपाको संसद् अवरोधको घोषणा : गृहमन्त्री लेखकको राजीनामाको माग, भिजिट भिसा काण्डमा सत्तापक्षमाथि दबाब


  • सोमबार, जेष्ठ १९ २०८२
  • 585
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    भिजिट भिसा काण्डको चुलिंदो विवादसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमाथि कडा राजनीतिक प्रहार गर्दै संसद् अवरुद्ध गर्ने घोषणा गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामाको माग गर्दै संसद् सञ्चालन रोक्ने निर्णय लिएको हो।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले भने, “गृह मन्त्रालयमै रहँदा निष्पक्ष छानबिन सम्भव छैन। मन्त्रीज्यूले पद त्यागेर अनुसन्धानलाई सहज बनाउनु जरुरी छ।” उनले भिजिट भिसा काण्डमा देखिएको गम्भीर लापरबाहीप्रति नैतिक जिम्मेवारी वहन गर्न गृहमन्त्री मात्र नभई प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग राखे।

    रास्वपाले मंगलबार (जेठ १६) को संसद् बैठकमा पनि अघिल्ला दुई दिन (जेठ १३ र १४) जस्तै अवरोध गर्ने अडान दोहोर्याएको छ। प्रवक्ता झाले संसद् अवरुद्ध गर्ने निर्णयमा अन्य प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर थप दबाब सिर्जना गर्ने रणनीति समेत बनाइएको जानकारी दिए।

    गृहमन्त्री लेखकको परिवारका सदस्यहरूमाथि लागेको संलग्नताको आरोपप्रति संकेत गर्दै उनले भने, “परिवारका सदस्यको क्रियाकलापको नैतिक जिम्मेवारी अभिभावकले लिने हो। यसकारण जवाफ प्रधानमन्त्रीबाट आउनुपर्छ, गृहमन्त्रीबाट होइन।”

    रास्वपाको यो अडानसँगै भिजिट भिसा काण्डको बहस अब संसद्को केन्द्रीय विषय बन्ने देखिएको छ। सत्तापक्षमाथि दबाब बढ्दै जाँदा संसद् लामो रस्साकस्सीमा फस्ने सम्भावना समेत बलियो बन्दै गएको छ।

    प्रकाशित : सोमबार, १९ जेष्ठ २०८२ , ०८:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend