लोकसारथि संवाददाता, काठमाडौं ।
दरबार हत्याकाण्डको २३औँ वार्षिकोत्सवको सन्दर्भमा आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिर परिसरमा दिवंगत राजपरिवारको सम्झनामा विशेष श्रद्धाञ्जलि तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा काठमाडौँका सर्वसाधारण, संचारकर्मी, सामाजिक अभियन्ता र केही पूर्वराजपरिवारप्रेमी नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त श्रद्धाञ्जलि कार्यक्रममा प्रदर्शित एउटा पोस्टरले सबैको ध्यान खिच्यो। पोस्टरमा दरबार हत्याकाण्डमा निधन भएका राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज निराजन, राजकुमारी श्रुतिलगायतका सदस्यहरूको तस्वीर समावेश गरिएको थियो। तर, यसमा तत्कालीन युवराज दीपेन्द्रको तस्वीर भने उल्लेख थिएन। आयोजकहरूका अनुसार, यो कुनै प्राविधिक भूल नभएर सचेत र सन्देशमूलक निर्णय थियो।
किन हटाइयो युवराज दीपेन्द्रको तस्वीर?
२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा १० जना राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। सरकारी छानबिन आयोगका अनुसार, युवराज दीपेन्द्रले मादक पदार्थ र लागुपदार्थ सेवनपछि अचेत मनस्थितिमा आफ्नै परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरेका थिए। उनी स्वयंले अन्त्यमा आत्महत्या गरेको प्रतिवेदन आयोगले सार्वजनिक गरेको थियो।
यही कारणले दीपेन्द्रलाई हत्याकाण्डको मुख्य दोषी ठहर गरिएको थियो। त्यसैले उनको सम्झनामा दीप प्रज्ज्वलन नगर्ने, उनको तस्वीर श्रद्धाञ्जलिमा नराख्ने चलन पछिल्लो समय स्थापित हुँदै गएको देखिन्छ। आयोजकहरूका अनुसार, “यो कार्यक्रम दिवंगत निर्दोष आत्माहरूको श्रद्धासहितको स्मरण हो, न कि घटनामा दोषी ठहरिएकाको महिमा मण्डन।”
दरबार हत्याकाण्ड अझै रहस्यमै
यद्यपि सरकारी छानबिन प्रतिवेदनले दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि हत्याकाण्डको विषयमा अझै पनि सर्वसाधारण, पत्रकार, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय समुदायमा गम्भीर शंका, संशय र बहस कायमै छन्। घटनाको निष्पक्ष अन्तर्राष्ट्रिय छानबिन कहिल्यै भएन। नारायणहिटी दरबार संग्रहालय बनाइसकेपछि केही प्रमाणहरू अवलोकनमा खुले पनि सार्वजनिक स्तरमा प्राप्त प्रमाणहरू अस्पष्ट, अपूरा र अनौपचारिक नै देखिएका छन्।
नेपालको इतिहासमा ‘रातारात’ राजसंस्थाको आधारभूत ढाँचा नै ध्वस्त पार्ने यो घटनाले देशको सामाजिक, राजनीतिक र भावनात्मक मनोविज्ञानमा गहिरो असर पारेको थियो।
कमलादीको दीप प्रज्ज्वलन कार्यक्रम केवल श्रद्धाञ्जलिको कर्मकाण्ड मात्र थिएन, यो आधुनिक नेपाली इतिहासको एक दुःखद मोडप्रति जनभावनाको पुनः स्मरण पनि थियो। युवराज दीपेन्द्रको तस्वीर नहुनु त्यो ऐतिहासिक पीडालाई छुट्याएर हेर्ने प्रयास हो – पीडित र दोषीबीचको भिन्नता समाजमा स्पष्ट रुपमा स्थापित गर्न गरिएको एक सांकेतिक अभिव्यक्ति।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
