– लोकसारथि संवाददाता, काठमाडौं ।
प्रतिनिधिसभाको आज (शुक्रबार) दिउँसो १ बजेका लागि तय गरिएको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण सुरु हुन नसकी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेको सचिवालयले उक्त जानकारी दिएको हो।
विपक्षी दलहरू — नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) — ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् निरन्तर अवरुद्ध गरिरहेका छन्। उनीहरूको स्पष्ट अडान छ – माग सम्बोधन नभएसम्म संसद् चल्न दिइने छैन।
सभामुख घिमिरेले संसद् सञ्चालनका लागि विपक्षी दलका नेताहरूसँग पटक–पटक छलफल जारी राखेका छन्। तर, आजसम्म पनि कुनै सहमति जुट्न नसकेपछि संसद् बैठक स्थगन गरिएको हो।
विपक्षी गठबन्धनले संसद् भवन नयाँ बानेश्वरमा बैठक गरी अवरोधको अडान पुनः दोहोर्याएको छ। उनीहरूले भिजिट भिसाको दुरुपयोगमा संलग्न सम्भावित पक्षहरूको छानबिन गर्न विशेष आयोग गठन गरिनुपर्ने माग दोहोर्याएका छन्।
विपक्षीहरूको मागमा गृहमन्त्रीको जिम्मेवारी स्वीकार्दै राजीनामा दिनुपर्ने, छानबिन समिति बनाइनु पर्ने, र यस्तो घटनाको पुनरावृत्ति नहोस् भन्ने सुनिश्चितता दिनुपर्ने प्रस्ट अडान छ।
सत्तापक्षले भने गृहमन्त्रीमाथि आरोप पुष्टि नभएको भन्दै राजीनामा आवश्यक नभएको तर्क गरिरहेको छ। यही मतभेदले संसद्को गतिरोध लम्बिँदै गएको छ।
हालको स्थितिले संसद् सञ्चालन अनिश्चित बन्दै गएको छ, जसले महत्वपूर्ण विधेयकहरूको प्रक्रिया समेत प्रभावित बनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
