logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

हुम्लाका छ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू, मातृभाषा र संस्कृति जगेर्नामा जोड

हुम्लाका छ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू, मातृभाषा र संस्कृति जगेर्नामा जोड


  • मंगलबार, जेष्ठ २७ २०८२
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    हुम्ला जिल्लाका छ वटा गाउँपालिकाले विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम लागू गरेका छन्। स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित) अनुसार पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन्।

    सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार बालबालिकाले आफ्नै परिवेशबाट सिक्ने, नजिकको भूगोल र वातावरणबारे बुझ्ने, समुदायमा विद्यमान मूल्य, मान्यता तथा ज्ञानको उत्खनन र परीक्षण गर्ने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिएको हो।

    पाठ्यक्रम निर्माणमा संलग्न अदानचुली गाउँपालिकाका विज्ञ सदस्य डा. दीपेन्द्र रोकायाले सबैका लागि उपयोगी हुने विश्वासका साथ स्थानीय पाठ्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो।

    हुम्लाका सातवटा गाउँपालिकामध्ये नाम्खा, सिमकोट, खार्पुनाथ, ताँजाकोट, सर्केगाड र अदानचुली गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेका छन्। अदानचुलीले भर्खरै पाठ्यक्रम निर्माण सम्पन्न गरी यसै वर्षबाट कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले जानकारी दिनुभयो।

    यसैबीच चङ्खेली गाउँपालिकाले भने आगामी शैक्षिक सत्रदेखि मात्र स्थानीय पाठ्यक्रम लागू गर्ने जनाएको छ।

    स्थानीय पाठ्यक्रमको प्रयोगले विद्यालय शिक्षालाई बालबालिकाको वास्तविक जीवनसँग जोड्न र स्थानीय ज्ञानको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित : मंगलबार, २७ जेष्ठ २०८२ , १२:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend