logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

डिङ्गरनगर दूरगामी सहकारी घोटाला : ९ करोड बढी ऋण लिएका व्यवस्थापक पक्राउ, सम्बन्ध विच्छेदद्वारा सम्पत्ति जोगाउने दाउ !

डिङ्गरनगर दूरगामी सहकारी घोटाला : ९ करोड बढी ऋण लिएका व्यवस्थापक पक्राउ, सम्बन्ध विच्छेदद्वारा सम्पत्ति जोगाउने दाउ !


  • सोमबार, असार ३० २०८२
  • 1.8K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा भएको करोडौंको घोटाला प्रकरणमा संस्थाका व्यवस्थापक बसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बचतकर्ताको करोडौं रकम अपचलन गरी सम्पर्कविहीन रहेका पराजुलीलाई इलाका प्रहरी कार्यालय बुटवलले सहकारीकै कार्यालयबाट शुक्रबार साँझ पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरूले ठगीको आरोपमा उजुरी दिएपछि अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो ।

    डीएसपी रानाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै भने, “पराजुलीलाई नियन्त्रणमा लिएका छौँ, आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाइनेछ ।”

    साढे ९ करोडभन्दा बढी ऋण : परिवारका नाममा कर्जा, कबुलनामा पनि गरे

    प्राप्त विवरणअनुसार पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा ९ करोड ५५ लाख ३० हजार ८८ रुपैयाँ ऋण लिएका थिए । यो रकम तिर्ने कबुलियत उनले २०८२ जेठ ५ गते सहकारीसँग गरेका थिए । तर त्यसको केही समयमै उनी सम्पर्कविहीन बनेका थिए । संस्थाले उनलाई निलम्बन गरिसकेको थियो ।

    पराजुलीले तिलोत्तमाको शान्तिचोकमा ‘खाजा खजाना’ नामक होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

    कबुलनामा दस्तावेजमा ऋणी देखाइएका छोरी–छोरालाई नै साक्षी बनाइएको थियो । सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीले यो कागज गराएको हो वा पराजुलीले आफैँ जालसाजी गरे भन्ने यकिन भने लेखापरीक्षणपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

    अध्यक्ष र सचिव पनि फरार, सम्बन्ध विच्छेदमार्फत सम्पत्ति जोगाउने प्रयास !

    बचतकर्ताहरुको आरोप अनुसार व्यवस्थापक पराजुलीले सम्पत्ति जोगाउनका लागि श्रीमती बिना पराजुलीसँग मिलेर सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका हुन् । जिल्ला अदालत रूपन्देहीमा दर्ता गरिएको उक्त मुद्दा (रेकर्ड नम्बर ६७–०८१–०८२०३) मा ‘सम्बन्ध विच्छेद (सरल मार्ग)’ उल्लेख गरिएको छ ।

    सहकारीको करोडौं रकम श्रीमती र आफन्तको नाममा सारिएको र हिनामिनाको प्रमाण मेटाउन सम्बन्ध विच्छेद गरिएको आशंका गरिएको छ ।

    शुक्रबार पराजुली पक्राउ परेपछि बचतकर्ताहरूले सहकारी कार्यालय र उनको घर घेराउ गरे । त्यही क्रममा उनकी श्रीमती बिना पराजुलीलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

    अध्यक्ष र सचिवको मोबाइल स्विच अफ, घर घेराउ जारी

    सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री फरार छन् । उनीहरूले समेत किर्ते सम्बन्ध विच्छेद गरेर सम्पत्ति जोगाउने तयारीमा रहेको आशंका गर्दै बचतकर्ताहरूले उनीहरूको घर पनि घेराउ गरेका छन् ।

    हाल सहकारीका उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले स्वतन्त्र लेखापरीक्षकमार्फत संस्थाको वास्तविक आर्थिक अवस्था अध्ययन भइरहेको बताएका छन् ।

    कुल ३८ करोड पुँजी भएको संस्था, २ हजार सदस्य चिन्तित

    विसं २०५० सालमा स्थापना भएको डिङ्गरनगर दूरगामी सहकारी संस्थामा हाल करिब २ हजार शेयर सदस्य छन् । कुल ३८ करोड रुपैयाँभन्दा बढी पुँजी रहेको संस्थाको विश्वास गुमेको भन्दै बचतकर्ताहरू आन्दोलित छन् ।

    सहकारी घोटालाको यो घटनाले प्रदेश ५ मा सहकारी नियमन प्रणाली र नेतृत्वको पारदर्शिताप्रति गम्भीर प्रश्न उठाएको छ ।

    प्रकाशित : सोमबार, ३० असार २०८२ , ०३:०६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend