logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

“सम्मानविहीन सम्बन्ध मृत शरीरसरह हो”

“सम्मानविहीन सम्बन्ध मृत शरीरसरह हो”


  • आइतबार, साउन ४ २०८२
  • 3.8K
    SHARES

    मानव जीवनमा सम्मानको स्थान अत्यन्तै गहिरो छ। सम्मान केवल औपचारिकता वा आदरको शब्द मात्र होइन, यो व्यक्ति र सम्बन्धको अस्तित्व पुष्टि गर्ने जीवनशक्ति हो। यसले मनको उर्जा बढाउँछ, सम्बन्धलाई प्राण दिन्छ र आत्माको मौन पुकारलाई सम्बोधन गर्छ। तर विडम्बनापूर्ण यथार्थ के छ भने, हामीलाई सम्मान दिनेहरू पराईभन्दा पनि दुर्लभ आफ्नैहरूमै देखिन्छन्। हाम्रो समाजमा सफलता भन्दा त्यो सफलतालाई पचाउन नसक्ने मनोवृत्तिहरू बढी देखिन्छन्—जहाँ सफलता आफ्नो आँखा अगाडि चम्किनु भनेको नै अर्काको घमण्ड ठानिन्छ, र ईर्ष्या, आलोचना र तिरस्कारले त्यसको स्वागत गरिन्छ।

    यस विशेष लेखमार्फत लेखकले सम्मानको वास्तविक अर्थ, यसको स्रोतको शुद्धता, यसको मूल्य र यसको अभावबाट सिर्जने भावनात्मक विघटनको गहिरो विश्लेषण गरेका छन्। आत्मसम्मान, मौन संघर्ष, सफलताको मूल्य र त्यसले ल्याउने सामाजिक प्रतिक्रिया– यी सबै विषयहरूलाई लेखकले अत्यन्तै तितो तर सत्य यथार्थको झझल्को दिने शैलीमा उजागर गरेका छन्।

    जुनकिरी र सर्पको दृष्टान्तमार्फत उनले हाम्रो वरिपरिका ‘टोक्सिक’ सम्बन्धहरूको नाङ्गो यथार्थ प्रस्तुत गरेका छन्। सफल मानिसप्रति आफ्नैहरूमै देखिने द्वेष, तिनको मौन षड्यन्त्र, र सम्बन्धका नाममा गरिने अपमान– यी सबै समाजमा बारम्बार दोहोरिने सत्यहरू हुन्। साथै, लेखकले सम्मान प्राप्त गर्न लाखौंको गहना, ठूला पद वा सन्देशपत्र नभई केवल सहानुभूति, परानुभूति, सद्भाव र आत्मीयताको झल्को पर्याप्त हुन्छ भन्ने गहिरो आध्यात्मिक दृष्टिकोणसमेत प्रस्तुत गरेका छन्।

    लेखमा उठाइएको मूल भाव– “सम्मानविना सम्बन्ध मरेको शरीर सरह हो” भन्ने वाक्य मात्र वाक्य होइन, सम्बन्धको सूक्ष्म सत्य हो। यस लेखले पाठकलाई न केवल आत्मसमीक्षा गर्न बाध्य बनाउँछ, तर सम्बन्ध, समाज र आत्मसम्मानप्रतिको दृष्टिकोणलाई पुनः परिभाषित गर्न पनि प्रेरित गर्छ।

    यसै सन्दर्भमा हामी यो गहिरो लेख चेतनाको यात्रा स्तम्भअन्तर्गत प्रस्तुत गर्दैछौं, जसले पाठकको मन, मस्तिष्क र आत्मालाई एकैसाथ छुने गहिरो अनुभूति दिनेछ भन्ने विश्वास लिएका छौं। — सम्पादक

    लेख प्रारम्भ

    “जिन्दगीमा केही सफल भयो भने सबैभन्दा पहिला आफ्नैहरू जल्छन्” भन्ने कुरा तीतो तर सत्य यथार्थ हो, जुन कुरा धेरै मानिसले अनुभव गरेका छन् तर खुलेर भन्न सक्दैनन्। जब एक व्यक्ति संघर्ष गरेर, चुपचाप दुःख गरेर, रातदिनको मेहनतले सफलता प्राप्त गर्छ, त्यतिबेला उसले सोचेका धेरै ‘आफ्नै’ भनिने मान्छेहरू नै उसको सफलताबाट खुसी हुने सट्टा, मनमनै जल्न थाल्छन्। यहाँसम्म कि मार्न मर्न पनि तयार हुन्छन्, थ्रेट दिन्छन्, रिसाउँछन्, चिच्याउँछन्, र सुगर, प्रेसर अनि एन्जायटी र डिप्रेशनमा पुग्छन् र उनीहरूको आँखामा ईर्ष्या, मुखमा नचाहिँदो आलोचना, र व्यवहारमा टाढोपन झल्किन थाल्छ। यिनै आफ्ना भनिएका व्यक्तिहरू त तिमी असफल हुँदा सान्त्वना दिने, तर सफल भएपछि तिम्रो सफलता घटाएर भन्न खोज्ने, “यत्तिकै त हो, भाग्य साथ दियो होला, कसैको चिनजानले भयो होला” भनेर तिम्रो मेहनतलाई लिलाम गर्ने काम गर्छन्। यो समाजमा सफलता भोग्नु त्यति सजिलो छैन, विशेषगरी जब तिमी त्यस्तो पृष्ठभूमिबाट आएका हुन्छौ जहाँ मान्छेले तिमीलाई ‘के गर्न सक्छस् र?’ भनेर हेप्थे। उनीहरू तिमीलाई सधैं आफूमाथि नआओस् भनेर चुपचाप राख्न चाहन्छन्, सकेर पनि सहयोग गर्दैनन् अनि जब तिमी उचाइ चढ्छौ, उनीहरूको अहंमा चोट लाग्छ। सफलता प्राप्त गर्नु मात्र गाह्रो होइन, त्यसलाई सहनु अझ गाह्रो हुन्छ, किनकि त्यसबेला तिमीले बाहिरी प्रतिस्पर्धीहरूसँग मात्र होइन, आफ्नै नजिकका मान्छेहरूसँग पनि लड्नुपर्छ—उनीहरूको सोच, उनको जलन र उनीहरूको अस्वीकारसँग। यही हो जिन्दगीको यथार्थ, जहाँ आफ्नै घामले आफ्नै छायाँ पो हटाउँछ।

    त्यसैले सफल भएपछि चिच्याएर सबैलाई बताउनु पर्दैन, किनभने जसले साथ दिनुपर्ने थियो, उसले साथ नदिएर जल्ने काम गर्छ, र जसले साथ दिँदैन, उसलाई देखाउन केही प्रमाण चाहिंदैन—तिम्रो मौनता र उचाइ नै उसका लागि काफी हुन्छ।

    जहाँ मानिसको हैसियतको कदर गरिँदैन, त्यहाँ उसको मन त के, उसको आत्मा पनि बस्न सक्दैन। सम्मान भनेको कुनै औपचारिकता होइन, यो त आत्मसम्मानको मेरुदण्ड हो—जहाँ यो भाँचिन्छ, त्यहाँ सम्बन्ध टिक्दैन, साथ रहँदैन, र मन बस्दैन। मानिसलाई पैसाले होइन, उसको अस्तित्व, उसले देखाएको माया, इमान र योगदानले सम्मान दिन सकिएन भने, त्यो ठाउँ चाहे घर होस्, कार्यालय होस्, समाज होस्, वा सम्बन्ध होस्—त्यहाँ ऊ शारीरिक रूपमा त उपस्थित रहन सक्छ, तर मनले सधैं टाढा भइसक्छ। सम्बन्ध केवल संगतले चल्दैन, सम्मानले सास फेर्छ। जहाँ यो सास नै रोकिन्छ, त्यहाँ कुनै पनि संगठन, परिवार, वा सम्बन्ध दीर्घकालीन टिक्न सक्दैन। सम्मान भनेको कुनै उपहार होइन, न त कुनै समारोहको भाग हो—यो त केवल आत्मसम्मानको मेरुदण्ड र उसको क्षमताको कदर हो। यो भाँचियो भने, मानिसको आँखा त मुस्कुराइरहला, तर मन भित्रभित्रै टुक्रिइरहेको हुन्छ। र ऊ त्यस्ता कार्यक्रममा आगामी दिनमा सहभागिता जनाउदैन।

    मानिसहरू सजिलै टाढा भएका होइनन्, अपमानले, उपेक्षाले, र मौन या विषवमनको तिरस्कारले टाढा बनाइएका हुन्छन्। मानिस त्यसै चुप हुँदैनन्, चुप  बनाइएका हुन्छन् — मानिसको मूल्य बुझिएन, आवाज सुनिएन, इज्जतको कदर गरिएन अनि मन–मनै टाढा बनाइयो। अनि फेरि प्रश्न गरिन्छ, उसको सहभागिता छैन भनेर?

    यदि सम्मान नपाएको ठाउँमा मानिस बस्छ भने त्यो केवल बाध्यता हो, कुनै पनि सम्बन्ध, संगठन वा समाज बाध्यता माथि धेरै दिन टिक्दैनन्। त्यसैले जहाँ हैसियतको कदर हुँदैन, त्यहाँ मानिस त के, उसको छायाँ पनि फकफक गरेर हराउन थाल्छ। मानिसलाई मनले बाँध्न सकिएन भने, बाँधेर राख्ने डोरीहरू कहिल्यै टिक्दैनन्। सम्मान नै सम्बन्धको श्वास हो—यो बिना सम्बन्ध मरेको शरीरजस्तै मात्र हुन्छ।

    यसै कुरालाइ चरितार्थ गर्ने एउटा गतिलो उदाहरण छ, एउटा सर्पले जुनकिरीलाई लखेट्न थालेछ। धेरै बेर लखेटिएपछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, “के म तिमीलाई मात्र तीन वटा प्रश्न सोध्न सक्छु?” सर्पले सहमति जनाउँदै भन्यो, “हुन्छ, ल सोध!” जुनकिरी: “के म तिम्रो खाद्य श्रृंखला (food chain) भित्र पर्छु?” सर्प: “अँह, पर्दैनौ।” जुनकिरी: “मैले तिमीलाई केही हानि गरेको छु?” सर्प: “अँह, केही पनि गरेका छैनौ!” जुनकिरी: “त्यसो हो भने किन तिमी मलाई निल्न खोजिराखेको छौ?” सर्प: “किनकि, म तिमीलाई यसरी चम्किएर हिँडेको देख्न सक्दिनँ।”

    मित्रहरू, हाम्रो जीवनमा पनि, केही टोक्सिक मानिसहरू यस्तै सर्प जस्तै हुन्छन्, जसले तपाईंलाई जुनकिरीझैं चम्किएको देख्न चाहँदैनन्। तपाईंको चम्काइले उसलाई कुनै हानि नगरे पनि तपाईंलाई सिध्याउन, तपाईंलाई निचा देखाउन र तपाईंको उन्नति–प्रगति प्रति रिस र डाह गर्न पछि पर्दैनन्!

    भनिन्छ यदि कसैलाई तपाईंले सानो देख्नुभएको छ भने या त धेरै टाढाबाट देख्नुभएको छ या त घमण्डले! त्यसैले दुनियाँले डुबाउन खोजिरहे भने पौडिन सिक्नुपर्छ!

    मिठो मह बनाउने माहुरीले डस्न पनि जानेको हुन्छ, त्यसैले आफूलाई सम्हालेर बस्नुपर्छ—यहाँ कहिले कसले, कतिबेला, मिठो बोल्ने आफ्नैले नै डस्न सक्छन्!

    यदि कसैले तपाईंका लागि ढोका बन्द गर्यो भने चिन्ता नगर्नुहोस्, उसलाई पनि बताइदिनुहोस्—ढोकाको कुण्डी दुबै तर्फ हुन्छ।

    यदि कसैले तपाईंलाई हराउनको लागि परिश्रम र प्रयास गर्न छोडेर नेपथ्यमा साजिश र षड्यन्त्र गर्न थाल्छन् भने सम्झिनुहोस् कि तपाईंको मेहनत सफल भयो!

    आफन्त ती होइनन् जो देखेपछि करैले बोल्छन्, आफन्त त ती हुन् जो कर्मले र मनले नजिक हुन्छन्! धन्यवाद भन्नुहोस् ती आफन्तलाई जसले पर्वाह गर्दैनन् तपाईंलाई, किनकि सबैको समय र जीवन मूल्यवान छ, र उनीहरूको उपस्थिति बिना पनि तपाईंको जीवन खुसी र सुन्दर छ।

    त्यसैले मित्रहरू, जिन्दगीमा कहिल्यै पनि यी तीन चिज कसैसँग नमाग्नु—समय, प्यार, र सम्मान। यी तीनै चिज तपाईंलाई माया गर्ने व्यक्तिले सित्तैमा दिन्छ।

    असल मानिसहरू सधैंँ असल रहँदैनन् — अवस्था र स्वार्थले बदल्छ सबथोक…

    धेरैजसो “राम्रो” देखिने मानिसहरू, असल तबसम्म मात्रै रहन्छन् जबसम्म

    २️⃣ तपाईं उनीहरूकै पक्षमा उभिनुहुन्छ।

    २️⃣ जबसम्म तपाईं उनीहरूको सोच र आदेश अनुसार चलिरहनुहुन्छ।

    ३️⃣ जबसम्म तपाईं उनीहरूको काम लाग्ने व्यक्ति बन्न सक्नुहुन्छ।

    ४️⃣ जबसम्म उनीहरूलाई तपाईंभन्दा “राम्रो” कोही भेटिएको हुँदैन।

    ५️⃣ जबसम्म उनीहरूले तपाईंलाई आफूभन्दा कमजोर ठानिरहेका हुन्छन्।

    ६️⃣ जबसम्म तपाईंले उनीहरूको कुरा चुपचाप टारिरहनु भएको हुन्छ।

    ७️⃣ जबसम्म तपाईंले सिधा आँखामा हेरेर तितो सत्य भन्नु भएको छैन।

    ८️⃣ जबसम्म तपाईंको खाली गोजीले उनीहरूलाई असर पार्दैन।

    ९️⃣ जबसम्म तपाईंले आफ्नै जीवन बाँच्न थाल्नुहुन्छ र जब तपाईंले आफूलाई माया गर्न थाल्नुहुन्छ, त्यो दिन उनीहरू भन्छन् — “तपाईं त बदलिनुभयो।”

    साँचो असलता त परिस्थिति अनुसार बदलिने होइन, साथमा उभिएर पनि नछाडिने र विरोधमा उभिए पनि सम्मान गरिने स्वभाव हो। सम्बन्धहरू तब सच्चा हुन्छन्, जब न स्वार्थले चलाउँछ, न तुलना र न लोभले, न रिसले, न डाहले।

    प्रकाशित : आइतबार, ४ साउन २०८२ , ०९:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend