logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

काठमाडौंमा जेन–जीको आन्दोलन : प्रहरी गोलीकाण्डमा १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौंमा जेन–जीको आन्दोलन : प्रहरी गोलीकाण्डमा १९ जनाको मृत्यु, ३४७ घाइते


  • सोमबार, भाद्र २३ २०८२
  • 936
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सोमबार देशभर उत्रिएको जेन–जी पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । राजधानी काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा, भरतपुर, इटहरी, दमक लगायतका सहरमा आन्दोलन हिंसात्मक बन्दै जाँदा ठूलो जनधनको क्षति भएको हो ।

    काठमाडौंमा १७, इटहरीमा २ जनाको मृत्यु

    काठमाडौंका विभिन्न अस्पतालमा मात्र १७ जनाको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन् ।

    • राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना

    • एभरेष्ट अस्पतालमा ३ जना

    • सिभिल अस्पतालमा ३ जना

    • काठमाडौं मेडिकल कलेजमा २ जना

    • त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

    यस्तै सुनसरीको इटहरीमा २ प्रदर्शनकारीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि प्रहरीको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का गम्भीर घाइते भएका व्यक्तिको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भयो ।

    ३४७ घाइते, दर्जनौंको अवस्था गम्भीर

    देशभरका विभिन्न अस्पतालमा कम्तीमा ३४७ घाइतेको उपचार भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

    • सिभिल अस्पतालमा १००

    • ट्रमा सेन्टरमा ५९

    • एभरेष्ट अस्पतालमा १०२

    • केएमसीमा ३७

    • वीर अस्पतालमा ६

    • पाटन अस्पतालमा ४

    • त्रिवि शिक्षण अस्पतालमा १८

    • नर्भिक अस्पतालमा ३

    • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २

    • गण्डकी मेडिकल कलेजमा १

    • बिराट मेडिकल कलेजमा ४

    • दमक अस्पतालमा ७ जना घाइते छन् ।

    एभरेष्ट अस्पतालका डा. अनिल अधिकारीले ४ जना गम्भीर अवस्थामा रहेको जानकारी दिएका छन् भने ट्रमा सेन्टरका डा. दिपेन्द्र पाण्डेले टाउको र छातीमा गोली लागेको १० जना अत्यन्त गम्भीर अवस्थामा रहेको बताए ।

    आन्दोलन हिंसात्मक

    काठमाडौंको नयाँबानेश्वरमा संघीय संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका युवालाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली चलाएको थियो । आन्दोलनलाई नियन्त्रण गर्न देशका प्रमुख सहरमा प्रहरी परिचालन गरिएको छ ।

    झापाको दमकमा भने आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा ढुंगामुढा प्रहार गरेका छन् । त्यस क्रममा प्रहरीले हवाई फायर गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी ओलीको निवासतर्फ अघि बढेका थिए ।

    मानवअधिकार आयोगको आग्रह

    आन्दोलन हिंसात्मक बन्दै जाँदा राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । आयोगले संविधान र अन्तर्राष्ट्रिय कानुनले शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै vandalism र अत्यधिक बल प्रयोग दुबै ‘दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरेको छ ।

    आन्दोलन देशव्यापी

    काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, हेटौँडा, नेपालगञ्जलगायतका सहरमा युवाहरू सडकमा उत्रिएपछि प्रशासनले काठमाडौंसहितका विभिन्न जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ । ठूला चोक, राजमार्ग र संवेदनशील क्षेत्रमा सुरक्षा बलको गस्ती बढाइएको छ ।

    अभियानमा सहभागी विद्यार्थी र युवाहरूले भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जाल खुला गर्ने र राजनीतिक असफलताको विरुद्ध आफ्नो आवाज बुलन्द गरेका छन् । सोमबार बिहानैदेखि सुरु भएको प्रदर्शन साँझसम्म देशव्यापी आन्दोलनको रूप लिन पुगेको छ ।

    प्रकाशित : सोमबार, २३ भाद्र २०८२ , ०८:०९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend