लोकसारथि संवाददाता, काठमाडौं ।
नेपालमा जेनजी पुस्ताले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा प्रहरीले प्रयोग गरेको घातक बलका कारण कम्तीमा १९ जनाको मृत्यु भएपछि अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घ, विभिन्न देशका दूतावासहरू, युनिसेफ र एम्नेस्टी इन्टरन्याश्नलले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र र पारदर्शी छानबिन गर्न माग गरेका छन्।
राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घ मानव अधिकार कार्यालयकी प्रवक्ता रबिना शम्दसनीले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा गरिएको “अनावश्यक र असमान बल प्रयोग” अत्यन्तै चिन्ताजनक भएको बताइन्। उनले नेपाल सरकारलाई शान्तिपूर्ण भेला र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न आग्रह गरिन्।
“सुरक्षा निकायले कानुन कार्यान्वयनका आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
राष्ट्रसङ्घले सामाजिक सञ्जाल नियमनका विषयलाई संवादमार्फत समाधान गर्नुपर्ने र मानव अधिकार दायित्वअनुसार पुनर्विचार गर्नुपर्ने सुझाव दिएको छ।
नौ देशका दूतावासहरूको संयुक्त वक्तव्य
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै हिंसात्मक घटनाप्रति “गहिरो दुःख” व्यक्त गरेका छन्।
“हामी शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारलाई समर्थन गर्छौं,” दूतावासहरूले बताएका छन्।
त्यस वक्तव्यमा सबै पक्षलाई संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण समाधान खोज्न र मौलिक अधिकारहरूको पूर्ण संरक्षण गर्न आग्रह गरिएको छ।
भारतको प्रतिक्रिया
भारतीय विदेश मन्त्रालयले नेपालमा भएको घटनाक्रमलाई “नजिकबाट नियालिरहेको” जनाएको छ। साथै, कैयौँ नेपाली युवाको ज्यान गएको अवस्थाप्रति “गहिरो दुःख” प्रकट गरेको छ।
युनिसेफको ध्यानाकर्षण
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रदर्शनका क्रममा बालबालिकाविरुद्ध हिंसा भएको विवरणप्रति “गम्भीर ध्यानाकर्षण” भएको जनाएको छ।
“बालबालिकाविरुद्ध बल प्रयोग अस्वीकार्य छ र तत्काल रोक्नुपर्छ,” युनिसेफ नेपालले एक्स (Twitter) मार्फत जनाएको छ।
एम्नेस्टी इन्टरन्याश्नलको कडा भर्त्सना
एम्नेस्टी इन्टरन्याश्नल नेपालका निर्देशक नीराजन थपलियाले विज्ञप्ति जारी गर्दै “गैरकानुनी रूपमा घातक र गैरघातक बल प्रयोग” को कडा भर्त्सना गरेका छन्।
“सरकारले मृत्यु भएका सबै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी जिम्मेवारलाई फौजदारी अभियोजनमार्फत जबाफदेह बनाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
एम्नेस्टीले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानुन र संविधानअनुसार अभिव्यक्ति तथा भेला हुने स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको छ।
पृष्ठभूमि
जेनजी भनिने युवा पुस्ताले सोमबारदेखि राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्ध आन्दोलन थालेका थिए। काठमाडौं, इटहरीलगायतका क्षेत्रमा भएको विरोध प्रदर्शन हिंस्रक बनेपछि प्रहरीले गोली प्रहार गर्दा राजधानीमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो। सयौँ घाइते भएका मध्ये दर्जनौँको अवस्था गम्भीर छ।
यसैबीच, सरकारका प्रवक्ताले मृत्युका घटनापछि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरिएको बताएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
