logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

भ्रष्टाचारविरुद्ध जेनजी, विशेषज्ञको सुझाव: अन्तरिम सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

भ्रष्टाचारविरुद्ध जेनजी, विशेषज्ञको सुझाव: अन्तरिम सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ


  • मंगलबार, भाद्र २४ २०८२
  • 884
    SHARES

    काठमाण्डौं – भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ अर्थात् युवा पुस्ताले गरेको सडक आन्दोलन सोमबार उग्ररूप लिएपछि राजनीतिक विश्लेषक तथा सामाजिक अगुवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्। उनीहरूले मुलुकमा देखिएको गम्भीर परिस्थितिको शान्तिपूर्ण निकासका लागि राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।

    सोमबार ‘जेनजी’ युवाहरूले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा काठमाडौँमा १७ जना र विराटनगरमा दुई जना गरी कम्तीमा १९ जनाको ज्यान गएको थियो भने करिब तीन सयको हाराहारीमा घाइते भएका थिए। प्रदर्शनकारहरूले ठूलो जनधनको क्षति गरेपछि मंगलबार देशभर राजनीतिक दलका कार्यालय, प्रहरी बिट, दलका नेताहरूको घरमा आगजनी गरेका छन्।

    स्थिति भड्किँदै गए पनि सरकारको गृह प्रशासन मौन रहेको छ। प्रधानमन्त्री ओलीले बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिसकेका भए पनि हालसम्म आन्दोलनलाई मत्थर पार्ने सार्वजनिक पहल नभएको विश्लेषकहरूले बताए।

    राजनीतिक विश्लेषक प्रा. लोकराज बरालका अनुसार, ‘सरकारले ‘जेनजी’को मनोविज्ञान समयमै बुझ्न सकेन। आन्दोलन स्वतःस्फूर्त भएको र यसको नेतृत्व स्पष्ट नभएकाले स्थिति झन् गम्भीर बनेको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ।’

    अर्का प्राध्यापक कृष्ण पोखरेलले भने, ‘सरकारले राजीनामा दिएर स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्छ। संविधानले स्वतन्त्र सरकारको परिकल्पना नगरेकोले दलभित्रकै युवा नेता प्रधानमन्त्री बनाएर निकास दिन सकिन्छ।’

    विश्लेषकहरूले यो पनि सुझाएका छन् कि ‘अर्ली इलेक्सन’ समाधानको उपाय हुन सक्दो भए पनि त्यसको स्पष्ट कार्यान्वयन खाका अहिलेसम्म दुवै पक्षबाट प्रस्तुत भएको छैन। संक्रमणकालीन अवस्थामा नेतृत्वदायी व्यक्ति नदेखिँदा समस्या उत्पन्न भएको उनको निष्कर्ष छ।

    यसैबीच, देशभर सामाजिक असन्तुष्टि बढेको र युवापुस्ताले सडक आन्दोलन जारी राख्ने सम्भावना रहेकोले राजनीतिक दल र सरकार तत्काल संवेदनशील र समन्वयपूर्ण कदम चाल्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०२:०६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend