logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै सरकार प्रमुख बनाउने सहमति, संसद् विघटनतर्फ कदम

पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै सरकार प्रमुख बनाउने सहमति, संसद् विघटनतर्फ कदम


  • शुक्रबार, भाद्र २७ २०८२
  • 806
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    देशमा जारी राजनीतिक अन्योल अन्त्यका लागि नयाँ सरकार गठनको प्रयास निर्णायक चरणमा पुगेको छ। शुक्रबार दिनभर चलेको तदारुकतापूर्ण वार्तापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने गरी सहमति जुटेको स्रोतले जनाएको छ।

    स्रोतका अनुसार, दिनभर राष्ट्रपति भवन शीतल निवासमा दलका शीर्ष नेता, संविधानविद् र जेन-जी आन्दोलनका प्रतिनिधिहरूबीच निरन्तर वार्ता भयो। लामो बहसपछि आजै बेलुकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको हो।

    वार्ताको सबैभन्दा विवादास्पद मुद्दा संसद् विघटनको थियो। संविधानको धारा ७६ ले प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान राखेकाले गैरसांसदलाई सरकार प्रमुख बनाउने कानुनी बाटो खोज्न कठिनाइ थियो। तर अन्ततः सबै पक्षले संवैधानिक ‘बाधा अड्काउ फुकाउने’ विशेष प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने र नयाँ मार्गनिर्देशन दिने सहमति गरेका छन्।

    यसअघि प्रतिनिधिसभा विघटनबारे दलहरूबीच ठूला मतभेद देखिएको थियो। तर जेन-जी आन्दोलनको निरन्तर दबाब र देशभर फैलिएको विरोधप्रदर्शनका कारण सहमति खोज्न बाध्य भएको नेताहरूले स्वीकार गरेका छन्।

    अब संविधानविद्हरूको रायसहित अन्तिम विधि पूरा गरेर राष्ट्रपतिले आजै बेलुकी कार्कीलाई शपथ गराउने तयारी भइरहेको बताइन्छ। योसँगै नेपालमा पहिलो पटक गैरसांसद, पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ।

    प्रकाशित : शुक्रबार, २७ भाद्र २०८२ , ०७:२८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend